काठमाडाैं, १६ माघ । आज सहिद दिवस । प्रजातन्त्र स्थापना तथा पुनरस्थापना एवं विभिन्न कालखण्डमा स्वतन्त्रताका निम्ती जीवन आहुति दिनेहरुको सम्झनामा आज यो दिवस मनाईँदैछ । सहिद दिवस २०१२ साल देखि काठमाडौँ नगरपालिकाको संयोजकत्वमा यो दिवस मनाउन सुरु गरिएको हो ।
स्वतन्त्रताको माग गर्दा १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० मा टेकु स्थित पचलीमा, १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगाला श्रेष्ठ र दशरथ चन्दलाई माघ २५ मा शोभाभगवतीमा राणा शासकले मृत्यु दण्ड दिएका थिए ।
फलतः सहिद दिवस माघ १० देखि १६ गते सम्म साता व्यापी कार्यक्रम गरेर मनाउने गरिन्छ । सहिद दिवसका अवसरमा आईतबार काठमाडौँमा प्रभातफेरी गरिँदैछ ।
सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्री लगाएत सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागीता रहने छ ।
