वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हुमकान्त सापकोटासँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष सापकोटासँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
खासगरी चुनावी दौरानका बेला जनता सामु जाँदा जुन खालको आश्वासन दिएको थिएँ, त्यो अनुसारको केही काम भएका छन भने केही काम गर्न बाँकी छ । म पहिलेदेखि नै सामाजिक क्षेत्रमा क्रियाशील थिएँ । म निर्वाचित भएमा यी काम गर्न सक्छु भन्ने लागेको थियो । तर मानिसका ईच्छा आकांक्षा बढ्नु, विकासका काम गर्नु यी कहिले पनि गरेर सकिदैन रहेछ । मेरो वडामा पहिलो प्राथमिकता यो कामलाई दिन्छु भन्ने सोचेको थिएँ । तर दुर्भाग्यपूर्ण कुरा तुलसीपुर उपमहानगरपालिकालाई दुई वर्ष दायित्वमै रहेर काम गर्नुपर्ने अवस्था आयो । गएका दुई वर्षमा तुलसीपुर उपमहानगरपालिकाले वडालाई जति बजेट उपलब्ध गराएको थियो, त्यसलाई सहि ठाउँमा, सहि तरिकाले सदुपयोग गर्दा गर्दै पनि जनताका आवश्यकता परिपूर्ति गर्न सकिएको छैन । त्यसमा पनि हाम्रो वडा कर्णाली प्रदेशसँग सीमा जोडिएको वडा पनि हो । वडाको केही घरमा, केही ठाउँमा गोरेटो बाटो पनि पुग्न नसकेको अवस्था छ । यस्तो भन्दा म आफैलाई पनि एकदमै दुख लाग्छ । अहिले पनि वडाका करिव एकसय घरधुरीमा विद्युत विस्तार हुन सकेको छैन । उपमहानगरपालिका भनेपछि सबै वडा सम्पन्न हुनुपर्ने हो । तर हाम्रो पालिकाका जनताहरु यी आधाभूत कुराबाट बञ्चित हुनुहुन्छ यसमा धेरै दुख लाग्छ । हामी आएसँगै हाम्रो तर्फबाट काम गरिरहेका छौं । दुई वर्षको अवधिमा दुई किलोमिटर बाटो बनाइसकेका छौं र यो वर्ष एक किलोमिटर बाटो पुरा गर्दैछौं ।
त्यसैगरी विद्युतको हकमा सबै स्टिमेट निकाल्न लगाएको छु । ससाना समस्या हल गरेका छौं । विद्युत विस्तारको लागि दुई तीन वटा पहाडी बस्तीमा एक करोडको हाराहारीमा बजेट लाग्ने भएकाले वडाबाट मात्रै सम्भव नभएर सबैतिर पहल गरिरहेको छु । अहिले काम भइरहेको छ । अझै थुप्रै काम गर्न बाँकी छ । स्वास्थ्यको क्षेत्रमा पनि पवन नगर स्वास्थ्य चौकीबाट दुर्गम बस्तीहरुका पाँच स्थानबाट गाउँघर क्लिनिक सञ्चालनमा ल्याएका छौं । ठाटीगाउँबाट एउटा सिटामोल किन्नको लागि तीन, चार घण्टा हिड्नु पर्ने वाध्यता छ । त्यहाँका जनताहरुलाई सहज रुपमा सेवा दिन ग्रामिण स्वास्थ्य चौकी बनाउनका लागि कार्यपालिकाबाट निर्णय पारित भएको छ । त्यहाँ ग्रामिण स्वास्थ्य चौकी स्थापना भएमा पहाडी भागका जनताहरुले कम्तीमा पनि राज्यले निशुल्क दिने औषधि सहज रुपमा पाउनु सक्नुहुन्छ ।
खानेपानीतर्फ यहाँको सबैभन्दा ठुलो योजना पवननगर खानेपानी हो । यहाँ झण्डै १४/१५ सय घरधुरीको संख्या छ । त्यसमा अहिले दुई, चारवटा सार्वजनिक बाहेक सबैको घरमा निजी धारा छ । पहाडी भेगहरुमा वार्षिक रुपमा पाइपहरु दिने गरेका छौं । बयालेमा गर्मी समयमा पानीको समस्या भएकाले त्यहाँ लिफ्ट गरेर पानी पुर्याउने योजनामा छौं । त्यसका लागि बजेट पनि छुट्याएका छौं । वडामा रहेका सिंचाईका ७५ प्रतिशत कुला पक्की बनाउन सफल भएका छौं । पानीको स्रात नभएकाले मनकामना मन्दिर नजिक जम्बु चिरामा बृहत्त सिंचाई आयोजनाको सहयोगमा कृत्रिम ड्याम तयार भएको छ । त्यसैबाट लिफ्टिङ गरेर यो वर्ष किसानहरुले तोरीमा सिंचाई गर्नु भएको छ ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
धेरै ठाउँमा यस्तो खालको गुनासो सुनिन्छ तर मेरो वडामा त्यस्तो खालको समस्या छैन् । तपाई आफै पनि सदस्यहरुबाट यो कुरा बुझ्न सक्नुहुन्छ । हाम्रो वडामा तीन वटा पार्टीका पाँचजना जनप्रतिनिधिहरु छौं । तर हाम्रो वडाका सदस्यहरुले समग्र वडाबासीका लागि आवाज उठाउँनुहुन्छ र म स्वयम् पनि त्यहीँ आवाज उठाउने हुँदा अहिलेसम्मको हकमा वडाबाट हुने कुनै पनि काममा सदस्यहरुले मैले जानकारी पाएन भन्ने खालको गुनासोहरु गर्नु भएको छैन् । त्यसैले पनि मेरो वडामा यस्तो खालको समस्या छैन् ।
३- वडामा भौतिक विकाससँसंगै मानवीय विकासका लागि के कस्ता कामहरु गर्नु भएको छ ?
बाटोघाटो, पुल पुलेसालगायत भौतिक विकास त निरन्तर भईरहने विकास हुन् । तर बाटो बनाईयो त्यो बाटोमा हिड्ने मान्छे सही भएन भने त्यसको कुनै अर्थ रहदैन् । बाटो बनेको छ तर त्यहाँका स्थानीयहरुलाई गास, बास, कपासको व्यवस्था छैन् भने त्यसको पनि कुनै अर्थ हुँदैन् । बाटो छ, तर मान्छे शिक्षाबाट बञ्चित छ भने पनि त्यसको के अर्थ । सबैको आआफ्नो ठाउँमा मूख्य भूमिका हुन्छ । तर कस्लाई कुन प्राथमिकतामा राख्ने भन्ने कुरा र वडामा नगरेर नहुने काम जे छ त्यही अनुसार काम गर्ने हो । अहिले पनि हाम्रो तुलसीपुर उपमहानगरपालिका वडा १ मा एउटा मावि, एउटा निमावि र चारवटा प्रावि गरि ६ वटा विद्यालय छन् ।
अब गहिरा सिउरे, अबिधारा, दमारगाउँ हाम्रो वडाको पहाडी बस्ती हुन् । त्यहाँका स्थानीयहरु पहाडबाट तराईमा बसाई सराई गर्ने क्रम बढ्दो छ । ती ठाउँमा केही बस्ती त छन् । तर त्यहाँका बालबालिकाहरु एक, डेढ घण्टा पैदल हिडेर विद्यालय जाने गरेका छन् । ती विद्यालयबाट बालबालिकाहरुलाई अन्य विद्यालयमा राखौं भने कम्तिमा पाँच घण्टा हिड्नु पर्छ । ससाना बालबालिका लामो समय हिडेर विद्यालयसम्म पुग्ने सम्भावना पनि छैन् । त्यहीकारण हामी त्यो ठाउँका विद्यालयलाई त्यही व्यवस्थित गरिरहेका छौं । ३० विद्यार्थी एक शिक्षक, जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने नेपाल सरकारको अवधारणा छ । तर सरकारको अवधारणा लागू गरेमा अबिधारा, गहिरासिउरेमा २० जना विद्यार्थी समेत पुगेका छैनन् । ती विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुन्छ । त्यहाँ प्रधानाध्यापक, एक जना शिक्षक र बालविकासको गरि तीन जनाको दरबन्दी र एक जना कार्यालय सहयोगी छन । अब त्यहाँको प्रअ कहिले काही काम परेर कतै जानु परेमा विद्यालयमा दुई जना शिक्षक मात्रै रहने हो । नेपाल सरकारको अवधारणाअनुसार कार्यालय सहयोगीले विद्यार्थीहरुलाई खाजा बनाएर खुवाउने भन्छ । पानीदेखि घण्टी बजाउने सबै काम गर्नु पर्छ । ती विद्यालयमा वडाबाट एक दुई वटा शिक्षक नराख्ने हो भने विद्यालय नै चल्दैन् । त्यसैले हामीले वडाबाट शिक्षकको व्यवस्था गरेर विद्यालय चलाएका छौं । त्उस्तै हामीले कुमालगाउँ र दमारगाउँ स्कुलमा एक एक जना अंग्रेजी विषय पढाउने शिक्षकको व्यवस्था गरेका छौं ।
त्यसका साथै हामीले छुवाछुतमुक्त समाज त भनिसकेका छौं । तर ग्रामिण स्तरमा यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन् । समाजमा जातीय हिसावले गरिने भेदभावलाई अन्त्य गर्नका लागि हामीले दलित र गैर दलितबीचको अभिमुखीकरण कार्यक्रम चलाएका छौं । जसबाट दलित र गैरदलित सुरुका दिनमा एउटै टेवल एउटै बेन्चमा बसेरसँगै नास्ता खान हिचकिचाउनु हुन्थ्यो, तालिममा सहभागी भएपछि सहजरुपमा व्यवहार गरेको पाएका छौं । यो कार्यक्रमले हाम्रो वडामा छुवाछुतलाई कम गर्न मद्दत गरेको छ । त्यसैगरी विभिन्न दुर्व्यसनीमा फसेका वडाका बालबालिकाहरुलाई अभिमुखीकरण गर्ने काम गरेका छौं । तर सबै काम गर्नका लागि बजेट नै चाहिने रहेछ । हामीले प्रत्येक वर्ष करिब १७, १८ लाख बजेट विपद्का लागि छुट्याउने गरेका छौं ।
४-जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुबाट कस्ता खालका गुनासाहरु आउँछन्, उहाँहरुको गुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
जनताहरुले गुनासो गर्न आउँने ठाउँ नै वडा कार्यालय रहेछ । वास्तवमा मेयर सांसदसम्म त अलिकति बुझ्ने मान्छे मात्रै जानुहुन्छ । तर वडा सरकार भनेको मान्छे लत्रिदै, घिस्रिदै, गोजीमा एक रुपैयाँ नभए पनि पैदल यात्रा गरेर यहाँ आइपुग्नुहुन्छ । मान्छे अहिले कस्तो भईसक्यो भने आफुलाई सानो औषधि उपचारको समस्या पर्यो भने पनि स्थानीय सरकार चाहिन्छ । बाटोमा ससाना खालडाखुल्डी पर्यो भने राज्यले हेरेन भन्नुहुन्छ । अर्को समस्या जहाँ बाटो छैन् त्यहाँ ट्र्याक चाहिन्छ, जहाँ ट्र्याक छ त्यहाँ ग्राभेल चाहियो, जहाँ ग्राभेल छ त्यहाँ नाला चाहियो, जहाँ नाला छ त्यहाँ पीच चाहियो भन्ने माग गर्न वडामा आउनुहुन्छ । यो मानवीय आवश्यकता र स्वार्थ पनि हो । यो स्वार्थ सबैमा हुन्छ । उहाँहरु वडामा किन आउँनुभयो, किन माग्नुभयो, किन यस्तो भन्नुभयो भन्ने कुराको बारेमा जवाफ दिने स्थानमा हामी छौं । उहाँहरुले झकझकाउने हामीलाई नै हो । हामीले नगरलाई, प्रदेश सरकार, केन्द्र सरकारलाई झकझकाउने हो । त्यो जिम्मा जनताहरुले हामीलाई दिनु भएको छ । त्यस कारण जनताहरु हामी कहाँ गुनासाहरु लिएर आउनुहुन्छ । हामीले उहाँहरुलाई किन आउनुभयो भन्ने कुरा पनि हुँदैन्, हामीले जनताहरुलाई गुनासोहरु लिएर वडा ५० पटक वडा कार्यालय आउनुस् तर चोकमा बसेर यो भएन त्यो भएन भनेर कुरा नगर्नुस् भन्ने गरेका छौं ।
५-वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के छन् ?
हामीले योजनाहरु छनोट गर्दा होस् वा आवश्यकताहरु राख्दा के के काममा राख्ने त, यो वर्ष नगरि नहुने काम के छ ? आगामी वर्ष कुन काम गर्ने ? कहिले काही भैपरि आउने समस्या के हो थाहा हुँदैन् । तर हामीले के गरेका छौं भने जुन बाटोहरुमा नाला भईसकेको थियो, त्यसको लागि संघ र प्रदेश सरकारसँग अनुरोध गरेर पिच गर्ने काम गरिरहेका छौं । जुन ठाउँमा नालाहरु थिएन, त्यहाँ नाला बनाउने काम हुँदैछ । जहाँ बाटोको ट्र्याक खोलिएको थियो त्यहाँ वडाले काम गर्दै आएको छ । हामीले वडामा नगरि नहुने विकास के हो ? अर्को वर्ष कुन काम गर्दा ठिक हुन्छ, त्यही अनुसार काम गर्दै आएका छौं ।
