काठमाडाैं, २४ फागुन। सर्वहारा जनताको मुक्तिका लागि भन्दै तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्याे। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि नेपाली समाजले फरक मोड लियो। समाज रुपानतरण गर्ने भन्दै माओवादी जंगल पस्यो। देशमा संकटकाल लाग्यो। त्यतिबेला परिर्वतनका आवाजहरु बेजाेड रुपमा गुन्जिन थाले। त्यही जनयुद्धको सारथी मध्येकी एक हुन्, नारायणी शर्मा ‘प्रतिक्षा’।
सामन्ती वर्गको साशनलाई ढाल्ने माओवादीको उर्जाशील नाराले नारायणीलाई लोभ्यायो, बन्दुक काँधमा राखेर ‘दुश्मन ढाल्ने’ कसम खाँदै उनको माओवादी सैन्य यात्रा प्रारम्भ भयो। सर्वहारा जनतामाथिको कथित ‘ज्यादती’ संकल्प सँगै नारायणीको बन्दुकको नालभित्र महिलामाथिको विभेदको अन्त्यको संकल्प रुपी ‘बारुद’ भरिएको थियो। उनले बन्दुक बोक्नुको उद्देश्य यो पनि थियो, महिला स्वतन्त्रता र महिला मुक्ति। उनी महिलालाई पुरुष सरह अधिकार प्राप्त होओस् भन्ने चाहिन्थन्, यसर्थ पुरुष सरह अधिकार प्राप्तीको ‘भोक’ थियो उनको सैन्य यात्राभित्र। अनि त, समाजमा व्याप्त असमानता देखेकी उनले महिलालाई मुक्तिका लागि बन्दुक बोक्ने निर्णय गरिन्। र, माओवादीको पहिलो सैन्य छापामारको सुचीमा आफ्नो नाम दर्ज गराईन्। उनी भन्छिन् ‘त्यतिबेला महिलालाई घर बाहिर निस्कनै मुश्किल पथ्र्याे। कामकाज गर्नुपर्छ भन्ने त झन सपना जस्तै थियो। महिलालाई सो निर्णयको अधिकारसमेत थिएन।’ हरेक साना कुरामा पनि विद्रोह गर्नुपथ्र्यो त्यही विद्रोहले मलाई बन्दुक समाउन प्रेरित गर्याे। उनी आफ्नो बन्दुकको नालको सहायतामा महिलालाई त्यो थिचोमिचोबाट मुक्तिदिन चाहन्थिन्।
देश र जनताका लागि बन्दुक बोकेकी उनी पहिलो पटक बन्दुक बोक्दा गर्व महसुस भएको बताउँछिन्। ‘सुरुमा अतिकति डर लाग्यो,’ शर्माले आफ्नो अनुभव सुनाइन् ‘निसाना लगाउन सक्छु की सक्दिन जस्तो लाग्यो, तर हैन परिर्वनतका लागि उठेका हात काप्नु हुन्न भन्ने सोचे अनि पहिलो निसाना लगाएँ।’ बन्दुक समाउँदा मानसिक रुपले नै तयार हुने भएकाले डर भाग्दै जान थाल्यो। ‘पार्टीको निर्देशनसहित हामीलाई यसरी तयार गरिन्थ्यो दायाँबायाँ ध्यान नै जादैन थियो र बन्दुक हान्ने साहस आउँथ्यो,’ उनले भनिन्।
२०५२ फागुन एक गते तत्कालीन माओवादीले पहिलो पटक लडाकु दल गठन गर्याे। ३७ जनाको उक्त दलमा तीन जना महिला थिए। ती तीन जना मध्ये उनी एक थिइन्। त्यसपछि युद्ध तीव्र रूपले सुरू भयाे। साे दलसँग मिलेर उनले लडाईँका विभिन्न योजना बनाउ थिन्। दलले प्रहरी चौकी कब्जा गर्नेसम्मको योजना बनाउथ्याे। यति मात्र होइन उनको नेतृत्वमा सो दलले धेरै प्रहरी चौकी कब्जासमेत गरेको छ। तत्कालीन माओवादीमा त्यतिबेला सेना भने थिएन। २०५४ मा माओवादीले सेना फरमेशन गर्याे।माओवादीले सेना फरमेशन गर्दै छामारलाई समायाेजन गर्न पहिलाे पटक देशभर स्क्वाट गठन गर्याे। माओवादीले उनकै नेतृत्वमा पहिलो फरमेशन अन्गर्तगत स्क्वाट गठन गर्याे। र, उनी पहिलाे छापामार महिला कमान्डर बनिन्र । पुरुषसमेत रहेको सो स्क्वाटमा २५ जना थिए। साे टिमलाई उनले लिड गर्थिन् । त्यसपछि माओवादी सेना विस्तार गर्न लागेको थियो।
माओवादीले धेरै अवसर दिएकाले होला आफूलाई कहिले महिला भएको र केही गर्न सक्दैन भन्ने अनुभूति नै नभएको उनको भनाइ छ। महिलाभएकै कारण काम गर्न नसकेको महसुस उनले कहिले गर्नु परेन। सरकार पक्ष नेपाली सेनाले उनका साथीहरुलाई महिला भएकै कारण बलात्कार गरेर अंगभंग पारेर मारेको दृश्य उनका सामु अझै ताजै छन्। यस्ता थुप्रै घटनाहरु उनले देखेकी छन्, जुन घटनाले उनलाई आज पनि निदाउन दिदैनन्। त्यतिबेला भने ती घटनाले उनको विद्रोह झन कडा भएर आउथ्यो।
रुकम जन्मभूमि भएकी हाल दाङ निवासी शर्माले कापी, कलम समाएर स्कुल जाने १४ वर्षको उमेरमा बन्दुक बोक्ने निधो गरिन्। उनी भन्छिन् ‘सामान्त भनेको के हो भन्ने जस्तो लाग्थ्यो, समाजमा जमिनदारको हालीमुहाली थियो, माओवादीकाे संगतले सबै कुरा बुझ्दै गएपछि उनलाई समाज परिर्वतन गर्ने हुटहुटी जाग्यो। फलस्वरुप उनी पनि जंगल पसिन्। उनी मात्र होइन उनका परिवारका अन्य सदस्य पनि माओवादीमा थिए । उनी अघि नै उनकाे बुबा र दाजुहरू जंगल पसिसकेका थिए। परिवारमै राजनीतिक माहोल भएकाले पनि उनलाई जनयुद्धमा होमिन त्यति गाह्रो थिएन। उनका बुबा स्कन्ड शर्मा रुकम जिल्लाको संस्थापक अध्यक्ष हुन्। हालका अर्थमन्त्री जर्नादन शर्मा उनको जेठा दाजु हुन्। शर्माका छ सन्तान सबै जना जनयुद्धका सारथी हुन्। नारायणीसहित चार जना भूमिगत नै भएका थिए। परिवारको साथ र सहयोग भएकाले पनि उनलाई माओवादी जनयुद्धमा रहेर काम गर्न खासै गाह्रो भएन। तर उनलाई समाजमा देखिएको महिलामाथि हुने यौन शोषण तथा हिंसाका घटनाले साह्रै मन खिन्न हुन्थ्यो। जसका कारण पनि उनी युद्ध गर्न थप प्रेरित हुन्थिन्।
युद्धका क्रममा पनि उनीले विभिन्न खाले समस्या नभोगेको हैन। भन्छिन् ‘जनयुद्धमा जाने महिलाको संख्या निक्कै कम थियो, महिलाको संख्यामा बढाउन उनले निक्कै मेहेनत गर्नुपर्याे। महिलालाई अधिकारबारे बुझाउनै मुश्किल पर्थ्यो। बल्लबल्ल संझाएका हुन्थ्यौ, घरपरिवारको डर त्रासले चुपचाप बस्थे।’ घर झगडा, महिला हिंसाका घटनाहरुलाई गाउँ-गाउँमा गएर मिलाउने सम्मकाे काम गरेको उनी संझिछन्। उनलाई जनयुद्धमा गएकोप्रति कुनै पनि पश्चाताप छैन् उनी भन्छिन् ‘माओवादीमा गए युद्ध गरे, यसमा मलाई कुनै पछुतो छैन् बरु खुसी लाग्छ, आजको परिर्वतन नै माओवादीको देन हो, त्यतिबेला युद्ध नभएको भए सायद महिला अधिकारका कुरा कानुनमा समेटिने थिएनन्।’ तर उनलाई अपसोच पनि लाग्छ, कहिलेकाही- गर्नुपर्ने काम धेरै थिए, तर गर्न पाइएन। त्यतिबेला गर्न बाँकि रहेका कामलाई अबको यात्रामा सम्पन्न गर्ने प्लानमा उनी लागेकी छन्। युद्धविराम भएपछि उनले लडाकु जीवनबाट मुक्त भएर सामान्य जीवनमा फर्किइन्। उनले राजनीति यात्रा भने छोडेकी छनैन् माओवादी केन्द्रमा रहेर पूरा नभएकाआफ्ना सपना पूरा गर्ने ध्याउन्नमा छिन् ।
जनयुद्धमा नगएको भए उनको जीवन अर्कै हुन्थ्यो। उनी भन्छिन् ‘गृहणी वा शिक्षिका हुन्थे होला। तर मलाई अहिले संझिदा जनयुद्धमा गएर सही गरेछु भन्ने लाग्छ। इतिहासले संझिने काम गरेको अनुभूति हुन्छ।’ पहिले र अहिलेको महिलाको अवस्थामा कस्तो देख्नुहुन्छ भन्ने तेस्रो आँखाको प्रश्नमा उनी थप्छिन् ‘समाज धेरै परिर्वतन भएको छ। महिलाको जीवन एक स्टेप अगाडि बढेको छ। पहिले घरपरिवारको डर, त्रासले हिसा रहेर बस्नुपथ्र्यो, बोल्ने आट थिएन तर अहिले रुदै भए पनि बोल्न सक्छन्।’ राजनीतिक, समाजिक, सांस्कुतिक रुपले पनि महिलाको स्तर धेरै माथि उठेको छ। महिलाको पक्षमा कानुन समेत बनेको छ। कार्यान्वयन हुन सकेको छैन त्यो अर्को पाटो हो। अबको हाम्रो माग कानुन कार्यान्वयन हुनुपर्छ भन्ने हो।
पूनम डिसी
