काठमाडौं १२ पुस । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्क निवासी जितेन्द्र मण्डल रहेका छन् ।
उनले नक्कली डाक्टर बनेर तीन लाख नगद र सुनका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए । आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए ।
औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ । प्रारम्भिक अनुसन्धान गर्दा सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको छ ।
