काठमाडौं, १४ साउन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराउने एक जना पक्राउ परेका छन् । एनआरएनए जापानको नाम र अन्य आवश्यक फर्जी कागजात बनाई ती कागजातमा स्पोन्सर गर्ने आवेदकको नाममा एनआरएनए जापानका अध्यक्ष र उपाध्यक्षको नाम र हस्ताक्षर गरि नेपाली नागरिकलाई पर्यटन भिसामा जापान ल्याउन मुख्य भूमिका निर्वाह गरेका समिर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
लामालाई २०२४ जुलाइ २९ तारिखका दिन नेपालस्थित त्रिभुवन विमास्थलबाट नेपाल प्रहरीले गिरफ्तार गरेको हो । एनआरएनए जापानको अग्रसरतामा जुलाइ २७ तारिखको नारिता–काठमाडौको उडानमार्फत लामालाई नेपाल फिर्ता पठाउनका लागि आवश्यक व्यवस्था गरिएको थियो । तर लामा नेपाल नफर्कि लुकिछिपी बस्ने प्रयत्न गरेकोमा एनआरएनए जापानको नेतृत्वमा जुलाइ २९ मा पुनः नेपाल एयलाइन्सको उडानमार्फत नेपाल पठाइएको र नेपालको विमानस्थल पुग्न साथ नेपाल प्रहरीले लामालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
एनआरएनए जापानका पदाधिकारी एनआरएनएका अभियन्ता सहितको नाम र एनआरएनए जापानको नामबाट नक्कली स्पोन्सर लेटर तयार पारी पर्यटक भिसामा केहि नेपाली नागरिकलाई जापान भित्र्याइएको बारेमा जानकारी प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ यस बारेमा आवश्यक सत्य तथ्य सूचना संकलन गर्दा अपराधजन्य कार्य भएको पाइएको छ । यस्तो कार्यबारे एनआरएनए जापानद्वारा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनमा लामाले फर्जी कागजात गराई केही नेपालीलाई जापानमा ल्याएको स्वीकार गरेका छन्।
यस एनआरएनए जापान र यसका पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराउने आरोपित लामामार्फत यस कार्यमा संलग्न हुने गिरोहलाई नेपालको प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग गरेको संस्थाले जानकारी दिएको छ ।
एनआरएनए जापानले संस्थाको नाम र संस्थामा आबद्ध रहेका पदाधिकारीहरुको नामको दुरुपयोग गरि फर्जी कागजात बनाई यस खालको जघन्य अपराध गरेको हुनाले यस संस्था र संस्थासँग सम्बन्धित कोहि व्यक्ति पनि कुनै प्रकारको कार्यमा संलग्न नरहेको पुनः स्पष्ट पार्दै त्यसखालको भ्रममा नपर्नका लागि सम्पूर्णमा अनुरोध समेत गरेको छ ।
