वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष शिवानन्द डिसीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष डिसीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो, कति काम हुन बाँकी छ ?
हामीले चुनावमा गरेका प्रतिवद्धता अनुसार काम गरिरहेका छौं । म स्वतन्त्रबाट उम्मेदवार हुँदै गर्दा जनताको बीचमा पहिलो प्राथमिकताका रुपमा पुकार पसलदेखि भोजपुर जोड्ने सडक कालोपत्रे गर्छु भनेको थिए । सबैभन्दा बढी उपयोग यही सडक हुन्छ । तर पनि त्यो बाटो कच्ची छ । म निर्वाचित भएर आएसँगै प्रदेश सरकार र संघीय सरकारबाट बजेट व्यवस्थापन गरेर अहिले करिब पुकार पसलबाट टिक्रा लहलौरासम्म बाटो पीच गर्न सफल भएका छौं । यो वर्ष पनि उक्त बाटोका लागि एक करोडको टेण्डर भएको छ । यो वर्ष उक्त बाटो आधा भन्दा बढी पीच हुँदैछ । त्यसैगरी टिक्रा लहलौराबाट वडा कार्यालय हुँदै भेलाही जोड्ने भित्री सडक कालोपत्रे गर्ने भनेर जोरदार रुपमा आवाज उठाएको थिए । अहिले यो बाटोका लागि एक करोड ६२ लाखमा टेण्डर भएको छ । यो असार मसान्तभित्र उक्त बाटो पक्की हुँदैछ । त्यसैगरी बिजौरीबाट सजनेवाँ हुँदै कोट्यडाँडाँ जोड्ने बाटोका लागि ६४ करोडमा टेण्डर भएर बाटो पीच हुँदैछ । भने वडामा रहेका अन्य बाटोहरुको स्तरउन्नति गरेर पीच गर्ने गरि टेण्डरको काम भई रहेकाछन् ।
खानेपानीतर्फ प्रत्येक वडाबासीको घरमा खानेपानी पुर्याउने हाम्रो लक्ष्य थियो । अहिले कुनै कुनै स्थानमा सार्वजनिक धारा बाहेक सबैको घरघरमा खानेपानीको धारा जडान गर्न सफल भएका छौं । हाम्रो वडाको करिब ९० प्रतिशत जनताहरुले शुद्ध पानी उपभोग गरिरहनु भएको छ । त्यस्तै शिक्षा क्षेत्रमा पनि वडामा रहेको एक मात्र लक्ष्मी माध्यमिक विद्यालयको भौतिक संरचनाको स्तरबृद्धि गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत हामीले विद्यालयमा चारकोठे भवन बनाएका छौं । त्यसैगरी तराई मधेश कार्यक्रम अन्तरगत तीन कोठे भवन र नगरपालिकाबाट थप तीन कोठे भवन बनाउनका लागि बजेट पार्न सफल भएका छौं । विद्यालयमा आइसिटी ल्याब राख्नको लागि प्रक्रिया अगाडि बढाइसकेका छौं ।
स्वास्थ्यतर्फ आफ्नै भवन बनाएर त्यहीबाट सेवा दिइरहेका छौं । सिंचाइतर्फ हामीले ग्वारखोलाबाट सिंचाइ हुने ठुला कुलाहरु मलवारे कुलो, डुरुवा कुलो, मानपुरे कुलो, १६ नं. का विभिन्न भागलगायत वडा नं. १४, १५ सम्म सिंचाई हुने यी कुलो मध्ये म निर्वाचित भएर आएसँगै मलवारे कुलोमा एक करोडको हाराहारीमा लाइनिंगको काम भएको छ । अहिले डुरुवा कुलोमा २२ करोड जतिको टेण्डर भएको छ । यी सबै चुनावमा मैले गरेका प्रतिवद्धताहरु हुन् । यी काम प्रदेश र केन्द्र सरकारबाट पहल गरेर भइरहेका छन् भने पालिका र वडा सरकारको बजेटबाट कल्र्भट बनाउने, ह्युम पाइप राख्ने भत्केका ठाउँहरुमा मर्मत गर्ने, विपद्का बेलामा काम गर्ने क्रम चलिरहेको छ । हामीले जनताहरु माझ जे बोलेका थियौं, त्यो कुराबाट चुकेका छैनौं र आफ्नो कार्यकालमा जे बोलेका थियौं त्यो कुरा पुरा गर्छौ भन्नेमा म विश्वस्त छु ।
२- वडाको समग्र गतिविधि गर्दा जनताबाट निर्वाचित वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन् ?
हाम्रो वडामा यस्तो खालको गुनासो छैन् । मैले धेरै पटक अन्य वडाका सदस्यहरुले हामीलाई वडाध्यक्षले विकास निर्माणका योजना छनोटको प्रक्रियामा खासै सामेल गराउनु हुँदैन भनेको सुन्दा मलाई नै अनौठो लाग्छ । वडाध्यक्ष ज्युहरुले किन यस्तो गर्नु भएको होला जस्तो पनि लाग्छ । तर हाम्रो वडामा यस्तो अभ्यास छैन्, हामीले प्रत्येक टोलका अध्यक्षहरुलाई योजना छनोट गर्ने जिम्मा दिन्छौं । उहाँहरुलाई योजना छनोट गर्दा प्राथमिकीकरण तोकेर ल्याउनुस्, तपाईहरु जुन योजना एक नम्बरमा ल्याउनुहुन्छ हामीले त्यसैलाई पास गछौं भनेका छौं । टोलका अध्यक्षसहित हामीले प्रत्येक टोलमा वडा सदस्यहरुलाई योजना छनोटमा सहभागी हुन जिम्मा दिएका छौं । वडासदस्यहरुको संलग्नतामा टोलबाट एक नम्बरमा परेका योजनाहरुलाई हामीले सर्वसम्मत छनोट गर्ने गरेका छौं । यसो गर्दा कहिकतै हाम्रा सदस्यहरुलाई वडाको गतिविधि सञ्चालन गर्दा सहभागी नगराएको मैले महसुस गरेको छैन् । मेरो वडाका सदस्यहरुले हाम्रो वडाको योजना हामीले छान्छौं भनेर नगरसभामा बोलेको पनि मैले सुनेको छु ।
३- वडामा भौतिक विकास सँगसंगै मानवीय विकासका लागि के कस्ता कामहरु गर्नु भएको छ ?
मानवीय विकासका लागि हामीले खासगरी वडामा आएर हामी बेरोजगार भयौं, हामीले रोजगारी पाएनौं भन्ने युवा समूहहरुलाई पलम्बरको तालिम दिने, महिला दिदीबहिनीहरुलाई डल बनाउने तालिम दिने, ढकिया बुनाइको तालिम दिएर आयआर्जनतर्फ जोड्नका लागि कार्यक्रमहरु गर्दै आएका छौं । हामीले दाङमा रहेको कृष्णसेन बहुप्राविधिक कलेजबाट समन्वय गरेर गत वर्ष करिब ३० जनालाई पलम्बर, इलेक्ट्रिसिटी, डकर्मी तालिम दिन सफल भएका छौं । गएको असारमा महिला दिदीबहिनीहरुलाई डल बनाउने, ढकिया बुन्ने, कृष्टलको सामान बनाउने तालिम दिएर उहाँहरुलाई आत्मनिर्भर बनाउनेतर्फ लागेका छौं । हामीले तालिम दिएका युवा तथा दिदीबहिनीहरुले रोजगारी प्राप्त गर्नु भएको छ । हामीले तालिम दिएका दिदीबहिनीहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण वडाले गर्छ भनेका छौं । त्यसैगरी जेष्ठ नागरिकहरु र बालबालिकालाई मध्यनजर गरेर राप्ती प्रादेशिक अस्पतालबाट डाक्टरहरुको टोली ल्याएर गाउँगाउँमा गएर स्वास्थ्य परिक्षण गरेका छौं । जेष्ठ नागरिकहरुको सुगर प्रेसरको निशुल्क उपचार गर्ने र निशुल्क औषधि वितरण गर्ने काम वडाबाट भएको छ । आउने वर्षको लागि पनि जेष्ठ नागरिकहरुसँग बसेर बजेट विनियोजन गरेका छौं ।
४-तपाईको वडामा सिंचाई र खानेपानीको समस्या छ । यस्को दिर्घकालिन समस्या समाधानका लागि कस्ता योजना अघी सार्नु भएको छ ?
खासगरी सिंचाईको सन्दर्भमा उत्तर भेलाही दक्षिण भेलाही र भितुरियामा परम्परागतरुपमा चलि आएको कुलाहरुमा उहाँहरुको स्वामित्व अथवा उहाँहरुको अधिकार कटौती धेरै पहिले भएको भन्ने बुझियो । ती गाउँहरु सिंचाइबाट बञ्चित भएको जस्तो पाएका छौं । मेरो पहलमा यो ठाउँमा बृहत्त सिंचाईबाट सर्वे भएको छ । लिफ्ट सिंचाईको प्रक्रिया आगाडी बढेको छ । यो वर्ष हिउँदे अधिवेशनमा जसरी पनि काम गर्ने हिसावले त्यहाँ दुईवटा डिप बोरिङको काम अगाडि बढाउने भन्ने छलफल अगाडी बढेको छ । त्यसैगरी रावत गाउँमा पनि लिफ्ट सिंचाईको योजना परेको छ । अब यी सिंचाईलाई व्यवस्थित गर्न सकेमा ती गाउँमा सिंचाइमा राहत महसुस गर्न सक्छौ भन्ने लागेको छ ।
त्यसैगरी टिक्रा लहलौरा, डोक्रेनी, डोक्रेना, फचकलुवा, बीचको लहलौरामा नहरबाट पानी प्रशस्त आउने भएकाले खेतीपातीमा खासै समस्या छैन् । सिंचाइको समस्या हाम्रो वडाको पूर्वी वेल्टमा छ । यो वेल्टमा पनि डिप बोरिङ, लिफ्ट सिंचाईबाट व्यवस्थित गर्ने योजना अगाडी बढाएका छौं । आगामी वर्ष त्यो ठाउँलाई सिंचाइबाट बञ्चित नगर्ने हिसावले योजना बनाएका छौं ।
५-वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के छन् ?
खासगरी चुनावको समयमा जनताहरुको बीचमा जाँदै गर्दा जे कुरा बोलिन्छ, त्यो कुरा कतिपय ठाउँहरुमा भुलेर जनताहरु सामु जान नसक्ने, आफुले गरेका प्रतिवद्धताहरु पुरा गर्न नसक्दा, जनताहरुको बीचमा बोल्न नसक्ने अवस्था पनि आउँछ । तर मलाई जनतासँग गरेका बाचा पुरा गर्न सकिदैन की जस्तो लाग्दैन् । साँच्चिकै इच्छाशक्ति हुने क्रियाशील र जुझारु भएर आफ्ना योजनाहरु अगाडी बढाउने हो भने योजनाका कार्यक्रमहरु पार्न सकिदो रहेछ भन्ने कुरामा म विश्वस्त छु । जहाँसम्म वडाको समृद्धिको कुरा छ । तुलसीपुरको संस्कृति कस्तो भयो भन्नुहुन्छ भने यो राजनीतिक विषय वस्तु पनि होला । तुलसीपुरमा संस्थागत रुपमा कसरी भ्रष्टाचार गर्न सकिन्छ, र उपमहानगरपालिकालाई कसरी सिध्याउन सकिन्छ भनेर एउटा टिम नै लागेको छ । हामी अहोरात्र त्यो टिमका गतिविधिका विरुद्धमा बोलिराखेको अवस्था छ ।
तुलसीपुरमा खासगरी ठ्याक्कै देखिने योजना के हो त भनेर हामीले मेयर सावलाई प्रश्न गरेका छौं । यो योजना कहिले निर्माण गर्ने ? तुलसीपुरमा साझा नीति सबै वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत मेयर उपमेयर, कार्यकारी अधिकृतलगायतको टीमले तुलसीपुरलाई चिनाउने के चिज गरेका छौं त भन्दा अहिलेसम्म केही गरेका छैनौं । अहिले १६ नं. वडालाई समृद्ध बनाउने योजनामा हामीले एउटा सफलता प्राप्त गर्दैछौं । अहिले हाम्रो वडाको पुलचोक टोल विकास संस्था अन्तरगत जहदागाउँमा हामीले १५ करोड बराबरको चिस्यान केन्द्रसहित बधशाला निर्माण गर्ने प्रक्रिया अगाडी बढाएका छौं । बधशाला निर्माणका लागि टेण्डर भईसकेको छ । उक्त बधशालाबाट दैनिक एक हजार खसी बिक्रि हुने र त्यो बधशालाबाट उत्पादन भएको मासुलाई सल्यान, सुर्खेत, नेपालगञ्ज, रुकुमसम्म पठाउँने केन्द्रकारुपमा त्यसलाई विकास गर्ने भनेर बधशालालाई अगाडि बढाउन खोजेका छौं ।
बधशाला निर्माण भएमा कम्तीमा पनि एकसय घरपरिवारले व्यवस्थित बाख्रा पालन गर्ने र त्यसको बिउपुजी कम्पनीले नै उपलब्ध गराउने र ब्यवस्थित कृषि फर्मका माध्यमबाट बधशालालाई पुग्ने बाख्रा उत्पादन गर्ने र यो ठाउँका स्थानीयको राम्रो आम्दानीको स्रोत बन्ने भन्ने छलफल चलेको छ । अर्को कुरा उक्त बधशालामा चाहिने ५० प्रतिशत कामदार वडाबाटै राख्ने गरि कम्पनीसँग छलफल चलाएका छौं । हामीलाई रोजगार पनि हुने आम्दानीको स्रोत पनि हुने खालको बधशालालाई बनाउन सकेमा दुग्ध लगायत अन्य उद्योगहरु पनि त्यहाँ आउने र ठुलो उद्योगको रुपमा त्यहाँ औधोगिक ग्राम नामाकरण पनि गरिसकेको सन्दर्भमा औधोगिक ग्राम बन्ने र त्यहाँबाट १६ नम्बरलाई समृद्धिलाई यहाँका सहकारी, समूहलाई त्यही उद्योगसँग जोड्ने र त्यो बधशालालाई हामीले नै सञ्चालन गर्ने गरि योजना बनाएको अवस्था छ । त्यसलाई सही ढंगले अगाडी बढाउन सकेमा हाम्रो वडामा ससाना काम गर्नको लागि समस्या पर्दैन जस्तो लाग्छ । पालिकाले पनि यही ठाउँमा बधशाला बनाउने गरी सहमति जनाईसकेको छ ।
त्यसैगरी वडामा रहेका विभिन्न समूहलाई त्यसमा पनि रत्गैमा रहेको मिलिजुली कृषक समूह छ । त्यहाँका किसानहरुले बेमौसमी तरकारी खेति गरेर एक घरले एक सिजनमा तीन लाख बढी आम्दानी गर्नु भएको छ । अहिले त्यसको सिको वडाका अन्य ठाउँका कृषकहरुले गर्दै आउँनु भएको छ । मैले उहाँहरुले जे उत्पादन गर्नु हुन्छ त्यसको बजारी करणका लागि वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको छु । युवाहरुलाई पनि मैले कृषिबाट प्रगति गर्न सक्छौ भनेर उहाँहरुलाई कृषि क्षेत्रमा जोडिन आग्रह गरेको छु । म राजनीतिक दल भन्दा माथी उठेर काम गर्ने व्यक्ति भएकाले मेरो बाँकी कार्यकालमा मेरो वडालाई अन्य वडा भन्दा फरक बनाउने सोचमा छु ।
