काठमाडौं २६ कात्तिक । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरूलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ ।
दिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।
सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै श्रम स्वीकृति लिएका नेपालीहरूलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य जाँदा एनओसी नचाहिने भएको हो। ‘वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएका नेपालीहरूका लागि दूतावासबाट एनओसी लिन पर्नेछैन,’ सूचनामा उल्लेख छ ।
साथै अमेरिका, बेलायत तथा सेन्जेन मुलुकको भीसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ । रूसमा छात्रवृत्ति वा व्यापार भिसामा जानेहरूले पनि एनओसी लिनुपर्ने सूचनामा उल्लेख छ ।
