• ट्रेण्डिङ्ग :
अन्तर्वार्ता
काेराेना महामारी र मानसिक स्वस्थ्य : मनोविद रिजाल

काेराेना महामारी र मानसिक स्वस्थ्य : मनोविद रिजाल


  • 12.1K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 18.6K Views

    काेराेना महामारी र मानसिक स्वस्थ्य : मनोविद रिजाल

    काठमाडौं, १३ माघ । जसरी हरेक व्यक्तिले शारीरिक स्वास्थ्यकाबारेमा जानकारी राख्छौं, मानसिक स्वास्थ्यकाबारेमा राखेको पाइँदैन। हाम्रो मानसिक शरिर जस्तै स्वस्थ र अस्वस्थ हुन सक्छ भन्ने विषयमा धेरै खोजिनीति गरेको पनि पाइँदैन्।

    images

    कोरोना महामारीले विश्वमा नै हरेक व्यक्तिलाई कुनै न कुनै रुपमा मानसिक रोगी बनाएको छ। नेपालमा पनि त्यसको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ। मानसिक रोगका कारण अन्ततः व्यक्तिले आत्महत्यासमेत गर्न पुग्छ।

    मानसिक रोगलाई पहिचान गर्न नसकेकै कारण धेरै ठूलो समस्या भोग्नु परेको देखिन्छ। शरीरमा आएको ज्वरो, लागेको रुगाखोकी, पखाला वा कुनै पनि भागको दुखाइले मानिसले शारीरिक रोग लागेको वा आफू शारीरिक रुपमा अस्वस्थ भएको पत्ता लगाउन सक्छ । तर, मानसिक रोग लागेको र मानसिक रोगी भएको कुरा अधिकांशले नै थाहा पाउँदैनन्। त्यसका लागि विज्ञको आवश्यक्ता पर्छ।

    मानसिक समस्या, समस्याको समाधान,  मानसिक समस्या भएको कसरी पत्ता लगाउने भन्ने विषयमा मनोविद् खीमा रिजालसँग तेस्रोआँखाकर्मी तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

    कोरोना महामारीको तेस्रो लहरसम्म पुग्दा नेपालमा मानसिक समस्याकाे अवस्था कस्तो छ ? 

    पहिलो, दोस्रो तेस्रो गरी तीन वटै लरहले हरेक मानिसमा असर गरेको छ। मानिसहरु यतिबेला शारिरीक आर्थिक मात्र नभएर मानसिक रुपमा पनि रोगी भएको पाइन्छ। यस्ता महामारीले गर्ने मानसिक असर भनेको एन्टाइटिक, डिप्रेसन हो । यी रोगहरुले अन्ततः आत्महत्याको अवस्थामा मानिसलाई पु¥याउँछन्। पहिला बन्दाबन्दीको सुरुसुरुमा कोरोनाको असर कम देखियो मानिसहरुले मिठो मसिनो बनाएर खाने रमाउने काम गरे ।

    जब बन्दादन्दी बढ्दै गयो त्यसपछि भने मानिसमा खाना बस्नलगायत हरेक कुराको समस्या बढ्दै गयो। आज पढ्नेले पढ्न पाएको छैन, व्यवसाय गर्नेले व्यवसाय गर्न पाएको छैन, कमाउने बाटो सबै बन्द भाको छ यसरी आफुु लागेको क्षेत्र बन्द भाएका कारणले मानिसहरुको मानसिक अवस्थामा असर गरेको छ। रोग ठूलो भन्दा भोक ठूलो भन्ने अवस्थाले पनि मानिसको मानसिक स्वास्थ्यमा असर गरेको हो। अवस्था जटिल छ।

    म मानसिक रुपमा ठीक छैन भन्ने बारेमा मानिसहरुले कसरी पत्ता लगाउने ? यो कसरी थाहा हुन्छ ?

    सबैभन्दा पहिला मानिसको व्यवहारमा परिवर्तन आउँछ। यदि एन्जाइटिक भएको हो भने एक्लै बस्ने, साथीहरुसँग घुलमिल नहुने रिसाउने जस्तो व्यवहार गर्छ। त्यस्तै डिप्रेसन हो भने रुने, सुत्न नखोज्ने, खान नखोज्ने, सफा नबस्ने र झोक्राएर बस्ने जस्ता लक्षण देखा पर्छन्। यी कारणपछि मानिसले नैरास्यताको कुरा गर्न थाल्छ। यसरी जब हिजोको र आजको व्यबहारमा परिवर्तन आएको स्वयम् व्यक्तिलाई थाहा नहोला तर अरुले थाहा पाएपछि मनोचिकित्सकसँग परामर्श गरेर उपचार गर्दा राम्रो हुन्छ।

    जुन मान्छेको व्यवहार, स्वभाव परिवर्तको कुरा गर्नु भयो यसमा उमेर समूह अनुसार त पक्कै फरक होला । अलग अलग उमेर समूहका मानिसलाई यस्तो समस्या छ भनेर कसरी थाहा पाउने ?

    अहिलेको अवस्थामा हरेक व्यक्तिमा यस्तो समस्या देखिएको छ। प्रविधिको विकास भएसँगै मानिसहरु मोबाइलमा बढी समय बिताउने गर्छन्। त्यसले पनि बालबालिकामा बढी प्रभावित भएको पाइन्छ। तर, नकरान्मक असर त सबै उमेर समूहका व्यक्तिहरुमा परेको पाइन्छ।

    जुनसुकै समस्याले सबैभन्दा बढी प्रभाव बालबालिका, गर्भवती महिलामाहरु र बृद्धबृद्धारुलाई नै गर्छ। सामान्यतः बच्चाहरुले भित्र बाहीर गर्ने, यस्तो किन पकाको भन्ने, अनावश्यक झगडा गर्ने, उसले अत्यन्त मनपराएको व्यक्तिको वरिपरि घुम्ने डर त्रासका कुरा गर्ने गर्छन् भने हामीले सोच्नु पर्ने हुन्छ।

    यो उनीहरुलाई भित्रैबाट डर पैदा भएर यस्तो गरेका हुन्। उनीहरुले यस्तो व्यवहार देखाउँदा हामी गाली गर्छौ, कुट्छाै तर उनीहरुले यो आफुभित्र भएको समस्या बाहीर देखाएको हो। यस्तो अवस्थामा हामी बच्चाहरुसँग रमाई दिने प्रोत्साहन गर्ने गर्नुपर्छ। सचेताना फैलाउने किसिमको व्यवहार गर्नु पर्छ। यो विपतको कारणले यस्तो भएको भन्ने हामीले नबुझेर उनीहरुलाई झन् असर पुराएका हुन्छौ।

    गर्भवतीको हकमा भने बच्चालाई नै असर गर्न सक्छ। त्यसकारण उमेर समूहअनुसार मानसिक समस्या हुन्छ र उनीहरुले देखाउँने व्यवहार पनि फरक फरक हुन्छ।

    एन्जाइटिक डिप्रेसन यी सबै मानसिक रोग हुन् । लागे पछि अस्पताल पुग्ने कुरा त छँदै छ तर त्यो भन्दा अगाडि रोग नै लाग्न नदिने या लागेमा घरमै गर्न सकिने उपचार र अपनाउन सकिने उपाएहरु केही छन् त ?

    राज्य तथा सरकाले मानसिक हिसाबमा असर परेको व्यक्तिलाई चेतना फैलाउने गरेको भए निकै राम्रो हुन्थ्यो तर यो छैन । जबसम्म हामी सबैका लागि उचित वातावरण तयार गर्न सक्दैनौं तबसम्म यो जटिलता अझै बढेर जान्छ । हुनत यो महामारी र विपत सँधै यस्तै रहिरहँदैन तर पनि हामीले मानसिक अवस्थाको कुरा गर्ने हो भने यसको एक दुई वर्ष भन्दा पछि झन् यसले विकराल अवस्था लिने देखिन्छ । यसर्थ यसको जिम्मा एउटा गैर सरकारी निकाय व्यक्ति वा संस्थाले भन्दा पनि यसमा राज्यले नै विशेष कदम चाल्नु पर्ने देखिन्छ । 

    मानसिक रोगको पहिलो चरणलाई नै परिवारले ठिक गर्न सक्छ वा सक्दैन ?कस्ता उपाय अपनाउने गर्नु पर्छ होला ?
    परिवाले गर्न पनि सक्छ नगर्न पनि सक्छ किनकी यो अवस्थाले सबैलाई असर गरेको छ । परिवारका बीचमा रमाइलो गर्ने, खुसी बनाउने गर्न सकिन्छ। तर, जब समस्या बढ्दै जान्छ विज्ञको सहयोगमा काम गर्नु पर्छ र उपचार गर्नु पर्छ ।

    महामारीेले मात्रै मान्छेलाई मानसिक रुपमा असर गरेको हो त ? कि अरुले नि यस्तो हुन्छ ?

    मानिसहरुमा पछिल्लो समयमा यही महामारीको कारणले बढी मानसिक रुपमा असर पैदा भएको देख्न सकिन्छ तर सम्बन्ध निभाउन नसक्दा झगडा हुँदा व्यक्ति सन्तुष्ट नहुँदा हरेक कारणले मानिसको मानसिक अवस्थामा असर गर्छ । व्यक्तिको व्यक्तिगत बुझाई र समस्याको कारण यो समस्या हुने गर्दछ ।

    मानिस कस्तो चरणमा पुगेपछि वा उसलाई कति असर गरेपछि आत्महत्याको भावना उसमा आउँछ  ? 

    यसमा तीन वटा चरण हुन्छन् पहिलो चरणमा उसमा आत्महत्याको विचारहरु आउँछन। दोस्रो चरणमा उसले योजना बनाउन सक्छ। कुन प्रक्रिया अपनाउने भनेर सोच्न थाल्दछ । कुन समयमा गर्ने भनेर योजना बनाउन सक्छ। नगरेको काम गर्छ त्यसका लागि आवश्यक वातावरण तयार गर्न सक्छ । र तेस्रो चरणमा  उसले आत्महत्या नै गर्छ ।

    यो समयमा उसले देखाउने व्यवहारअनुसार यी चरण पुरा गरेर उक्त कदम उठाएको हुन्छ। यदि हामी मनोविज्ञानबारे जान्दछौं भने उसमा आएको व्यवहारको परिवर्तनको विचार गरेर उसलाई त्यो अवस्थाबाट जोगाउन सक्छौं । माया गरेर उक्त व्यक्तिसँग नजिक भएर कुरा गरेर हामीले उसको समस्या बुझेर काम गर्न सकेमा हामीले उसलाई जोगाउन सक्छौं । 

    स्वयम व्यक्तिले आफु यो समस्याबाट वा मानसिक रोग लाग्नबाट कसरी बच्न सक्छ ? कस्ता उपाय अपनाउन पर्ने हुन्छ ? 

    म के गर्दा खुसी हुन्छु। मैले आफुलाई के गर्दा खुुसी राख्न सक्छु साथीसँग बोलेर, योगा गरेर, मन पर्ने फिल्म हेरेर जे गर्दा आफू खुसी रहन सकिन्छ त्यही उपाय उपनाउन सकिन्छ। हरेक व्यक्तिको रुची अनुसार आफू खुसी हुने र आफूलाई मानसिक रुपमा तन्दुरुस्त राख्न के गर्नु पर्छ त्यो बुझेर त्यही अनुसारको व्यबहार गर्नुपर्छ।

    सबै मानसिक रोगिहरुलाई एउटै किसिमबाट उपचार गर्न सम्भव हुँदैन यो कुराको तात्पर्य यही हो ? 

    सबै व्यक्तिलाई एउटै किसिमको विधि अपनाएर उपचार गर्न सकिदैन र व्यक्तिको व्यवहार रुची समस्यालाई आधार बनाएर त्यस अनुसार आफू स्वस्थ रहने हो र उपचार पनि त्यस अनुसार नै गर्ने हो। मानसिक रोगिलाई फरक–फरक ढंगबाट उपचार गर्न पर्ने हुन्छ। 

    सामान्यतः नेपालमा मानसिक रोगको वा यो समस्याको बारेमा कम अध्ययन भएको पाइन्छ किन ? 

    अध्ययन गर्ने अनुसन्धान गर्ने विषयमा हामी अरु भन्दा पछाडी छौँ । व्यक्तिगत गर्न सकिदैन सरकारले यस विषयमा ध्यान दिएको छैन । यी समस्याका थुप्रै रोगीको धेरै मनोवैज्ञानिकले उपचार गरे पनि उसले प्रयोग गरेको विधिको बारेमा वा उसले गरेको प्रयोगको बारेमा जानकारी राख्ने अध्ययन गर्ने कुरा हामी कहाँ धेरै कम छ ।

    विदेशमा जुन विधि प्रयोग गरेर मानसिक रोगीको उपचार गर्न सकिन्छ नेपालमा पनि त्यही विधि अपनाएर उपचार गर्न सकिन्छ ? 

    एउटा व्यक्ति र अर्को व्यक्तीको बिचमा त उपचार विधि फरक हुन्छ भने त्यहाँको र यहाँको उपचार विधि एउटै हुने कुरै हुँदैन। समुदाय, व्यवहार, अवस्थाअनुसार व्यक्तिको समस्या फरक फरक किसिमको र उपचार प्रक्रिया पनि फरक फरक हुन्छ । 

    यो अवस्थामा सबैलार्ई के भन्न चाहानु हुन्छ ? 

    यो जटिल अवस्था हो । यो अवस्थामा हामी जोगिने खुसी हुने काम गर्नु पर्छ । हामीले आफुलाई के गर्दा सन्तुष्ट राख्न सक्छौं त्यसरी हामी प्रस्तुत हुन सक्छौ र हुनुपर्छ । सँधै यस्तै दिन रहँदैन तसर्थ जोगिने र मानसिक रुपमा आफूलाई तन्दरुस्त राख्ने काम गर्नु पर्दछ । अहिलेको अवस्थामा सन्तुष्ट भएर बाँच्नु नै महत्वपूर्ण कुरा हो।