वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले शान्तिनगर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओपेन्द्रबहादुर रावतसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष रावतसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामीले चूनावमा जनताहरुसँग बाचा गरेअनुसारको काम गर्ने भनेर आएका हौ । हामी आइसकेपछि बाचा गरेको सबै काम गर्न नसकेपनि जनताहरुलाई दिएको बाचाअनुसार काम गरिरहेका छौ । हामीले बाचा गरेको काम आफ्नो कार्यकालमा पुरा गर्ने तयारीमा लागि परेका छौं । हामीले जनताहरुसँग विकास निर्माणका कुराहरु जस्तै, खाने पानीको समस्या समाधान गर्ने, बाटोको समस्या समाधान गर्ने, शिक्षा, स्वाथ्यको क्षेत्रमा काम गर्ने भनेका थियौं । अहिले ति काम पनि भईरहेका छन् । अहिले काम गरेको प्रतिफल आउँने क्रम जारी छ । पहिलेको तुलनामा हामी आएसँगै जनताहरुलाई धेरै कुरमा सहजता दिएका छौं ।
हामी आएपछि ढोरेनी रगैचा सिंचाई आयोजनाको काम सम्पन्न गर्न सफल भएका छौ । काशीपुर पुरानो सुन्धौली कुलोको योजनाको काम बाँकी छ । यो वर्ष लुम्बिनी प्रदेश सरकारले १० लाख बजेट दिएको छ । त्यही बजेटले काम सुरु भएको छ । यो योजना सम्पन्न गर्नकोलागि हामीलाई ५० लाख बजेट चाहिन्छ, त्यसको जोहो गर्ने प्रयासमा छौ । हामीले चुनावको समयमा बाचा गरेका साना आयोजनाको काम धेरै जसो सम्पन्न गरेका छौं । तर केही ठुला योजनाहरुको बाचा गरेअनुसार पुरा गर्न केही कठिनाई भएको छ । हामीले वडामा पालिका स्तरिय खेलकुद मैदान बनाउने सोचेका छौं, खेलकुद मैदान बनाउछौं भनेर जनता अझबढी युवाहरुलाई आश्वासन दिएका थियौं । चुनाव जितेसँगै खेलकुल मैदान बनाउनकोलागि डिपिआर तयार पारेका छौ । बजेको लागि पहल पनि भईरहेको छ । तर बजेको व्यवस्था नहुँदा समस्या भएको छ । तर हामीले प्रदेश सरकार, संघीय सरकारसँग बजेटको लागि पहल गरिरहेका छौं । हामीले हाम्रो वडामा व्यवस्थित खेलकुद मैदान बनाउँन सकेमा शान्तिनगरसहित बबई र दंगीशरण गाउँपालिकालाई पनि खेलकुदका कार्यक्रम गर्न सहज हुने अपेक्षा लिएका छौ ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
हाम्रो वडामा त्यस्तो खालको गुनासोहरु छैन् । किन भने म लगायत पाँच जना जनप्रतिनिधिहरु छौं, वडाका हरेक काम गर्दा पाँचैजनाको उपस्थितीबाट गर्दै आएका छौं । हरेक टोलमा हाम्रो सदस्यहरु जानुहुन्छ उहाँहरुले समाजबाट ल्याएका समस्या र आवश्यकताको बारेमा हामी पाँचै जना जनप्रतिनिधि लगायत टोल विकास संस्था, राजनीतिक दलसहित गाउँका अगुवा, पदाधिकारीहरुसँग छलफल गरेर अगाडी जाने भएकाले हाम्रो वडामा त्यस्तो खालको गुनासोहरु आएका छैनन् । हामीले जहाँ तत्कालै गर्नु पर्ने कामको लागि बजेट पनि दिँदै आएका छौं ।
३- वडाको समग्र समृद्धिका लागि तपाईका भावी योजनाहरु के छन् ?
हाम्रो वडाका अधिकाँश जनताहरु कृषि पेशामा निर्भर हुनुहुन्छ । म स्वयं पनि कृषि पेशामा संलग्न कृषकको छोरा हुँ, त्यसैले मैले पहिलो प्राथमिकता कृषिलाई दिएको छु । वडालाई तरकारी खेतीमा आत्म निर्भर बनाउने मेरो योजना छ । तरकारी खेति गर्नकोलागि सिंचाईको आवश्यकता पर्ने भएकाले प्रत्येक गाउँ, टोलमा पानीको मुहानहरुको व्यवस्थापन गरेर सबै वडाबासीलाई तरकारी खेतिबाट आयआर्जन गर्न तर्फ लगाउने सोच छ । यो वर्षदेखि म सिंचाइको काममा बृहत तरिकाले लागेको छु । कतिपय ठाउँमा पानी भए पनि त्यहाँ लिफ्ट सिंचाई गर्नुपर्ने, कहीँ कतै पाइपको व्यवस्था नभएको ठाउँमा पाइपको व्यवस्था गर्न लागि परेको छु ।
त्यसको साथसाथै शिक्षामा पनि मैले जोड दिएको छु । शिक्षामा आमूल परिवर्तन गर्ने अठोटका साथ म अगाडी बढेको छु । गाउँपालिकाको म सामाजिक विकास समितिको संयोजक भएका कारण पनि मै आफ्नै वडाबाट शिक्षालाई गुणस्तरिय बनाउन तर्फ लागेको हुँ । त्यसको फल स्वरुप शिक्षामा केही सुधार आएको अवस्था छ । शिक्षाको अवस्था सुधार गर्नकोलागि वडाका जनप्रतिनिधि मात्रै नभएर वडाका राजनीतिक दलहरुलाई पनि समेटेर के गर्दा शिक्षाको अवस्था सुधार गर्न सकिन्छ भनेर वडामै उहाँहरुलाई बोलाएर छलफल गर्दै, उहाँहरुको सुझावको आधारमा काम गर्दै आएको छु ।
४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
मान्छेको ईच्छा आकाँक्षा असिमित हुँदो रहेछ । जनताहरुको सबै गुनासोहरु सुनेर उहाँहरुको ईच्छा आकाँक्षा पुरा गर्न त सकिदैन् रैछ । तर पनि उहाँहरुको अहिलेको आवस्यकता के हो, तत्कालै समाधान गर्नु पर्ने विषय के छन्, म आफै पनि उक्त स्थानमा पुगेर उहाँहरुको गुनासाहरु सुनेर उहाँहरुलाई परेको समस्याहरु समाधान गर्न तर्फ म लगायत मेरो टिम लागि रहेको छ ।
५- सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सकनुपर्ने समय सीमा छ । त्यसको निम्ति तपाईहरुको तयारी कस्तो छ ?
सन २०३० सम्ममा दिगो विकासका लक्ष्यहरु पुरा हामी प्रयासरत नै छौं । त्यसकालगि वडा कार्यालय र गाउँपालिकासँग सहकार्य गरेर तयारी गर्नुपर्ने हुन्छ । दिगो विकासका विधि विधानलाई टेकेर गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, हाकिम सावसँग सहकार्य गरेर अगाडी बढाउने तयारी गरिरहेका छौं ।
