काठमाडाैं,२४ माघ । रुपन्देहीको बुटवल तामनगरमा दुर्घटना हुँदा तीन जनाकाे ज्यान गएकाे छ । तामनगर सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको हाे । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठाेक्किएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दियाे ।
बेहुला-बेहुलीलाई कपिलवस्तु छोडेर फर्किंदै गरेको कार सडक किनारमा रोकिराखेको पराल बोकेको ट्रकको पछाडि ठोक्किएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । उक्त कारलाई क्रेनको सहायताले सडकबाट हटाइएको थियो ।
