वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विरेन्द्रकुमार शाहसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष शाहसँग तेस्रो आँखाका सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
जनताहरुलाई गरेको बाचा अनुसार काम भई रहेको छ । तुलसीपुरको बसपार्क क्षेत्र पहिले भन्दा अहिले धेरै व्यवस्थित बनाउन सफल भएका छौ । रानीजरुवाको बाटोलाई वडाको गौरबको आयोजनाको रुपमा अगाडी सारेर बाटो बनाएका छौ, जसले गर्दा स्थानीयसँगै यात्रुहरुलाई सहज भएको छ । त्यसका साथै मानिसका आधारभुत आवश्यकता र साना साना काम गरेर सहजता दिने प्रयास गरिरहेका छौ । न्युनतम आय भएका, दुईछाक खान नपुग्ने, ससाना बिरामी हुँदा समेत औषधि उपचार गर्न नसकेकाहरुलाई वडाबाट नसके व्यक्तिगत रुपमा हाम्रो टिमले सहयोग गर्दै आएको छ । चुहिने छानोमा बस्दै आएकालाई पनि छानो बनाउन सहयोग गरेका छौ । तुलसीपुरको सबै वडामा स्वास्थ्य चौकी थियो, हाम्रो वडामा थिएन, धेरै प्रयासपछि स्वास्थ्य केन्द्र स्थापना गर्न सफल भएका छौ । मर्ज हुँदै गरेको जनश्रमिक विद्यालय हामीले मर्ज नगराउने हिसावले विद्यार्थी बढायौं, उक्त विद्यालयमा हामीले व्यक्तिगत पैसा खर्च गरेर त्यहाँका गरिब परिवारका बालबालिकाहरुलाई पढ्नकोलागि सहजता बनाएका छौ । तर काम भन्ने कुरा कहिले पुरा हुँदैन रहेछ । जनताहरुले हामीले बोलेको भन्दा पनि धेरै आशा गर्नु भएको हुन्छ, त्यसकरणले पनि उहाँहरुले सोचे अनुसार काम पुरा हुन नसकेको हो । तर हामीले जनताहरुलाई चुनावको समयमा वडालाई शुसासन र भ्रष्टाचार मुक्त वडा बनाउँछौ भनेका थियौं, त्यो काम हाम्रो वडामा भएको छ, त्यसकारण पनि हामी खुशी छौ । विकासको काम त जनताहरुले चाहेअनुसार गर्न सकेका छैनांै, तर म लगायत हाम्रो टीम सकेसम्म जनताहरुको चाहनाअनुसार काम गर्न प्रयासरत छौं । तर तुलसीपुर उपमहानगरपालिको मुटुका रुपमा हेरिने ५ नं. वडा कति व्यवस्थित हुनुपर्ने हो, उपमहानगरपालिका पनि यही वडामा छ, बजार क्षेत्र पनि यही भएकाले जति व्यवस्थित हुनु पर्ने हो, त्यो भएको छ या छैन्, सबैलाई थाहा छ । जुन पुर्वाधार तयार हुनु पर्ने हो यहाँ, त्यो २५–३० प्रतिशत मात्रै भएको छ । बजेटको समस्याले पनि यस्तो भएको हो । सिंह दरबारको अधिकार वडालाई भनेपछि पैसा त खासमा वडामा आउनु पर्ने हो, १०÷१५ करोड रुपियाँ आएको भए हामीले अलि राम्रोसँग काम गर्न पाउने थियौं । हामीलाई अधिकार पनि दिइयो, तर बन्धुक दिएर गोली दिइएन, जसका कारण विकासका काम गर्न समस्या भएको हो । त्यसैले पनि जनताहरुलाई बाँचा गरे अनुसार काम नभएको हो ।
२- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागि गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?
हामी वडाध्यक्ष र सदस्यहरु फरक पार्टीबाट आएका छौ, तर निर्वाचित भएर आएपछि यहाँ पार्टीको कुरा गर्नु हुँदैन, हामी एउटै परिवारका हौं । कहिलेकाँही संगै बस्दा गुनासाहरु आउँछ, यो स्वभाविक कुरा हो । कहिले कसैको के कुरामा चित्त बुझ्दैन, सबैको चित्त बुझाउन त कसैले पनि सक्दैन । आफ्नै घरमा त छोराछोरीको चित्त बुवा आमाले बुझाउन सक्दैनन् भने यहाँ आएर सबैको चित्त बुझ्ने कुरा हुँदैन । हाम्रो वडामा पनि कहिलेकाँही वडासदस्यहरुबाट चित्त नबुझेका गुनासाहरु आउँछन् । तर हामीले चित्त नबुझेको कुरामा छलफल गरेर मिलेर अगाडी बढेको अवस्था छ ।
३-वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?
भनेअनुसार बजेटको व्यवस्था भएमा तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट सिटीको अवधारणाअनुसार बजारलाई व्यवस्थित गर्न मन छ । बाटाहरु तहसनहस छ, बाटो चौडा बनाउन सकेका छैनौं । दृष्टि विहिन र आपांगता भएका व्यक्तिहरुलाई बजारमा हिड्न एकदमै समस्या भएको छ । उहाँहरुलाई हिड्नकोलागि छुट्टै ट्याक बनाउने ईच्छा छ र त्यसकोलागि पहल पनि गरिरहेका छौ । पहिले हामीले तुलसीपुर बजारलाई हर्न निषेधित क्षेत्र घोषणा गरेका थियौं । त्यही अनुसार फेरी बजार क्षेत्रलाई शान्त बनाउने मेरो ईच्छा छ । राम्रो बाटो लगायत हरेक कुराहरु स्टिममा भएको हेर्न मन छ, त्यसका साथै सुरुमा आउँदा हामीले बजार एरियामा फ्रि वाइफाई राखेका थियौं, बजेट अभावले अहिले त्यो रोकिएको छ । त्यसलाई फेरी निरन्तरता दिने ईच्छा छ । अहिले तुलसीपुर बजारमा बाहिरबाट आउँने बटुवाहरुकालागि शौचालयको व्यवस्था छैन । शौच गर्नकोलागि मान्छेले होटलमा गएर नास्ता खानुपर्ने बाध्यता छ । त्यसलाई सहज बनाउन म लगायत मेरो सम्पुर्ण टिमको चाहना हो । तर बजेट अभावले गर्दा हामीले यो काम पुरा गर्न सकेका छैनौं । तर प्रयासरत छौ, पहल पनि भई रहेको छ ।
४-जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
जनताका गुनासोहरु कहिलेकाही आउँछ । मैले के भन्छु भने अनावश्यक बढाई चढाई कसैको गर्नु हुँदैन । बरु वडाबाट केही कमीकमजोरी भएको छ भने आउनुस्, गाली गर्नुस्, जनताहरुले जति कचकच गर्नुहुन्छ हामीलाई पनि काम गर्न सहज हुन्छ । गरेका बाचाहरु हामीले विर्सिएको भए पनि सम्झिएर जनताहरुको काम गर्नु हाम्रो दायित्व पनि हो । तर कहिले काही हामीले पुरा गर्नै नसक्ने गुनासोहरु आउँछन्, एलानी जग्गा मेरो नाउमा लेखिदिनुस् भन्ने गुनासो आउँछ, त्यो हाम्रो अधिकारको कुरा होईन् । अधिकार भन्दा बाहिरको काम गरेर हामी जेल जानु पनि छैन् । त्यसका साथै प्रायजसो मेरो ठाउँकोलागि बजेट दिनुस् भन्ने कुरा आउँछ, त्यो हामीले कति दिन सक्छौ, हामीले कतिसम्म गर्न सक्छौं, त्यही अनुसार दिईरहेका छौ । त्यसका साथै वडावासीहरुलाई कुनै समस्याले गर्दा पालिकामा जाने, अदालत र सिडियो कहाँ जाने अवस्थामा हामी आँफैले सल्लाह–सुझाव दिने गरेका छौं । कहिलेकाँही वडामै वकिल लगायतलाई बोलाएर जनताहरुलाई सहजता हुनेगरि उहाँहरुको समस्या समाधान गर्नेतर्फ लागेका छौं । कहिकतै जान÷अन्जानमा तलमाथि हुनसक्छ, तर जतिपनि सेवाग्राहीहरु आउनु हुन्छ उहाँहरुलाई सहज सेवा दिएका छौं । यहाँ नभएका कामहरु बाहिर गएपछि पनि सहयोग गरेका छौं ।
५- सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समयसीमा छ । त्यसकोनिम्ति तपाईको तयारी के छ ?
मलाई त सन २०३० सम्ममा दिगो विकासको लक्ष्य पुरा होला जस्तो लागेको छैन् । हामीले दिगो विकासकोलागि तयारी गरेर मात्रै पनि हुँदैन, काम पनि पुरा हुनु पर्नेहुन्छ । तर यहाँ मुख्य कुरा त बजेटले नै दिगो विकासको लक्ष्य पुरा गर्न समस्या गर्छ भने खिचातानीले पनि यसमा असर गर्छ । संघ र प्रदेश सरकार ६ महिना वर्ष दिनमा परिवर्तन हुन्छ । नेताहरु नै एक अर्काको खुट्टा तान्नमा लागेको पाइन्छ । जब माथि नै विग्रिएको छ भने तल्लो स्तरमा पनि त्यही समस्या हुन्छ । केन्द्र, प्रदेश सरकारले गर्दा नै स्थानीय तहमा पनि समस्या गरिरहेको छ । त्यसकारण पनि यो ६ वर्षको अवधिमा दिगो विकासको लक्ष्य पुरा हुँदैन । हामीले दिगो विकासको लक्ष्य प्राप्त गर्नकोलागि योजना बनाए पनि बजेट नै नभए पछि त पुरा हुने कुरै भएन ।
