• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न

वडाध्यक्षसँग पाँच प्रश्न


  • 8.5K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 13.1K Views

    वडाध्यक्षसँग पाँच प्रश्न

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) सँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष भण्डारीसँग तेस्रो आँखाकर्मी अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १. तपाई निर्वाचित भएर आएपछि वडामा के कस्ता कामहरु गर्नुभयो ?

    खासगरी हामी निर्वाचित भएर आइसकेपछि पहिलो कुरा वडालाई सुशासनयुक्त बनाउने काम गरेको छौ । त्यसैगरी सेवाग्राहीलाई शीघ्र सेवा, तीव्र विकास दिने कुरामा हामीले जोड गरेका छौ । त्यही अनुरुप वडालाई सेवाग्राही मैत्री बनाउने र व्यवस्थित बनाउने काम गरेका छौं । त्यस्तै हाम्रो वडाका थुप्रै क्षेत्रमा खानेपानीको समस्या थियो । त्यसलाई व्यवस्थित बनाएका छौ । खासगरी हाम्रो वडामा मात्रै नभएर देशभरी नै रहेको एउटा समस्या छ । त्यो के भने, विकास त हुन्छ, तर विकास आज भयो, भोली अर्को कार्यालय आएर त्यसलाई भत्काउँछ । यस्तो खालको विकास भैरहेको छ, यसलाई दिगो विकासका रुपमा लैजानु पर्छ भन्ने हाम्रो सोच थियो । त्यहीँअनुसार हामीभन्दा पहिले भएको विकासलाई व्यवस्थित बनाउने र नयाँ हुने विकासहरु, जस्तै विद्युत कार्यालय, खानेपानी, दुरसञ्चार र सिंचाई लगायतका कार्यालयहरुसँग सहकार्य गरेर बाटोको नाला बनाउने, कालोपत्रे गर्नु छ भने हामीले पहिला पोल, खानेपानीको लाइन बनाउने कुरालाई जोड दिएका छौ । यो वडालाई अव्यवस्थित पोलमुक्त बनाउने अभियानमा छौ र हाम्रो कार्यकालमा यो काम सम्पन्न गर्छौ भन्ने लागेको छ । 

    २. जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    चुनावको समयमा हामीले जनताहरुलाई दिएको बाचाअनुसार काम गरिरहेका छौ । अहिले हामी हाम्रो वडाका विभिन्न ठाउँमा खाने पानीको पाइप लाइन विस्तार गर्ने काम गरेका छौं । त्योसँगै हामीले दिएको अर्को बाचा सुकुम्वासीहरुलाई पुर्जा वितरण गर्छौ भनेका थियौं । त्यही अनुरुप हाम्रो वडाबाटै जग्गा नापजाँचको काम पनि सुरु भयो । अहिले पनि हामी हाम्रो चुनावी घोषणापत्र हेरेर जनताहरुको चाहनाअनुसार काम गरिरहेका छौं । हामी आएपछि थुप्रै विकास निर्माणका कामहरु भएका छन् । चाहे युवाहरुलाई तालिम प्रदान गर्ने कुरा होस्, शिक्षा क्षेत्रमा लगानीको कुरा होस्, बालबालिकाहरुलाई श्रममा कसैले लगाएको छ की भनेर अनुगमन लगायतका विभिन्न कामहरु वडाबाट भइरहेका छन् ।

    तर पनि हामीले बाचा गरेअनुसार धेरै कामहरु गर्न बाँकी नै छ । हाम्रो वडालाई हिलोमुक्त, धुलोमुक्त वडा बनाउनका लागि पहल गरिहेका छौ । यो काम पुरा हुन बाँकी छ, यो वर्ष वडालाई करिब हिलोमुक्त वडा बनाउनेतर्फ लागि परेका छौ । त्यस्तै बाटो व्यवस्थित गर्ने, कालोपत्रे गर्ने कुरा, केही बाँकी छ । अहिले पनि काम जारी छ । जनताहरुको माग पूर्वाधार क्षेत्रमा नै धेरै भएकाले मुख्य बाटाहरु र भित्री बाटोहरु कालेपत्रेको काम गर्न बाँकी नै छ । विद्युतलाई व्यवस्थित गर्ने, खानेपानिलाई अझै व्यस्थित गरेर सबैको घरमा धारा पुर्याउने योजना छ । तुलसीपुर खानेपानी संस्थासँग समन्वय भइरहेको छ । त्यसका साथै एक वडा एकखेल मैदान भन्ने कुरा छ, त्यसको काम भइरहेको छ । खुल्ला व्यायमशालाको नीति ल्याएका छौ । केही स्थानमा यही आर्थिक वर्षमा काम हुने छ । वडालाई उज्यालो वडा बनाउने हाम्रो अभियान छ । त्यही अनुसार गत आर्थिक वर्षमा दुई ठाउँमा प्रदेश सरकारको सहयोगमा हाइमास्ट लाइट जडान गरेका छौ । अब हाम्रो वडाको सबै मुख्य चोकहरुमा हामीले हाइमास्ट लाइट जोड्ने र गाउँमा पनि सडक बत्ति जोड्ने अभियान छ । निरन्तर हुने विकासका काम पनि बाँकी नै छ र यो हिसावले गर्दा अबको तीन वर्षमा हामीले बाचा गरेका ९० प्रतिशत काम सम्पन्न गर्नेतर्फ लागि रहेका छौ ।

    ३. वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा त्यस्तो छ की छैन् ?

    यो कुरामा हाम्रो वडामा गुनासो छैन । किनभने मैले सबै भन्दा बढी सक्रिय वडा सदस्यहरुलाई बनाएको छु । संविधानले नै स्थानीय तह ऐन २०७४ ले चारजना वडा सदस्यहरुलाई भूगोलको आधारमा, विषयगतको आधारमा कार्य विभाजन गर्ने भनेको छ । अधिकांश वडामा यो गरेको पाइदैन् । तर मैले वडा नं ६ मा सुरुको निर्णयमा भूगोलको आधारमा चारजना सदस्यहरुलाई भूगोल विभाजन गरेको छु । त्यसैगरी चारैजना सदस्यलाई विषयगत रुपमा पनि पूर्वाधार, वन वातावरण विपद्, सुशासन र आर्थिकको कार्य विभाजन गरेका छौ । वडा सदस्यहरुलाई पनि सक्रिय गराउने काम हाम्रो वडाबाट भएको छ । मलाई लाग्छ हाम्रो वडामा सदस्यहरुबाट त्यस्तो खालको गुनासो छैन् ।

    ४. वडाको समग्र समृद्धिका लागि तपाईका भावी योजनाहरु के छन् ?

    खासगरी भावी योजना भन्दाखेरी मैले अघिपनि भने, विशेष गरी व्यवस्थित र सुन्दर वडा बनाउने नै हो । त्यसैगरी हामीले अलिकति गर्न नसकेको काम भनेको रोजगारी सृजना हो । रोजगारी सृजनाको लागि वडाले के गर्न सक्छ ? भनेर मैले बाटो खोजिरहेको छु । त्यसका लागि मैले विभिन्न अग्रज विज्ञहरुसँग सल्लाह पनि गरिरहेको छु । अब वडाले नै रोजगारी सृजना गर्नको लागि व्यावसायिक किसानहरुलाई सहयोग गर्ने काम, व्यवसायिक उद्यमशील गर्नेहरुलाई सहयोग गर्ने लगायत विभिन्न व्यवसाय गर्नेहरुलाई सहयोग गर्ने काम त रह्यो नै तर खासै रोजगारी सृजना गर्नको लागि उद्यमको विकास गर्नुपर्छ, अथवा कलकारखाना खोल्नु पर्छ, त्यसको लागि वडाले के गर्न सक्छ भनेर हामी खोजी रहेका छौ । र मेरो पहिलो प्राथमिकता भनेको कम्तिमा पनि वडाका ५० जना युवा, महिलाहरुलाई रोजगारी सृजना हुनेगरी केही नमूना काम गर्ने हो, त्यसमा भोलि केही उद्योग खोल्न सकिन्छ की अथवा कृषि फार्म हुनसक्छ, त्यसका लागि के गर्न सकिन्छ त्यसको बाटो खोजी रहेको छु । त्यसकोलागि वडाबाट हामीले गर्नु पर्ने अनुदान, सहयोग बैकसँग सहकार्य गर्ने कुरा होस, त्यस्तो किसिमको कुनै समूह बनाएर आएमा हामीले सहयोग गर्न तयार छौ । अरु व्यवस्थित र दिगो विकासको वडा बनाउने रहेको छ । समाजमा सही विचार अथवा असल नागरिक बनाउनका लागि हामीबाट नैतिक शिक्षा प्रदान गर्ने कुरा निरन्तर रहने छ । 

    ५. जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?

    मैले जनगुनासो सुन्ने मात्रै होइन, त्यसलाई कार्यान्वयनमा पनि ल्याउने गरेको छु । सुन्ने त सबैले नै सुन्छन्, तर हामीले सुनेर कार्यान्वयन गर्ने कुरामा ध्यान दिएका छौ । हाम्रो पहलले र हामीबाट हुने काम हामीले रोकेका छैनौं । तपाईहरुले सोध्न पनि सक्नुहुन्छ, हामी वडाबाट हुने कुनै किसिमको सिफारिसमा झन्झट गर्ने, भोली आउनुस भन्ने, आज अध्यक्ष छैन्, कर्मचारी छैनन् भन्ने गराउँदैनौ । हामीले सकेसम्म उसैदिनमा जनताका कामहरु गर्ने, र गुनासो भएका ठाउँमा फिल्डमा पुगेर त्यो काम समाधान गर्ने गरेका छौ । यदाकता हामीले काम गर्दै गर्दा कतै केही समस्या भएको भएमा आगामी दिनहरुमा हामीबाट भएको कमी कमजोरीलाई सच्चाउने छौ । 


    तेस्रो आँखा