तुलसीपुर ९ जेठ/ तुलसीपुरमा बजार क्षेत्र भित्र रहेका विद्यालय, मन्दीर आसपासमा रहेका पसलहरुमा अनुगमन गरिएको छ । मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, उपभोक्त हित संरक्षण शाखाका प्रमुख रेखा शर्मा, प्रहरी, पत्रकार लगायतको उपस्थितीमा बजार अनुगमन गरिएको हो ।
विद्यालय क्षेत्र, सरकारी कार्यालय, स्वास्थ्य संस्था, बालगृह, बृद्धाश्रम धार्मिक स्थल, सार्वजनिक सवारी साधन, सार्वजनिक स्थल देखि एकसय मिटर वरपर सुर्तीजन्य पदार्थ बेच्न पाइदैन । जिल्ला प्रशासन कार्यालय दाङले गत वैशाख २४ गते नै विद्यालय, अस्पताल, सार्वजनिक स्थलको एकसय मिटर क्षेत्र भित्र रहेका पसलहरुमा सुर्ती जन्य पदार्थ विक्रि वितरण भएमा सात दिन भित्र हटाउन सूचना प्रकाशित गरेको थियो । तर उक्त सूचनालाई वेवास्ता गरि सुर्तीजन्य पदार्थ विक्रि वितरण भइृ रहेको गुणासो पछि किराना पसल, डेरी पसल, पान पसल, होटल गरी १३ वटा पसलमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा भेटिएका सुर्ती, चुरोट, गुड्का लगायतका सामान जफत गरी अवका दिनहरुमा विक्रि वितरण नगर्न सचेत पारिएको थियो । सार्वजनिक स्थल, विद्यालय, अस्पताल क्षेत्रको एकसय मिटर वरपर सुर्ती जन्य पर्दाथ विक्रि वितरण गरेको खण्डमा १० हजारसममको जरिमाना हुने व्यवस्था छ ।
