• ट्रेण्डिङ्ग :
दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण

दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण


  • 2.2K
    SHARES
    • माघ ८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.4K Views

    दशौं राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण

    काठमाडौं, ८ माघ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिएको छ ।

    images

    १० हजार दर्शक क्षमताको पाराफिटसहित फुटबल मैदान र एथलेटिकसका खेलहरु एक साथ सञ्चालन गर्न सकिने गरी संरचना निर्माण गरिएको हो । २०७८ मंसिर २० गते तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले सिल्यान्यास गरेको यो आयोजना तीन वर्षको अवधिमा लगभग सतप्रतिशत काम सकिएको छ ।

    रङरोगनका केही काम पनि माघ महिनामै सम्पन्न गरी निर्माण व्यवसायीले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ । यो आयोजनाको लागि कर्णाली प्रदेश सरकारले कुल १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार (भ्याटसहित) बजेटमा ठेक्का सम्झौता गरेको थियो ।

    निर्माण जिम्मा पाएको एमएसीरजिएसएल जेभीले २०८१ जेठ ११ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण लामो समयसम्म लामो समयसम्म चिनियाँ नाका नखुलेका कारण सामान ढुवानीमा समस्या भएकाले ७ महिना ढिलो हुन पुगेको निर्माण पक्षले जनाएको छ ।

    यद्यपी आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि संरचना निर्माणको सम्पूर्ण कार्य सम्पन्न गरिसकिएको निर्माण पक्षका प्राविधिक पुरुषोत्तम बरालले बताउनु भएको छ ।

    भिआईपी पाराफिटतर्फ माथिबाट आकर्षक टनेल लगाइएको छ । रंगशाला भित्रिन र बाहिरिन १२ वटा साना तथा ठूला गेटहरु निर्माण गरिएका छन् । भिआईपी पाराफिट मुनीको दुई तल्ला अफिसियल काम र खेलाडीहरुका लागि पर्याप्त हलहरु निर्माण गरिएका छन् ।

    साथै २ सय भन्दा चारपाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन राख्न मिल्ने अण्डरग्राउण्ड पार्किङ बनाइएको छ । मुख्य रंगशालाको बाहिरपट्टि भलिबल कोर्ट, बास्केटबल, स्वीमिङ कोर्टहरु तयार भइसकेका छन् । छेउ छेउमा दुई ठूला कभर्ड हलहरु निर्माण गरिएका छन् । यहाँ एक साथ १२ वटा खेल खेलाउन सकिने प्राविधिक बरालको भनाई छ ।

    कर्णालीको परिचयकै रुपमा रहेको पञ्चदेवल आकृतिमा हरेक गेटमा निर्माण गरिएको छ । रंगशालाको विभिन्न स्थानमा प्रयोग भएका ढुंगाहरु कर्णालीकै हुन् । विदेशबाट खरिद गर्नुपर्ने टायल प्रयोग नगरी पाराफिटदेखि सिँढी, पञ्चदेवल र वालहरुमा कर्णालीकै ढुंगा प्रयोग गरिएका छन् ।

    करिव ९ विघा जमिनमा बनाइएको रंगशाला देशकै लागि नमूनायोग्य खेल संरचना भएको कर्णाली खेलकुद विकास परिषद्को दाबी छ । परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले आफूहरु दशौँ राष्ट्रिय खेलकुदका लागि संरचनाका हिसावले पूर्ण तयारी अवस्थामा रहेको बताउनुभयो ।

    राष्ट्रियस्तरको सुविधायुक्त रंगाशाला निर्माण भएपछि स्थानीयमा खुशीयाली छाएको छ । अब वीरेन्द्रनगरको व्यापार व्यवसाय फस्टाउने र नगरको अरु पूर्वाधार विकास बढेर जाने जानकार बताउँछन् ।

    कर्णाली प्रदेशमा बनेको हालसम्मकै व्यवस्थित, वृहत र सुविधायुक्त रंगशालाले यहाँको खेल प्रवद्र्धनका लागि ठूलो सहयोग पुग्ने देखिन्छ । निर्माण भएको संरचनालाई सरकारले समय समयमा विभिन्न खेल कार्यक्रमहरु आयोजना गरी फाइदा लिनसके खेलाडीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेछ ।


    तेस्रो आँखा