• ट्रेण्डिङ्ग :
गैंडाकोट नगरपालिकाको बजेट १ अर्ब १ करोड ६७ लाख रुपैयाँ

गैंडाकोट नगरपालिकाको बजेट १ अर्ब १ करोड ६७ लाख रुपैयाँ


  • 5.8K
    SHARES
    • आषाढ ७, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 8.9K Views

    गैंडाकोट नगरपालिकाको बजेट १ अर्ब १ करोड ६७ लाख रुपैयाँ

    गैंडाकोट । आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न एक अर्ब १ करोड ६७ लाख ९९ हजार ९९९ बराबरको बजेट विनियोजन गर्दै गैडाकोट नगरपालिकाको १५ औँ अधिवेशन समापन भएको छ। 

    images

    गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइरालाले शुक्रबार नगरपालिकाको सभा हलमा आयोजित नगरसभामा उल्लेखित रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको हो। 

    बजेटमा कुल विनियोजनमध्ये चालु खर्च रु ६१ करोड १९ लाख ६६ हजार र कुल विनियोजनमध्ये पुजीगत खर्च रु ४० करोड ४८ लाख ३३ हजार रुपैयाँ रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये सञ्चित कोष र अन्य स्रोतहरूबाट रु ५ करोड ७१ लाख, आन्तरिक राजस्वबाट रु १९ करोड ५३ लाख ७० हजार, संघीय सरकार र गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रु १५ करोड ८८ लाख ६४ हजार र अन्तरसरकारी वित्तीय हस्तान्तरण र अन्तरसरकारी अख्तियारबाट रु ५८ करोड ४६ लाख ३० हजार बेहोरिने प्रस्तुत बजेटमा जनाइएको छ।

    IMG_20240621_175621_235.jpg

    राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा गैंडाकोट नगरपालिका गण्डकी प्रदेशमा प्रथम तथा देशभरि छैठौं स्थानमा पर्न सफल भएको विषयलाई गर्वका साथ प्रस्तुत गर्दै ल्याइएको नगरपालिकाको बजेटमा अधिकांश गतवर्षकै नीति तथा कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ।

    आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता दिने र नगरपालिकाबाट प्रवाह गरिने सेवालाई छरितो सहज प्रविधिमैत्री पारदर्शी र पहुँच योग्य बनाउने उद्देश्य लिएको भनिएको बजेटमा सुशासन र प्रविधि मैत्री सेवा प्रवाह, सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा, कृषि क्षेत्रको आधुनिककरण व्यवसायिकरण र बजारीकरण, भौतिक पूर्वाधारको विकास, विपद व्यवस्थापन, पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र गरिबी न्यूनीकरण एवं राजस्व परिचालन जस्ता विषयहरूलाई बजेटको उद्देश्य हासिल गर्ने प्राथमिकताहरूका रूपमा निर्धारण गरिएको छ।

    बजेटले सामाजिक विकासतर्फ आधारभूत सेवा प्रदान गर्नका लागि आवश्यक पर्ने ९८ प्रकारका औषधिहरु निःशुल्क उपलब्ध गराउनका लागि रु ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। निःशुल्क शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि सामुदायिक विद्यालय अन्तर्गत कक्षा ५ सम्म निःशुल्क गर्न नगरपालिकाले रु १ करोड ५० लाख विनियोजन गरेको छ। 

    प्रस्तुत बजेटमा पूर्वाधार विकासतर्फ वडा नम्बर ३, १४ र १८ लाई ८० लाख र अन्य सबै वडाहरूलाई रु ७० लाखका दरले बजेट छुट्याइएको छ, जसका लागि कुल १२ करोड ९० लाख रुपियाँ विनियोजन गरिएको छ। 

    यसैगरी न्यायिक सचेतना लगायतका कार्यक्रमहरू सञ्चालन गर्न न्यायिक समितिको लागि रु २५ लाख विनियोजन गरिएको छ। नगर प्रहरी व्यवस्थापनसहित नगर कार्यपालिकाको कार्यालय लगायत १८ वटा कार्यालयहरू सञ्चालन तथा जनशक्ति परिचालन गर्न आगामी आर्थिक वर्षको लागि कार्यालयको प्रशासनिक खर्चका जम्मा १७ करोड ३ लाख रुपैयाँ विनियोजनको प्रस्ताव गरिएको छ ।

    यसैगरी राजस्व सम्बन्धी नीति अन्तर्गत वडा कार्यालयहरूबाट हुने खरिद प्रक्रियालाई पूर्णरूपमा निषेध गरी एकद्वारा प्रणाली मार्फत नगरपालिकाबाट मात्र खरिद गर्ने गरी प्रबन्ध मिलाइएको बजेटमा उल्लेख गरिएको छ।

    IMG_20240621_175629_487.jpg

    आर्थिक वर्ष २०८१८२ का लागि प्रस्तुत गरिएको बजेटमा नगरसभा सदस्यहरूले आआफ्ना धारणाहरू राखेका थिए। 

    नगरसभा सदस्य द्रोण वन सन्यासीले नगरसभामा आफ्नो भनाई राख्दै टोलटोलमा दर्ता नभएको बाटोले समस्या निम्त्याएको तर बजेटमा नक्सा पास गर्नका लागि बजेट नछुट्ट्याइएको प्रति गुनासो गर्नुभएको थियो। उहाँले कक्षा ५ देखि १० सम्मै निःशुल्क गरिने भनिए पनि त्यसबारे बजेटमा कुनै कुरा उल्लेख नभएको बताउनुभयो । 

    यस्तै नगरसभा सदस्य चन्द्रमाया सिङ्जालीले छ महिनामा एकपटक जम्मा ३ मिनेटको समय नगरसभा सदस्यहरूको लागि अपर्याप्त भएको बताउँदै वडामा मिटिङ राखेर सिलिङ ल्याइएको बजेटलाई व्यवस्था गरी व्यक्तिपिक्षका कुराहरू सुनेर नीति तथा कार्यक्रम बनाइएको आरोप लगाउनुभयो। उहाँले नगरपालिकाबाट अनुगमन जाँदा मूल सडकमा मात्रै अनुगमन गरिएको शाखाबाटहरूमा नजर नलगाइएको तर मुख्य समस्या शाखाबाटहरूमा भएको औल्याउनु भयो ।

    नगरसभासद् चिरीमाया सारुलेजनजातिको सङ्ग्रहालय निर्माणमा नगरपालिकाको बजेटले न्याय नगरेको बताउनुभयो। उहाँले रु १० लाख बजेट अपर्याप्त भएकोले बरु प्रत्येक जनजातिहरूलाई एकएक लाखको दरले बजेट विनियोजन गर्न सुझाव दिनुभयो । नगरसभासद् गुरुप्रसाद पौडेलले टिप्परले भेडाबारीदेखि आलेसम्मको बाटो बिगारेकोले त्यो बाटो मर्मतको लागि बजेटमा सम्बोधन नभएको औल्याउनु भयो । जलवायु परिवर्तनका कारण बढेको गर्मी कम गर्न अनिवार्य रुपमा एक वन एक सिमसार पोखरी निर्माण गर्नुपर्ने उहाँको तर्क थियो। पौडेलले बजेट प्राथमिकताका आधारमा नभएको आरोप पनि लगाउनुभयो। 

    यसैगरी नगर सभासद् भीमकुमारी चौधरीले १२ नम्बर वडामा सिमसार पोखरीको आवश्यकता भएको तर त्यसका लागि बजेटमा कुनै व्यवस्था नभएको गुनासो गर्नुभयो। उहाँले वडा नम्बर १२ को पर्यटन विकासका लागि पनि सिमसार पोखरी आवश्यक रहेको बताउनुभयो। 

    नगरसभासद् चन्द्रबहादुर विकले पूर्वलक्षित कार्यक्रमहरूलाई बजेटमा नसमेटिएको आरोप लगाउनुभयो। उहाँले अति पिछडिएका बोटे समुदायका घर निर्माणका लागि बजेटले सम्बोधन नगरेको बताउनुभयो । यसैगरी आर्थिक मन्दीको मारमा परेको व्यवसायीहरूको व्यवसायलाई सहयोग पुग्ने गरी बजेटमा व्यवस्था नभएको उहाँको गुनासो थियो। नगरसभासत सानु सुनारीले वडा नम्बर १८ मा विद्यालय मर्ज गर्ने भावी कार्यक्रम व्यावहारिक नहुने उल्लेख गर्दै सानासाना बालबालिकाहरूले डेढ दुई घण्टा पैदल हिँडेर विद्यालय जान नसक्ने हुँदा त्यसलाई विचार गरेर मात्र विद्यालय मर्ज गर्न सुझाव दिनुभयो । 

    गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीको अध्यक्षतामा भएको पन्ध्रौँ नगर अधिवेशनमा नगरसभा सदस्यहरूले गरेका टिप्पणी उपर प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले जवाफ दिनुभएको थियो । 


    तेस्रो आँखा