दाङ, २१ माघ । लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्तीले अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेश राजनीतिक, जातीय र धार्मिक प्रतिष्पर्धाको खतरामा रहेको बताउनुभएको छ ।
प्रदेश राजधानी देउखुरीमा सोमबार भएको प्रदेश स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख घर्तीले लुम्बिनी प्रदेश ज्यानै फालेर प्रतिष्पर्धा गर्ने प्रदेश भएको उल्लेख गर्नुभयो । ‘यो प्रदेश, अरु ६ वटा प्रदेश जस्तो होइन भन्ने मेरो बुझाई छ’ प्रदेश प्रमुख घर्तीले भन्नुभयो ‘सायद मैलै यो चौकीदारी नोकरी (प्रदेश प्रमुख) पाएको हिसाबले पनि हुन सक्छ ।’ लुम्बिनी प्रदेश तीन वटा कुराले खतरामा रहेको उहाँको भनाई छ ।
‘राजनीतिक रुपमा अरु ६ वटा प्रदेशभन्दा ज्यानी प्रतिष्पर्धा, ज्यानकै माया मारेर प्रतिष्पर्धा गर्ने प्रदेशमा यो पर्छ’ घर्तीले भन्नुभयो ‘यहाँ एउटा दल, दुईटा दल भन्ने छैन् सबैभन्दा सानो दल भनिएकोले सबैभन्दा ठूलो कुरा गर्नेपनि यहीँ हो, त्यो पनि मैले बुझीराख्या छु, यति गर्न अरु प्रदेशमा सक्दैनन् भन्ने मेरो बुझाई हो ।’ दोस्रो जातीय रुपमा धेरै जात भएको र तिनको आफ्नै प्रकारको पहिचान, अस्तीत्व र नेतृत्व भएकाले त्यसलाई चानचुने रुपले हेरियो भने अथवा पक्षपात् गरियो भने त्यसको परिणाम राम्रो नहुने पनि प्रदेश प्रमुख घर्तीले बताउनुभयो । सबैभन्दा खतरा धार्मिक प्रतिष्पर्धाको रहेको पनि उहाँको बुझाई छ । ‘र मलाई लागेको सबभन्दा खतरा धार्मिक रुपमा छ’ घर्तीले भन्नुभयो ‘लुम्बिनी प्रदेशको जस्तो धार्मिक सशक्तता सायद मलाई लाग्छ अरु प्रदेशमा छैन्, अन्य प्रदेशमा कुनै एउटा धर्मको बाहुल्यता भएपनि यहाँ धेरै प्रतिष्पर्धा छ ।’
यि तीन वटा कुरालाई ध्यान दिन प्रदेश सरकारलाई उहाँले ध्यानाकर्षण गराउनुभयो । यसमा प्रदेशको शासन सत्ताबाट सशक्त रुपमा अगाडी बढ्नुपर्नेमा समेत उहाँले सुझाउनुभयो । यि कुरालाई ध्यान दिएर अगाडी बढे मात्र सबैको भलो हुने उहाँले बताउनुभयो ।
प्रदेश सरकारले स्थापना दिवस मनाई रहदा सबैलाई समेट्न नसकेको समेत उहाँको आशय थियो । ‘महान चाड बनाइरहदा आउनैपर्ने आउनुभएको छ कि छैन ? सत्तामा बसेका भत्ता खानेहरु आउनु भएको छ कि छैन्’ उहाँले भन्नुभयो ‘आउनु भएकाहरुको पनि मन मिलेको छ कि छैन् ?’
