अस्टिन । अमेरिकाको टेक्सास राज्यमा रहेको अस्टिन सिटीका नेपालीहरूको ग्रेटर अस्टिन नेपाली समाज (ग्यान्स) नामक संस्थाका असन्तुष्ट सदस्यहरूले संस्थाका अध्यक्ष भोजराज भट्टलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले संस्थाको कार्यालयमै पुगी बुधबार ज्ञापनपत्र बुझाएका हुन् । आगामी २१ एप्रिलका दिन हुन गइरहेको संस्थाको निर्वाचनका नियम र प्रक्रियाबारे असहमति जनाउँदै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्। निर्वाचन सम्बन्धी वर्तमान प्रकृया र नियमहरु प्रति आफ्नो असहमति रहेको उनिहरुले बताएका छन् ।
ज्ञापनपत्रमा संस्थाको पहलमा बनेको पशुपतिनाथको मन्दिर निर्माण गर्न चन्दा दिने सम्पूर्ण चन्दादाताहरूलाई स्वतः मतदाता गराउनुपर्ने, मतदाताको अन्तिम नामावली प्रकाशन गरिएपछि निर्वाचनका लागि मनोनयन प्रक्रिया सुरु गरिनुपर्ने, निर्वाचन समितिको चयन संस्थाको विधान अनुसार हुनुपर्ने, संस्थाको बैंक खाता कार्यसमितिको आधिकारिक व्यक्तिको नाममा हुनुपर्ने, विधान अनुसार टेक्सासको १९ वटा काउन्टीहरुमा साधारण सदस्यता वितरण प्रक्रिया खुल्ला गर्नुपर्ने र निर्वाचन समितिका पदाधिकारी संस्थाको कुनै पनि जिम्मेवार पदमा भएको व्यक्ति हुन नहुने जस्ता मागहरु गरिएको छ । ज्ञापनपत्रमा अमेरिकी कानुनको ५०१ सी ३ मा व्यवस्था गरिए अनुसार गैर नाफामूलक संस्थाको रुपमा सेक्रेटरी अफ स्टेट टेक्सासमा दर्ता भएकोले स्थानीय कानुनको उल्लङ्घन गरिए यहाँको कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी पनि दिएको छ।
उनिहरुले संस्थाले आफ्ना साधारण सदस्यहरूको भावनाको कदर गरी अगाडि बढ्नुपर्ने भएपनि आसन्न निर्वाचनका सन्दर्भमा संस्थाको मर्म अनुरुप सदस्यहरूको भावना विपरीतका निर्वाचन प्रक्रियाहरु अवलम्बन गर्न खोजिएको आरोप लगाएका छन् ।
पढनुहोस् ज्ञापनपत्र
