तुलसीपुर, १३ पुस । दाङमा छुट्टा छुट्टै दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अवस्था गम्भिर भएको प्रहरीले बताएको छ । शुक्रबार राति ९ बजेको समयमा दंगीशरण ५ बालापुरदेखि पश्चिमतर्फ जाँदै गरेको रा४प ७९८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिदा दुई जना घाइतेका भएका छन् ।
घाइतेमध्ये मोटरसाइकलको पछाडी सवार दंगीशरण ५ सलौरा निवासी ४४ वर्षीय लोकबहादुर विकको अवस्था गम्भिर छ । उनलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि भारतको लखनउ रिफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । मोटरसाइकल चालक ४१ वर्षीय प्रेमप्रकाश विकलाई सामान्य चोट लागेको छ ।
त्यसैगरी शुक्रबार साँझ साढे ६ बजेको समयमा दुधरासमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा६प ६४४२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री दुधरासका ४२ वर्षीय कुलबहादुर वली घाइते भएका हुन् । वलीलाई टाउको र खुट्टामा चोट लागेको छ । उनको तुलसीपुरस्थित राप्ती लाइफ केयरमा उपचार भइरहेको छ ।
मोटरसाइकल र चालक घोराही ८ ढिकपुर निवासी ४० वर्षीय गणेश चौधरीलाई इप्रका तुलसीपुरले नियन्त्रणमा लिएको छ ।
