काठमाडौं, १२ पुस । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आजदेखि दुई दिन बदली, वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज शुक्रबार अपराह्न सुदूरपश्चिमबाट सुरु हुने यो अवस्था आइतबारदेखि मात्रै क्रमिक रुपमा सुधार हुने सम्भावना छ । यसको प्रभावले काठमाडौं उपत्यकामा पनि हल्का वर्षा हुने हुनेछ ।
वरिष्ठ मौसमविद मीन कुमार अर्यालका अुनसार आज अपराह्नदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हिमपातको पनि सम्भावना छ । आज राति भने सुदूरपश्चिमका केही स्थानहरु, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने पूर्वानुमान छ ।
यो प्रणाली क्रमशः पूर्वतिर सर्दै जानेछ र काठमाडौं उपत्यकामा पनि यसको प्रभाव देखिने छ । काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिए ।
‘भोलि शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ अर्यालले भने ।
यो अवस्था आइतबारबाट क्रमशः सुधार हुने देखिन्छ । आइतबार यसको प्रभाव छिटफुट मात्र रहन्छ । आइतबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना छ । बदली पनि अलि बढी पश्चिमतिर केन्द्रित रहने छ ।
यो प्रणालीले जाडो बढाउने छ । त्यसैले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
