काठमाडौं, १७ माघ । धादिङका टेक बहादुर तामाङ एक दशकदेखि काठमाडौंमा टेम्पो चलाइरहेका छन्। लामो समय अरुको टेम्पो चलाएका उनको अहिले भने आफ्नै टेम्पो छ। बिहान ८ बजे देखि सुरु हुने उनको ‘टेम्पो यात्रा’ झमक्क साँझ नपर्दा सम्म चलिनै रहन्छन्। भन्छन् ‘नत्र हात मुख कसरी जोड्ने ?’ टेम्पो चलाएरै धानिएको उनको दैनिकी ‘यात्रु’ खोज्नै बित्छ। त्यसमाथि प्रहरीको लखेटाईमा परिरहन्छन् उनी।
जहाँतहीँ टेम्पो रोक्न पाइँदैन। प्रहरी लखेट्न पुगिहाल्छ । प्रहरीको आँखा छलेर यात्रु राख्न खोज्यो, देख्यो कि झपारिहाल्छन् । ‘टेम्पो रोकेर यात्रु हाल्न पर्ने ठाउँमा रोक्न पनि पाइँदैन, अन्यत्र ठाउँमा पनि रोकेर बस्न नमिल्ने भएकाले खाली टेम्पो कुदाउनु पर्छ,’ उनले भने ‘हाम्रो दैनिकी गुजारा माथि प्रहरी प्रशासन अंकुश बनिदिएको छ।’
टेम्पोका लागि कतै उपयुक्त यात्रु ओराल्ने र चढाउने ठाउँ छैन। पहिला सुन्धारास्थित काठमाडौं मलको अगाडि रहेको टेम्पो पार्कीङलाई अहिले महाकाल मन्दिर नजिक टुडिखेलनेर सारिएको छ। अहिले उक्त पार्कीङमा उपत्यकाका सबै ठाउँमा जाने टेम्पोलाई एकै ठाउँ पार्कीङ गराइएको छ।
सिन्धुपाल्चोक घर भई हाल सुन्धारा देखि मैतीदेविसम्मको टेम्पो चलाउने नुनमायाँ सुनारको पनि त्यस्तै गुनासो छ। चार/पाँच वर्ष देखि टेम्पो चलाउन थालेकी उनका लागि कोरोना अभिषाप बनेर आईदियो।अहिले कोरोनाले बन्दाबन्दि नभएको भए पनि सोचेजस्तो कमाई नभएको गुनासो गर्छिन्। नेपालमा टेम्पो चालकको लागि सहज खालको पार्कीङ गर्ने र केही समय रोकीएर यात्रु चढाउन नपाउँदा आफुहरु टेम्पो कुदाउन बाध्य भैरहेको उनी बताउँछिन्।
एकातर्फ यात्रु नपाउने र अर्कोतर्फ ट्राफिकले सताउने गरेको उनले गुनासो पोखिन्। ट्राफिकरुले टेम्पोमा यात्रुहरु भए पनि नभए पनि कतै रोकेर बस्न नदिने र खाली लखेट्ने मात्र काम गरेको उनको भनाइ छ। काठमाडौं मल अगाडीको पार्कीङ हटाएर ठाउँ परिवर्तन गरिदिँदा सबै एकै ठाउँमा गोलमाल भएको र झन् टेम्पोहरु अव्यवस्थित भएको टेम्पो चालकहरुको भनाइ छ।
यात्रुहरुको अभावले विनायात्रु खाली कुद्नु परेको र ट्राफिकहरुले धेरै सताउने गरेको भन्दै अन्य टेम्पोचालकलेसमेत सरकारले गरेको बेवास्ता प्रति असन्तुष्टी समेत व्यक्त गर्छन् ।
पदम भुजेल
