• ट्रेण्डिङ्ग :
अन्तर्वार्ता
मेरो पराजय गठबन्धनको आयुसँग ‘कनेक्सन’ हुँदैन : हेमराज राई

मेरो पराजय गठबन्धनको आयुसँग ‘कनेक्सन’ हुँदैन : हेमराज राई


  • 9.1K
    SHARES
    • माघ १३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    मेरो पराजय गठबन्धनको आयुसँग ‘कनेक्सन’ हुँदैन : हेमराज राई

    बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा १९ सीट मध्य १८ सीटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए। गठबन्धनका एक उम्मेदवार हेमराज राई भने प्रदेश नम्बर १ मा पराजित बने। उनी गठबन्धनका एक्ला पराजित उम्मेदवार पनि बने। जनता समाजवादी पार्टीका उनको पराजयले गठबन्धनको आयुकाबारेमा अहिले बहस चुलिएको छ। के राईको पराजयले गठबन्धनभित्र विश्वास टुटेको हो ? यसैविषयमा पराजित उम्मेदवार राईसँग तेस्रो आँखाकर्मी देवेन्द्र बस्नेतले गरेकाे कुराकानीकाे संम्पादित अंश: 

    images

    प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार तपाईको पराजय भयो, भित्री कारण के हो ?

    तपाईले पक्कै पनि परिणामकाबारेमा थाहा पाइसक्नु भएको छ। स्वभाविकै रुपमा हाम्रो प्रदेशमा सत्तारुढ गठबन्धनको मतभार ईतर समूहको भन्दा धेरै थियो। यसर्थ हामी सहज जीतका लागि काविल थियौँ । तर परिणामले त्यो देखाएन। मैले हार्न पुगेँ। यसको प्रमुख कारण भनेकै गठबन्धनको मत एकीकृत बन्न सकेन। अर्थात सिंगो गठबन्धनको मत एक भएर चुनावमा खसेन। यसर्थ मतदाताहरुले गठबन्धनलाई भन्दा पनि आफ्नो व्यक्तिको निर्णयलाई प्रधान ठान्नु भयो। फलतः परिणाम अनुकुल बनिदिएन।

    गठबन्धनले मतदाताहरुलाई लगाम लगाउन नसकेको हो ?

    राष्ट्रियसभाको निर्वाचन आम नागरिकले मतदान गर्ने निर्वाचन हैन। यो निर्वाचन भनेको त नेताहरुले मतदान गर्ने निर्वाचन हो। आममतदाता भएपनि उनीहरुलाई फकाउनु पर्छ, या निर्देशन दिनुपर्छ भन्ने हो नि। आफैमा नेता, अनि उहाँहरुलाई लगाम लगाउनु पर्ने कति उपयुक्त ? उहाँहरुले त बुझ्नु पर्ने कुरा हो नि, हामीहरुले कहाँ कुन उम्मेदवारलाई भोट हाल्नु पर्ने हो भनेर। तर त्यो चेतनाको अभाव भएकै हो। अब लगामको कुरा गर्दा खेरी निर्वाचनका लागि गठबन्धनका तर्फबाट बनेको कार्यदलले निकै खटेर सबै उम्मेदवारलाई विजयी बनाउनका लागि ठूलो भुमिका खेलेको हो। त्यसको सकारात्मक प्रभाव पर्न सक्नुपथ्याे। तर मतदाता नेताहरुले गठबन्धनको मर्म, उदेश्य, लक्षलाई महत्वमा राख्नु भएन। अनि ईतरको उम्मेदवारलाई मत हाल्ने अवस्थामा पुग्नु भयो।

    अब , गठबन्धन भित्रको विश्वास गुमेको हो उसो भएत हैन त ?

    सत्तारुढ गठबन्धन राष्ट्रहितका लागि बनेको गठबन्धन हो।  संविधानको रक्षाका लागि बनेको गठबन्धन हो। यसर्थ यसको मर्म र उदेश्य निकै बृहत छ। यती बृहत मर्म सहित बनेको गठबन्धनमै रहेका हामी साथीहरु गठबन्धनको घेरा तोडेर व्यक्तिगत निर्णयमा पुग्यौँ। गठबन्धनकै साथीहरुमा देखिएको यो अविश्वास हो नै। साथीहरुबाट यो अपेक्षा गरिएको थिएन। गठबन्धनको घेरामै रहेर साथीहरुले मतदान गर्नुहुन्छ भन्नेमा कुनै शंका पनि रहने कुरै भएन। तर अन्ततः नतिजा त्यहि देखियो, जुन हामीहरुले कल्पना गरेकै थिएनौँ। यसले गठबन्धनभित्रको एउटा बिश्वासको वातावरण माथि केहि शंका त कायम गर्छ नै। तथापी मेरो पराजयकै कारण त्यती ठूलो अविश्वास कायम हुने अवस्था भने निम्तनु हुन्न भन्ने मलाई लाग्छ।

    तपाईको पराजयले गठबन्धनको आयुलाई प्रभावित गर्दैन ?

    त्यो खालको पब्लिक सेन्टिमेन्ट जागेका छन्। असहमतीहरु व्यक्त भएका छन्। कि अब गठबन्धनभित्रै अन्तरघात भएपछि गठबन्धन केका लागि ? भनेर प्रश्न उब्जिएका छन्। त्यो एउटा पब्लिक सेन्टिमेन्ट हो। यो सेन्टिमेन्टलाई मैले पनि सम्मान गर्छु। यो गठबन्धनको दिर्घकालका लागि उठाइएको आवाज पनि हो। तर मेरो पराजयले नै गठबन्धन भत्कने भन्ने कुराको म समर्थन गर्दैन र त्यसो हुनु पनि हुँदैन। गठबन्धन राष्ट्रियसभाको निर्वाचन वा कुनै निर्वाचन जित्नका लागि मात्रै बनेको हैन। संविधानको रक्षाका लागि बनेको गठबन्धनको मूल्य भनेको चुनाव जित्ने र जिताउने मात्रै पटक्कै हैन। तर एउटा कुरा के चाहीँ हो भने गठबन्धन भित्र अविश्वासको संकेत देखा पर्यो। गठबन्धन भित्र विश्वास भए मात्रै गठबन्धन आफ्नो गतीमा अघि बढ्न सक्ने कुरा हो। यसर्थ त्यो विश्वास कायम गर्नका लागि पनि गठबन्धनमा रहेका दलहरुले यो पराजयलाई गहन समिक्षाको विषय बनाउनु पर्छ। हामी किन गठबन्धनप्रति अनुत्तरदायी भएर गठबन्धनलाई नै घात गर्यौँ ? भन्ने विषय समिक्षाको विषय बन्नुपर्छ। तर म एउटा व्यक्तिको पराजयले पक्कै पनि गठबन्धनको आयु छोटो हुने वा गठबन्धन भत्कने भन्ने कुरा हुँदैन। म मेरो पराजयले गठबन्धन नभत्काओस् भन्ने नै चाहन्छु। यसर्थ मेरो पराजय गठबन्धनको आयूसँग कनेक्सन हुने विषय हैन।