काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा ढक तराजु दर्ता तथा नवीकरण शिविर सञ्चालन गर्ने भएको छ । चन्द्रागिरि नगर उद्योग वाणिज्य सङ्घको सहयोगमा नगरपालिकाले भोलिदेखि यही फागुन २१ गतेसम्म ढक तराजु जाँच शिविर सञ्चालन गर्न लागेको हो ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालयसँग समेतको सहकार्यमा यो शिविर सञ्चालन हुन लागेको नगरपालिकाको आर्थिक विकास शाखाले जनाएको छ । ढक तराजु परीक्षणका क्रममा व्यापारी तथा व्यवसायीहरूले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, उपलब्ध भएमा व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ ।
साथै, ढक तराजु खरिद गरेको ३५ दिन नकटेको अवस्थामा बिल तथा कटेको अवस्थामा ढक तराजु अनिवार्य रूपमा शिविरमा लानुपर्ने नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ । ढक तराजुको दर्ता नवीकरणले उपभोक्ताले गुणस्तरीय तथा उचित परिणाममा सामान खरिदको अधिकार थप सुरक्षित हुने नगरपालिकाको भनाइ छ ।
