काठमाडाैं,१३ फागुन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र एमसीसी पास गर्न नयाँ बाटो अवलम्बन गर्ने भएका छन् । एमसीसी सम्झौता अनुमोदन पनि हुन दिने र गठबन्धन पनि नटुटाउने बैकल्पीक बाटो संसद बहिष्कार गरेर सहयोग गर्ने नेताहरुबीच सहमति भएको छ ।
एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि निर्णयार्थ पेश गर्दा पास हुने वातावरण बनाउन संसद बहिष्कार गर्ने छन् । उनीहरूले यो जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् ।
‘अहिले गठबन्धन जोगाउनै पर्ने भएकाले एमसीसी अनुमोदनका लागि निर्णयार्थ प्रस्तुत हुँदा हामीले बहिष्कार गरेर सहयोग गर्नुपर्ने भयो’ माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूलाई यो जानकारी गराइसकिएको छ । सम्भवतः संसदको आगामी बैठकमा एमसीसी अनुमोदन हुन्छ ।’
माओवादी केन्द्रको शुक्रबार बसेको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले पनि गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको छ । ‘गठबन्धन जोगाउन अन्तिमसम्म कोसिस गर्ने भनेको मतदानमा सहभागी नहुने भनिएको हो । अब माओवादी र एकीकृत समाजवादीले एमसीसीको विरुद्धमा भाषण गरेर बहिष्कार गर्ने छन’ एक नेता भन्छन्, ‘कांग्रेस, जसपा र लोसपाले पक्षमा मतदान गर्नेछन्, एमालेले वेल घेर्छ, त्यसो हुँदा एमसीसी पास हुन्छ, गठबन्धन जोगिन्छ ।’
