काठमाडाैं,१६ फागुन । प्रतिनिधिसभाको आइतबारको बैठकले अमेरिकी सहयोग सम्झौता 'एमसिसी' अनुमोदन गरेपछि अब यसअन्तर्गतको परियोजना अघि बढाउन बाटो खुलेको छ।
सम्झौता पारित भएसँगै नेपालले आगामी पाँच वर्षभित्र अमेरिकी सरकारबाट ५० करोड अमेरिकी डलर अर्थात् झन्डै ६० अर्ब रूपैयाँ अनुदान सहयोग प्राप्त गर्नेछ। उक्त अनुदान नेपालको विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतमा खर्च हुनेछ।
एमसिसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च हुनेछ। यसअन्तर्गत नुवाकोट, तनहुँ र परासीमा ४०० केभी क्षमताका तीन नयाँ सब-स्टेसन निर्माण हुने छन्। काठमाडौंको लप्सेफेदीबाट सुरू हुने प्रसारण लाइन नुवाकोटको रातमाटेबाट मकवानपुरको हेटौंडा जोडिनेछ। रातमाटेबाटै तनहुँको दमौली हुँदै परासी र त्यहाँबाट भारतको सीमासम्म पुग्नेछ।
झन्डै ३१५ किलोमिटरको यो प्रसारण लाइनमा एमसिसीको पैसाबाट ८५० वटा टावर बन्ने छन्। त्यस्तै, एमसिसीको ५ करोड २० लाख डलरले पूर्वपश्चिम राजमार्गको धानखोला, भालुवाङ हुँदै लमहीदेखि शिवखोलासम्मको सडक स्तरोन्नति गरिनेछ। यो सडक खण्ड झन्डै ७७ किलोमिटर छ।
