काठमाडाैं,१७ माघ । संसदमा अड्किएर बसेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारेमा जसपाका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो धारण सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत संझौतालाई आलटाल नगरी सर्वसहमतिले पारित गर्नुपर्ने बताएका हुन् । एमसीसीबारे उनकाे धारण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भट्टराईलाई गालीको ओइरो लागेको छ ।
एमसीसीबारे उनी लेख्छन, ‘एमसीसी संझौतालाई आलटाल नगरी सर्वसहमतिले संसदबाट पारित गरौं ।’ सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रुढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् । देश थप कङ्गाल बनेर जनसंख्या अरु नघटोस्, शक्ति केन्द्रको चलखेलबाट देश बरबाद नहोस् ।’
यो ट्वीटपछि सामाजिक सञ्जालमा उनले नमज्जाले गाली खानु परेको छ । उनको उक्त ट्वीटमा आज बिहानसम्म ७५ जनाले कमेन्ट गरेका छन् भने एक सय ५० बढीले लाइक गरेका छन् । कमेन्ट गर्नेहरु अधिकांश एमसीसीको विपक्षमा रहेको देखिन्छ । उनीहरुले बाबुराम भट्टराईलाई अश्लील गालीसमेत गरेका छन् ।
भट्टराईको ट्वीटका विषयलाई लिएर नानाथरि गाली गरेकाे सामाजिक सञ्जाल प्रयोगकर्ताले एमसीसी राष्ट्रघाती भएको उल्लेख गरेका छन् । उनले गएराती १२ः४० मा आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गरेका थिए ।
