वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का वडाध्यक्ष प्रेमनाथ योगीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष योगीसँग तेस्रो आँखाकी सह-सम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
काम भनेको बिस्तारै हुँदै जाने कुरा हुन् । हामीले चुनावमा गरेका कतिपय बाचाहरु पुरा भएका छन् भने कतिपय बाचाहरु पुरा हुन बाँकी नै छन् । हामीले चुनावको बेला वडामा शान्ति, सुरक्षा, शिक्षाको क्षेत्रमा काम गर्छौं भनेका थियौं । अहिले ती कामहरु पुरा भएका छन् । तुलसीपुर १९ को शिक्षा क्षेत्र एकदमै कमजोर अवस्थामा थियो । अहिले शिक्षा क्षेत्रमा सुधार हुँदै गएको छ । शान्ति सुरक्षाको क्षेत्रमा हाम्रै पहलमा छिल्लीकोटमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । तर चुनावमा जनताहरुसँग गरेका बाचामध्ये थुप्रै कामहरु गर्न बाँकी नै छ । हाम्रो वडाका केही बस्तीहरुमा अहिले पनि विद्युत पुग्न सकेको छैन् । त्यो बस्तीमा मैले विद्युत विस्तार गर्छु भनेको थिएँ । तर अहिलेसम्म त्यो काम पुरा गर्न सकेको छैन् । तर यो वर्ष पुरा गर्ने हिसावले प्रदेश सरकार मार्फत पहल गरि रहेका छौं । ती बाहेक बाटो बनाउने, नाला बनाउने लगायत विकास निर्माणको कामहरू क्रमागत रुपमा भइरहेका छन् ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?
हाम्रो वडामा यस्तो खालको गुनासोहरु छैन् । यो कुरा तपाई आफैले पनि आएर बुझ्न सक्नुहुन्छ । हामी निरन्तर रुपमा एकआपसमा जिम्मेवारी बाँडफाँड गरेर अगाडी बढिरहेका छौं । वडाबाट हुने हरेक गतिविधिमा हामी सबै जना मिलेर काम गर्दै आएका छौं । हाम्रो वडाको वडाध्यक्ष र वडासदस्यहरुलाई मिलेर काम गरेको देख्नुभयो भने तपाई आफै यति मिलेको वडाध्यक्ष र सदस्य भन्नुहुन्छ । हामीले आफैले त मिलेको छौं भन्छौ नै तर हाम्रा जनताहरुले पनि अहिलेसम्म राम्रो गर्नु भएको छ, तपाईहरु मिलेर काम गर्नु भएको छ भनेर प्रशंसा गर्नुहुन्छ ।
३- वडाको विकट बस्तीमा बाटो पुऱ्याउनेदेखि स्वास्थ्य र युवाहरुलाई स्वरोगार बनाउनेतर्फ के कस्ता काम गर्नुभयो ?
सबै कामहरु गर्नको लागि आर्थिक नै चाहिने रहेछ । आर्थिककै कारण धेरै कामहरु चाहेर पनि गर्न नसकिएको अवस्था छ । तर हामी निर्वाचित भएर आएसँगै सुन्दर खोलादेखि छिल्लीकोट पुग्ने आधा बाटोमा ट्रयाक खोलेका छौं, आधा बाटोमा ट्रयाक खोल्न बाँकी छ । यो वर्ष बाँकी बाटोमा ट्रयाक खोल्ने काम पुरा गर्ने तयारीमा छौं । अहिले उक्त बाटोमा मोटरसाइकहरु जान सकेपनि ठुला गाडीहरु पुग्न समस्या छ । अब बर्खायाम सकिएपछि बाटो बनाउने तयारीमा छौं । त्यसकालागि उपमहानगरपालिकाबाट जेसिवी लगेर ईन्धनको खर्च वडाले बेर्होने योजना छ । तर वडाको बजेटले दिर्घकालिन रुपमा बाटो राम्रो बनाउन सम्भव छैन् । त्यसैले वडाको बाटो राम्रो बनाउनकोलागि केन्द्र सरकार, प्रदेश सरकारसँग बजेट माग गरेका छौं । जसकालागि सबै राजनीतिक दलहरुको प्रतिनिधि टोली प्रदेश सरकारमा गएर बजेट माग गरेका छौं । प्रदेश र केन्द्र सरकारले बजेट दिएमा यो बाटो बाह्रैमास सञ्चालन गर्ने खालको बनाउने योजनामा छौं ।
स्वास्थ्यतर्फ हामीले छिल्लीकोटमा टिनको छाना लगाएको जीर्ण भवनमा रहेको स्वास्थ्य भवनलाई व्यवस्थित गरेका छौं । करिब ७० लाख बजेटमा नयाँ भवन बनिरहेको छ । अबको एक वर्षमा नयाँ भवनबाट सेवा दिने हाम्रो लक्ष्य छ । त्यसैगरी तोप्पापानी स्वास्थ्य चौकीमा खानेपानीको एकदमै समस्या थियो । हामी आएसँगै त्यो समस्या समाधान भएको छ । अहिले पाँचलाख बजेट छुट्याएर ट्रसको पनि व्यवस्था गरेका छौं । रोजगारीतर्फ हामीले युवाहरुकोलागि भने जस्तो काम गर्न सकेका छैनौं । कहिले काही लक्षित वर्गबाट हुने तालिमहरु दिँदै आएका छौं तर बजेट अभावकै कारण ठुलो कार्यक्रम गर्न सकेका छैनौं ।
४- तपाईको वडा पर्यटकीय हिसावले सम्भावना बोकेको वडा हो । पर्यटक भित्र्याउनकोलागि वडाको के कस्ता योजनाहरु छन् ?
तपाई भने जस्तै १९ नं। वडा दाङकै पर्यटकीय सम्भावना बोकेको वडा हो । त्यसमा छिल्लीकोट त झनै धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलका रुपमा परिचित छ । उक्त क्षेत्रमा अझ धेरै पर्यटकहरु भित्र्याउनकोलागि हामीले अझै थुप्रै कामहरु गर्न बाँकी छ । त्यहाँ जीप लाइन सुचारु गर्नेदेखि एक वर्ष पहिले प्याराग्लाईडिङ उडाउने भनेर परीक्षण पनि गरेका थियौं । प्याराग्लाईडिङ परीक्षण पनि सफल भएको अवस्था छ । त्यसका साथै स्यालापानीदेखि छिल्लीकोटसम्म केबुलकार सञ्चालन गर्न सकेमा छिल्लीकोट पर्यटक आकर्षणको केन्द्र बन्न सक्छ । तर अहिले दुई महिना भयो छिल्लीकोटमा गाडी पुग्न सकेको छैन् । त्यसकारण पहिलो काम बाह्रै महिना छिल्लीकोटमा गाडी चल्न सक्ने बाटो बनाएमा हामीले उक्त क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा चिनाउन सक्छौं की भन्ने हामीलाई लागेको छ । अहिले त्यही अनुसार अगाडि बढेका छौं ।
५- जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले जनताहरुको जनगुनासो कत्तिको सुन्नु हुन्छ ?
सबै काम वडाले गर्छ अथवा वडाध्यक्षले नै गर्छ भन्ने आम जनताहरुको बुझाई छ । तर हामीले मात्रै चाहेर हुँदैन रहेछ । हामीले पनि हाम्रो वडा राम्रो बनाउछौं भनेर धेरै सपनाहरु देखेका छौं । अहिले वडामा जति सेवाग्राहीहरु आउनुहुन्छ उहाँहरुलाई सहज रुपमा सेवा दिने व्यवस्था गरेका छौं । जनताहरुको आशा भरोसा भनेकै वडा भएकाले हामीले टोलका अध्यक्षहरुलाई राखेर उहाँहरुको गुनासोहरु सुन्ने कामहरु गर्दै आएका छौ । जनताहरुमा निरासा ल्याउने काम हामीबाट भएको छैन्, उहाँहरु खुशी नै हुनुहुन्छ ।
