तुलसीपुर १८ पुस । तुलसीपुरमा ट्र्कको ठक्करबाट घाइते भएका पैदल यात्रुको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजेको समयमा तुलसीपुर ५ विपी चोकमा लु १ ख ६८९३ नं. को ट्रकले ठक्कर दिँदा पैदल यात्रु तुलसीपुर ५ निवासी ७० वर्षीय टेक बहादुर गिरी घाइते हुनु भएको थियो । विरेन्द्र चोकबाट बसपार्क तर्फ जाँदै गरेको ट्रकले गिरीलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट गिरीको बाया हात, खुट्टा र मुखमा चोट लागेको थियो । उहाँलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको थियो । उहाँको उपचारको क्रममा बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोद खत्रीले जानकारी दिनुभयो ।
