शीतका थोपालाई उत्तापको सान्त्वना दिँदै
उकुसमुकुस भावना बोकेर फागुन आउँदो छ।
आफन्तबाट बिछोडिने पीडाले दग्ध
पात पतिङ्गरलाई जन्ममृत्युको पाठ पढाउँदै
सहजात रूपले छुट्टिन प्रोत्साहन दिन
भूमिमा पातपतिङ्गरको बिस्कुन सुकाउन
फागुनको आगमन यो धरतीमा पुनस्पुनस्।
मन भरी बिछोडको वेदना बोकेर
इष्टमित्रबाट सदाको लागि
बिदा माग्दै, आउने साल फर्कि आउने
बाचा गर्दै जादोँ छ फागुन।
फागुन, प्यारो फागुन
बदनाम फागुन, धूले फागुन।
फागुन केवल एउटा महिना होइन
फागुन जीवन हो, जीवन दर्शन हो।
फागुनले जीवन वोधको पाठ पढाउँछ
फागुनले जातस्यही ध्रुवो मृत्युुको भान गराउँछ।
रूख मुनी बग्रेल्ती झरेका पात
यत्रतत्र काठो लागेका पतिङ्गरले
हामीलाई जन्ममृत्युको परमार्थ सिकाउँछ।
फागुने फिरफिरे हावाले
चारैतिर धुवाँलो पार्दो छ
उराठिलो मन र रूक्षता झेल्दा
फागुने मौसममा हामीलाई जीवन र धूलो
एकार्काका परि पूरक भन्ने याद दिलाउँछ।
सिमल र फलेदोको लालीले
आकाश धपक्क बलेको बेला
सिमल र फलेदोको रसपान गर्न
वर्षदिन पर्खी बसेका पक्षी कुलले
होहल्ला गर्दा रमाएको पल
सायद फागुनको विशिष्टता हुन पुग्दछ
जीवन छ भनेर नै मृत्युको मोल छ
मृत्यु निश्चित जानेर नै जीवन धानिन्छ।
फागुनले हामीलाई जीवनमृत्युको शाश्वत ज्ञान दिलाउँछ।
फागुनको बिदाले वसन्तलाई स्वागत गर्दछ
फागुन छँदा वसन्त कहिलै आउँदैन।
फागुने उत्ताउलो वतासले
सुकेका पातलाई रूखबाट बिदा दिन्छ
फागुनको रूक्षताले मृत्युमुखिलाई
सुखनिद्राको शय्या दान दिन्छ।
पुरानाको बिदा, नयाँको जन्म हो।
मन भरी आशाको कोसेली बोकेर
नयाँ पालुवा पलाउने छन्
मुनाकोपिला बग्रेल्ती पलाउने छन्।
नयाँ आशा, नयाँ चेतनाको कुम्लो बोकेर
अनुहारभरी जिउने रहर पोतेर वसन्त आउने छ
फागुनको बिदामा प्रत्येक साल।।।।।
