• ट्रेण्डिङ्ग :
अन्तर्वार्ता
नेकपा टुट्ने आशंका मलाई सुरुमै थियो, प्रमाणित भयो - वाम विश्लेषक गौतम (अडियाेसहित)

नेकपा टुट्ने आशंका मलाई सुरुमै थियो, प्रमाणित भयो - वाम विश्लेषक गौतम (अडियाेसहित)


  • 9.1K
    SHARES
    • फाल्गुण २३, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    नेकपा टुट्ने आशंका मलाई सुरुमै थियो, प्रमाणित भयो - वाम विश्लेषक गौतम (अडियाेसहित)

    तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएर बनेको नेकपा गत वर्षको फागुन २३ गते खारेज भयो। नेकपा खारेजीको एक वर्ष पुगेको छ। सर्वोच्च अदालतले यो दलको एकतालाई खारेज गरेर एकता गरेका दुवै दललाई  पुरानै आ-आफ्नै हैसियतमा फर्काइदियो। सर्वोच्चको फैसला एउटा विषय, तर एमाले र माओवादी नेकपामा गोलबद्ध हुँदा त्यहाँभित्रको एकता कति बलियो थियो ? यो अर्को महत्वपूर्ण विषय हो। वाम सहकार्यका लागि साझा मञ्चका नाममा वाम घटकहरुको एकताका लागि अभियाननै थालनी गरेका बाम विश्लेषक सुशील गौतमले त यो एकता दिर्घकालिन रुपमा अगाडि बढ्नेमा एकताको निर्णय हुँदा नै न्यून सम्भावना देखिसकेका रहेछन्। कच्चो एकताबाट बनेको नेकपा कुनै पनि बेला टुट्न सक्ने भन्दै उनले आफूले देखेको सम्भावना अन्ततः प्रमाणित भएको बताउँछन्। यसैसन्दर्भमा तेस्रो आँखाकर्मी देवेन्द्र बस्नेतले गौतमसँग वाम एकता र फूटको विगत, वर्तमान र सम्भावनाका विषयमा कुराकानी गरेका छन्।

    images

    नेकपा खारेजीको एक वर्ष पुरा भयो, त्यो एकतालाई विश्लेषण कसरी गर्नुहुन्छ ?

    नेपालको कम्युनिष्ट आन्दोलन फूटको र एकताको लामो श्रृंखलाबाट अगाडि बढ्दै गयो। र नेपालक प्रमुख दुई कम्युनिष्ट पार्टीहरु तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचमा एकता भएपछि नेकपा कम्युनिष्ट पार्टी गठन भयो। त्यो एकता अलिकति नाटकीय रुपमा पनि देखा पर्यो। त्यसलाई लामो गृहकार्य गरिनुपर्ने थियो। अथवा त्यो विश्वासको वातावरण कायम हुनुपथ्र्यो त्यसअनुसार एकता भएको थिएन। तथापी त्यसले खासगरि नेपालमा प्रगतिशिल रुपान्तरण गर्न चाहने शक्तिहरुका लागि थोरै आशाको किरणदेखा परेको थियो। तर त्यो लामो समय सम्म टिक्न सकेन। त्यसका पछाडि सैद्धान्तिक कारण भन्दा पनि खासगरि नेपालको कम्युनिष्ट आन्दोलन भन्दा पनि टड्कारो पक्ष सत्ता र शक्तिको अझ भनौ जुँगाको लडाइको प्रतिफलका रुपमा अथवा प्रतिबिम्बका रुपमा त्यो प्रयास असफल भयो । त्यो असफल भैसकेपछि नेपालका कम्युनिष्ट पार्टीहरुले फेरी पनि एकताका लागि संघर्षका रुपमा अगाडि बढ्न सक्थे। र योबीचमा जे जस्ता परिदृष्यहरु देखा परे, त्यसले नेपालको कम्युनिष्ट आन्दोलनलाई ठूलो स्खलनबाट अगाडि बढ्दैछ भन्ने देखा पर्यो। किन भने पार्टीहरु टुक्रिसकेपछि औचित्य अझ भनौ एकताका लागि पनि उहाँहरुले बलियो औचित्य दिन सक्नु भएन, टुक्रिनका लागि पनि उहाँहले औचित्य दिन सक्नु भएन। खाली गाली गलौज ‘तँ तँ म म’ ,तँ सानो म ठूलो यस्ता निकृष्ट खालका आरोप प्रत्यारोपहरु देखा परे। त्यसले नेपालको वाम प्रगतिशिल आन्दोलनप्रति शुभेच्छा राख्ने अथवा त्यसप्रति समर्थन गर्नेहरुका लागि यो कालखण्ड त्यति उत्साहप्रद देखिएन र अहिले पनि उहाँहरु सैद्धान्तिक, वैचारिक, समाज रुपान्तरणका पक्षमा कम्युनिष्ट आन्दोलनलाई कसरी अगाडि बढाउने, आफ्ना घोषित उदेश्यहरु कसरी पालना गर्ने भन्ने भन्दा पनि एकले अर्कालाई तुच्छ गाली गलौज गरिरहनु भएको छ। यसले कम्युनिष्ट आन्दोलनप्रतिनै वितृष्णा जगाउँछ कि भन्ने मलाई आशंका लागिरहेको छ । 

    नेकपा खारेजीलाई कसरी बुझ्ने ?

    मैले नेकपा खारेजीको समाचार सञ्चार माध्यमबाटै सुने। सुरुमा मैले पनि थोरै आशंकासहित यो एकतालाई जुन आशाको दृष्टिले हेरेको थिएँ, तर असाध्यै आशा त मैले पनि गरेको थिएन। तुलनात्मक रुपमा आशाको दृष्टि थियो नै। त्यसपछि जुन खालका त्यहाँ गतीविधीहरु देखा पर्दै जान थाले, जुन खालका वादविवादहरु देखा परे, जुन खालको महत्वाकांक्षाको लडाइ त्यहाँ देखा पर्यो, जुनखालको पद र प्रतिष्ठाको झगडा त्यहा देखा पर्यो, त्यसपछि मलाई आशा विस्तारै कमजोर हुँदै गयो र एकताको त्यो घटनाले मलाई न दुख न सुख, अर्थात ‘हर्ष न विस्मात’ को रुपमा मैले त्यसलाई ग्रहण गरेँ। मेरो आस्था भनेको आन्दोलनप्रतिको आस्था थियो। शहिदहरुका सपना प्रति आस्था थियो। व्यक्तिका, समूहका आस्थाहरुप्रति आमजनताको सरोकार पनि हुन्न।

    मजबुत एकता हुँदैन भन्ने यहाँको आशंका किन थियो ?

    पहिलो कुरा त, त्यो एकताका बेला एकताका पक्षधरहरुबीच केही सैद्धान्तिक राजनीतिक व्यवहार गत मतभिन्नताहरु थिए। स्कुलिङका सन्दर्भमा पनि माओवादीको स्कुलिङ र एमालेको स्कुलिङ फरक थियो। दोस्रो कुरा, यदी एकताका लागि सिमित नेताहरुले अघोषित रुपमा लेनदेन गरेर, कागजात गरेर अझ भनौँ, गोप्य कागजात गरेर केही व्यक्तिहरुलाई साक्षी राखेर त्यो पनि पदको सन्दर्भमा साक्षी राखेर उहाँहरुले जुन एकता गर्नुभयो। त्यो एकताले मलाई ठूलो आशावादी गराएको थिएन र मलाई यो एकता कुनै बेला टुट्न पनि सक्छ भन्ने लागेको हो, थोरै सम्भावना त मैले देखेँ, तर पनि यो एकता जुनकसुकै बेला पनि टुट्ट सक्छ , यसको जगनै कमजोर छ भन्ने मैले महसुस गरिसकेको थिएँ। जो एकता नाटकीय रुपमा एकता भयो, गोप्य रुपमा कागजात भएको रहेछ, निश्चित अवधिका लागि प्रधानमन्त्री साटफेर गर्ने भन्ने। त्यो हिसावले एकता कमजोर छ भन्ने लागिरहेकै थियो। सुरुमा त त्यो कागजातका बारेमा त मलाई थाहा थिएन, बाहिर प्रकाशमा आइसकेको थिएन। वैचारिक, सैद्धान्तिक विषयहरुलाई जस्तो जनताको बहुदलीय जनवाद, २१ औँ शताब्दीको जनवाद, माओवादका विषयमा थुप्रा नेपालका कम्युनिष्ट आन्दोलनमा बहस छ तर उहाँहरुले एक दुई शब्दहरु मिलाइदिनु भयो, ‘जनताको जनवाद’ भन्ने शब्द मिलाइदिनु भयो। यसर्थ उहाँहरुले ठूलो राजनीतिक, वैचारिक, संघर्षका लागि एकता गरेको हैन, निश्चित रुपमा एउटा निर्वाचन जित्न अथवा सत्ता आफ्नो हातमा लिनका लागि उहाँहरुले एकता गर्नुभएको हो भन्ने थोरै आशंका त्यो बेला पनि थियो र त्यो मेरो आशंका पुष्टि पनि भयो।

    तत्कालीन नेकपा भित्रको बेमेल र खारेजीलाई हेर्ने हो भने आगामी दिनमा कम्युनिष्टहरु एक भएर जान सक्छन् भन्ने सम्भावना देख्न सकिन्छ ?

    निश्चित रुपमा यहाँले सोधेको ठिक हो। किन भने त्यो घटना नेपालको कम्युनिष्ट पार्टीहरुबीचको एकता निकै महत्वपूर्ण थियो। अहिले पनि के आशंका गर्न सकिन्छ भने यस्तो खालको कृत्रिम एकताले लामो समय सम्म एकता टिक्दैन। विचार, सिद्धान्त, दृष्टिकोण, समाज रुपान्तरणप्रतिको प्रतिवद्धता, कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिवद्धताको रुपमा यदि एकता भयो भने टिक्छ, खाली चुनावको जोडघटाउ, कसैलाई पराजित, गर्न कसैलाई जित्न, कसैलाई प्रधानमन्त्री बनाउन, कसैलाई  राष्ट्रपति बनाउन, आपसमा पदको बाँडफाँड गर्न , गोप्य रुपमा लेनदेन गर्न गरिने एकता टिक्दैन भन्ने कुरा यसले प्रमाणित गरेको छ। र आगामी दिनमा पनि यस्तो खालको कृत्रिम एकताले नेपालको कम्युनिष्ट आन्दोलनलाई फाइदा भन्दा नोक्साननै हुन्छ। तथापी वैचारिक रुपमा ,आफ्ना बैचारिक निकटताकाबीचमा एकता स्वाभाविक पनि हुन्छ। तर अब नेपालमा कम्युनिष्ट पार्टीबीचको मजबुत एकता लामो प्रकृया पछि मात्रै सम्भव छ भन्ने मलाई लाग्छ।

    आगामी वाम एकताको सम्भावनालाई वाम कार्यकर्ताहरु कसरी हेर्ने ?  

    जस्तोसुकै अध्यारोमा पनि चाँदीको घेरा हुन्छ भन्छन्। खासगरि वाम प्रगतीशिल शक्तिहरु नेपालमा बलिया होउन्, उनीहरुले सामाजीक रुपान्तरण गरुन् भन्ने एउटा ठूलो तप्का अहिले पनि छ। तर जुन खालका गतिविधीहरु देखा परिरहेका छन्, कम्युनिष्ट आन्दोलनमा आएको स्खलन, नेताहरुको जुँगाको लडाईँ, स्वार्थको लडाइ, यसले आमजनतामा कम्युनिष्टहरु अगाडी बढ्छन् अथवा उदेश्य प्राप्तिका लागि फेरि बलियो एकता गर्छन् भन्ने कुरामा आशंका प्रकट भएको छ र एक किसिमले भन्ने हो भने मैले धेरै कम्युनिष्ट पार्टीका पुरानो पिढीका इमानदार नेता कार्यकर्ताहरुलाई भेटेँ, धेरैमा निराशा, खेद र आक्रोश मैले देखेँ।

    भनेको वामदलहरु सैद्धान्तिक, वैचारिक अजेण्डामा भन्दा पनि पदका लागि लडिरहेका छन् भन्ने यहाँको भनाईको सार हो ?

    सबै वामदलहरुमा सिद्धान्तनै छैन, खाली पदको लडाइमा मात्रै सकृय छन् भन्ने कुरा हैन। तर नेकपाको एकता र नेकपाको विभाजन मुलतः सत्ता, शक्ति र पदका लागि रहेछ भन्ने चाही प्रमाणित भएको छ। 


         

     

     


    तेस्रो आँखा