• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बीर बहादुर बिक)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बीर बहादुर बिक)


  • 5.6K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 8.6K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बीर बहादुर बिक)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका  वडा नम्बर ३ का वडाध्यक्ष बिर बहादुर बिकसँग पाँचवटा प्रश्न सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष बिकसंग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंंश ।

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    जनतासँग हामीले निर्वाचनका क्रममा घरदैलोमा जाँदै गर्दा चुनाव जितेमा हाम्रो वडाको समस्यालाई समाधान गर्छाैं भनेर प्रतिवद्धता गरेका थियौं । खासगरी हामीले चुनावको समयमा जनताहरुसँग शिक्षा, स्वास्थ्य, कृषि र सडकलगायतका पूर्वाधारहरुमा काम गर्छौ भनी प्रतिबद्धता गरेका थियौं । शिक्षाको अवस्था हेर्दा हाम्रो वडामा ८ वटा विद्यालय छन, ती मध्ये २ वटा मावि, २ वटा निमावि र ४ वटा प्रावि तहका विद्यालयहरु छन । उक्त विद्यालयहरुमा हिजोको भन्दा आज शिक्षालाई गुणस्तरीय बनाउने काममा अगाडि बढेका छौं । हामीले वडाको तर्फबाट कक्षा १ देखि ५ सम्मका प्रावि तहमा अंग्रेजी माध्यमबाट पढाइ सञ्चालन गरेर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा पु¥याउने तरिकाले काम गरिरहेका छौं ।

    तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ३ आफैमा विकट वडा हो । भौगोलिक हिसावले पनि पालिकाको १९ वटा वडा मध्ये सबैभन्दा ठुलो वडा हाम्रो छ । तुलसीपुरका १९ वटा वडामा नगरस्वास्थ्य केन्द्र संचालनमा छन । हाम्रो वडा ठुलो भएकाले हामीले वडामा २ वटा नगरस्वास्थ्य केन्द्र स्थापना गरेका छौं । ती वडा कार्यालय प्रातापकोट र राणागाउँबाट सेवा दिइरहेका छन् । २०७९ सालमा हामीले स्वास्थ्य सेवा आफ्नै भवनबाट दिने प्रतिबद्धता जनताहरु समक्ष राखेका थियौं । त्यसैअनुसार हामीले आफ्नै भवन निर्माण गरि राणागाउँ स्वास्थ्य केन्द्र संचालनमा ल्यायौं । उक्त स्वास्थ्य केन्द्रबाट राम्री, खमारी, राणागाउँ, गहते, हारिकुटी र कुटिलगायत क्षेत्रका नागरिकहरुलाई पायक पर्ने गरि निर्माण गरेर हामीले नागरिक सामु सहजरुपमा स्वास्थ्य सेवा पुर्याएका छौं

    २०७९ मा निर्वाचित भएर आएपछि सडक पुर्वाधारतर्फ गहते खोलामा ३ वटा पक्की पुल निर्माण गरेका छौं । हामीले सबैभन्दा गर्व गर्न लायकको विषय “गहते खोलाको त्रिवेणी घाट, बिषमुरे र बराखालि गरि ३ वटा पक्की पुल निर्माण गर्नु नै हो । भर्खरै हामीले प्रदेश सरकारको ५० प्रतिशत र स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा ७ करोडको लगानीमा पातुखोलाको सिरखोलामा पक्की पुल निर्माण गर्दैछौं । हामी जनताले देख्न र छुन पाइने खालका योजनामा काम गरिरहेका छौं । त्यसका साथै आम तुलसीपुरबासिले नै गर्व गर्न लायकको सिरखोलामा पुल बन्दै छ । मेरो पहिलो कार्यकालमा करिब ७ किलोमिटर सडक  कालोपत्रे गर्न सफल भएको थिए । दोेस्रो पटक निर्वाचित भएर आइसकेपछि १२ सय मिटर सडक कालोपत्रे गर्न सफल भएका छौं । साथै वडामा करिब १५ किलोमिटर सडक कटिङको काम भएको छ ।

    सिंचाइतर्फ हामीले करिब २० किलोमिटर कुलो तथा नहरहरु पक्की बनाउन सफल भएका छौं । अहिले ४ वटा कुलो पक्की बनाउने काम जारी छ । सिंचाइलाई हामी उच्च प्राथमिकता राखेर निरन्तर काम गर्दै आएका छौं । त्यसका साथै शिक्षा क्षेत्रमा मुलभूतरुपमा परिवर्तन गरेका छौं । हामीले हाम्रो वडामा मात्र १६ देखि १७ जना निजी स्रोतबाट शिक्षक राखेर वडाबाट तलब खुवाएर र वडाले शिक्षा सुधारका निम्ति यसपटक सबैभन्दा धेरै लगानी गरेको छ । साथै ८ सय जना विद्यार्थीहरुलाई कक्षा ५ सम्मको किताब र पोसाक निःशुल्करुपमा उपलब्ध गराएका छौं । जो विद्यार्थी आर्थिक रुपमा एकदमै बिपन्न, पिछडिएको, अभिभावकबिहिन छन्, ति बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने उदेश्यले वडाको तर्फबाट पहल गरिरहेका छौं ।

    २-वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईंको वडामा के छ ?

    हाम्रो वडामा यस्तो समस्या छैन । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरुमा २९ जना सदस्य हुन्छन् । जहाँ सुशासन समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, आर्थिक विकास समिति, विधेयक समिति, विषयगत समितिहरु हुन्छन् । त्यस्तैगरी हाम्रो वडामा पनि सबै जना वडा सदस्यहरुलाई आआफ्नो कामको जिम्मेवारी दिएको छु । सुशासन समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समितिलगायतका समिति गठन गरेर चार जना वडा सदस्यलाई कामको जिम्मेवारी दिएको छु । कुनै  जिम्मेवारी नपाएका वडा सदस्यहरुलाई पछि पनि अवसर दिने गरेको छु । हाम्रो वडा विकट वडा भएकाले म नै फिल्डमा जाने र फिल्डबाट फर्केर फेरि वडाको काम गरिहाल्छु भन्ने हुँदैन् ।

    टोल बस्तिहरु टाढा टाढा भएकाले दिन भरि त्यही लाग्ने हुन्छ । यस्तो भएको खण्डमा वडासदस्यलाई वडामा राखेर म फिल्ड जाने गरेको छु । कहिले वडासदस्यहरुलाई फिल्ड पठाएर मैले वडाको काम गर्ने गरेको छु । कुनै विकासका योजनाहरु छनोट गर्न, बजेट विनियोजित गर्दा, अनुगमन÷मुल्यांकन र समस्या समाधान गर्दा वडा सदस्यहरुको बैठक बसेर उहाँहरुको राय र सल्लाहबमोजिम निर्णय लिने गरेका छु । हाम्रो वडामा वडा सदस्यको बैठक महिनामा ३ देखि ४ पटकसम्म बस्ने गरेका छ ।

    ३- वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के के छन ?

    वडाको समग्र समृद्धिका लागि यहाँका बाटो नपुगेको ठाउँमा बाटो पु¥याउने योजना छ । कुनै ठाउँमा एम्बुलेन्स जाने बाटो समेत छैन्, त्यस्तो ठाउँमा एम्बुलेन्स जानसक्ने बाटो बनाउने लक्ष्य छ । कतिपय ठाउँमा विद्युत र खानेपानी पुगेको छैन, उक्त ठाउँमा विद्युत र खानेपानी पु¥याउने तरिकाले वडाको तर्फबाट काम गर्ने कुरा छ । जहाँ जनतालाई समस्या छ र जनताको मुलभूत आवश्यकता छ, जनताले जुन कुराको आवश्यकता महसुस गर्नुभएको छ, उहाँहरुको आवश्यकतामा पर्ने विकास गर्ने कुरा छ । सडकहरुलाई स्तरोन्नति गर्ने, शिक्षालाई गुणस्तरीय बनाउने, नजिकैबाट स्वास्थ्यको पहुँच पु¥याउने र प्राथमिक तहको आवश्यकता पूरा गर्ने कुरामा मेरो ध्यान छ । यो वडालाई विकास निर्माणमा जोड्ने योजना छ । साविक ७ मा खानेपानीको समस्या छ उक्त समस्या समाधान गर्नका लागि हामी निरन्तर रुपमा काम गरिरहेका छौं । बाटोको हिसाबले दोघरेनाउला, प्रातापकोट सडकको स्तरोन्नति गरेर मखनटाकुरी सल्यान जाने राप्ती राजमार्ग छ, त्यसको विस्तारका लागि संघ र प्रदेशमा यो सम्बन्धी पहल गर्ने मेरो यो मुख्य एजेन्डा हो । यो एजेन्डामा म नियमितरुपमा लागिरहेको छु । कृषि क्षेत्रमा पनि हामीले जोड गरेका छौं । निर्वाचन हुँदै गर्दा जनतासँग यो वडाबाट कृषि तथा भेटनरी सेवा संचालमा ल्याउछु भनेर प्रतिबद्धता गरेको थिए । सोही बमोजिम कृषि र भेटनरी सेवा संचालन गर्दै छौं । तत्काल बीउ बिजन र पशु सेवाका लागि प्राबिधिक कर्मचारी राखेर सेवा सुरु गर्दै छौं । 

    ४-पहिलो कार्यालय सिकाइमै बित्यो भनिन्थ्यो ? तपाईंको यो दोस्रो कार्यकाल हो । तर पनि सोचे अनुसारको काम भएन भने गुनासो सुनिन्छ, किन ?

    मान्छेले काम सिक्दै र गर्दै जाने हो । मान्छेले सबै कुरा सिकिसक्यो भनेर कहिले पनि सकिदैन । काम गर्दै जादा कामले काम सिक्दै जाने र कामप्रति ज्ञान बटुल्ने कुरा हो । दोस्रो कार्यकालमा केही समयका निम्ति अलिअलि अन्यौलता छायो होला तर पहिलो कार्यकाल नै सिकाइमै गयो भन्ने कुरामा म सहमत छैन । किनकी पहिलो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा बजेटको समस्या छ । पहिलो भन्दा यो कार्यकालमा बजेटको अभाव भएको मलाई महसुस भएको छ । अहिले पनि हामी काम गर्ने र सिक्ने अभ्यासमा अगाडि बढेका छौं । जति काम गर्याै त्यति काममा म सन्तुष्टि छु । परिणाम पनि राम्रो आइरहेको छ । वडाका आमनागरिकहरु पनि सन्तुष्ट नै हुनुहुन्छ भन्ने मेरो बुझाइ छ । केही गुनासो आउँनु स्वभाविक हो । यो आइरहन्छ पनि । जनताले गुनासो गर्ने ठाउँ नै वडा सरकार हो । गुनासो आउँछन, गुनासो आए भन्दैमा आत्तिनुपर्ने अवस्था छैन । ती गुनासोहरुलाई क्रमशः पूरा गर्दै जाने र कस्ता खालका गुनासो हुन भनेर टिप्ने र कार्यान्वयन गर्दै जाने हो । हामीले पनि त्यस्तै गरेर अगाडि बढेका छौं ।

    ५-वडाको कुनै ठाउँमा बाटो, विद्युत् र खानेपानी नपुगेको अवस्था छ । दीर्घकालीन समस्या समाधानका लागि के कस्ता योजनाहरु छन ?

    २०७४ सालमा म निर्वाचन भएर आउँदा साविक ७ कुटिदेखि माथि विद्युत पुगेको थिएन । अहिले त्यहाँ पहाडको ठाउँ भए पनि एउटा मात्र घरमा भए पनि विद्युत लगेर बालेका छौं । हाम्रो वडामा अहिलेसम्म विद्युत नपुग्नेको ठाउँ २ वटा छ । गोकुलडाँडाँ र खारभोझमा अहिले पनि विद्युत पु¥याउन सकिरहेका छैनौं । जहाँ थोरै बस्ती छ, हामीले विद्युत लिनका लागि छुट्टै टेन्डर गरेर काम गर्न सकिरहेका छैनौं । हामीले हाम्रो वडाको तर्फबाट विद्युतको पोल गाडेका छौ । अझै पनि विद्युतले तार तानेको छैन् । साविकको ७ नम्बरमा पनि निर्वाचन हुनुभन्दा अगाडि खानेपानीको समस्या थियोे । अहिले उक्त ठाउँमा खानेपानी पुर्याउन सफल भएका छौं । बाटोघाटो पहिरोको कारणले, आगलागीका कारणले कुनै दुर्गम ठाउँहरुमा विकास गर्न समस्या छ । तर समग्ररुपमा एकाघर बाहेक अरु ठाउँमा खानेपानी, विद्युत र सडक पु¥याउन पु¥याएका छौं । पूर्वाधार विकास भएका ठाउँमा स्तरोन्नति गर्ने कुरामा चुनौति छ । तर पनि वडाको बजेटलाई सहि तरिकाले प्रयोग गरेर हामीले काम गर्दै आएका छौं ।


    तेस्रो आँखा