काठमाडौं, ३० फागुन। नेपालको संविधान–२०७२ बमोजिम स्थानीय तहको दोस्रो निर्वाचन आगामी वैशाख ३० मा गर्ने सरकारको घोषणसँगै राजनीतिक दलहरु धमाधम गाउँ केन्द्रित हुन थालेका छन्। यससँगै दलहरु को–को सँग मिल्ने वा एक्ला एक्लै चुनावी मैदानमा जाने भन्ने आन्तरिक छलफलमा व्यस्त देखिएका छन्।
विशेषगरी सत्तासहयात्री गठबन्धनबीचको सहकार्य हुन्छ की हुँदैन भन्ने अहिले आम चासोको विषय बनेको छ। नेताहरुले सार्वजनिक रुपमा गठबन्धन नभत्किने बताए पनि अन्तर पार्टी छलफल भने भएको छैन्। स्थानीय चुनाव सकेर संघीय तथा प्रादेशिक निर्वाचन गराउन पनि करिव एक वर्ष मात्र बाँकी छ। आसन्न चुनावहरुमा एक्लै जाने नेपाली कांग्रेसको संस्थापन इतर समूहले बताइरहँदा संस्थापन पक्षले मिलेरै जानुपर्ने धारण सार्वजनिक रुपमा बोल्दै हिडेका छन्। यता, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जसपा भने यो गठबन्धनलाई टुटाउन हुदैन भन्ने पक्षमा छन्। गठबन्धन विशेष परिस्थितिमा निर्माण भएको र राष्ट्रियताको सवालमा वर्तमान गठबन्धन एक हुने नेताहरुले बताएका छन्।
साना राजनीतिक दलहरु चुनावमा एकता कायम गर्न नसके धेरै सिटहरु गुमाउनुपर्ने र आफ्नो हैसियत निकै गिर्ने भयले त्रसित छन्। नेपाली कांग्रेससामु पनि चुनावको मुखमा प्रचण्ड फेरि केपी ओलीसँग गएर मिल्ने हुन की भन्ने खतराको घण्टी बजिसकेको छ। यसले गर्दा वर्तमान गठबन्धन स्थानीय तहको निर्वाचनमा मिल्छन या फुट्छन यसै भन्न सक्ने अवस्था छैन। आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चाको वियय बनेको छ। अहिलेको गठबन्धन कायमै राखेर चुनावी गठबन्धन हुँदा पार्टीलाई घाटा लाग्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको बुझाइ छ ।
कांग्रेससँग गठबन्धन गर्न चाहेका माओवादी, नेकपा एस र जसपाले कांग्रेसका उमेदवारलाई भोट नहाल्ने खतरा रहेकाले कांग्रेसको भोट मात्रै अन्य पार्टीका उमेदवारलाई दिदा उनीहरु जित्ने र कांग्रेसले हार्ने अवस्था आउने अनुभव कांग्रेस कार्यकर्ताहरुले बटुलिसकेका छन्। तर देउवाले वर्तमान गठबन्धनमा सहभागी दलहरुकै कारण आफू प्रधानमन्त्री बनेको र आगामी निर्वाचनमा पनि गठबन्धन कायमै गरेर जानसके गठबन्धनले धेरै सिट हात पार्ने सपना देखेका छन्। संस्थापन इतर समूहका नेताहरु भने देउवाको सपना साकार नहुँने र गठबन्धनका नाममा चुनाव जितेका कम्युिनिष्टरहरू र एमाले फेरि पनि मिलेर स्थानीय सरकारमा उनीहरूकै वर्चश्व कायम राख्ने तर्क गरेका छन्। गठबन्धन बनाएर चुनावमा जाँदा कम्युनिष्टहरुलाई फाइदा हुने र पछि पुनः उनीहरु मिलेर कांग्रेस सिध्याउने सम्भावित खतरालाई समयमै आकलन गरेर अघि बढ्नुपर्ने नेता कार्यकर्ताले पार्टी नेतृत्वलाइ खवरदारी गरिरहेका छन् ।
उता प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेका दलहरु भने सकभर कांग्रेससहितको गठबन्धन गरेर एमालेलाई साइजमा ल्याउन नत्र पनि कांग्रेस बाहेकका तीन दल मिलेर चुनावी रणनिति तय गर्ने पक्षमा छन्। उनीहरु स्थानीय स्तरमा आवश्यकताका आधारमा कांग्रेस वा एमाले जो सँग पनि मिल्न सक्ने बताउँदै आएका छन्। कांग्रेससँगको गठबन्धन भएन भने स्थानीय स्तरको परिस्थिति अनुसार एमालेसँग पनि मिल्न सकिने योजना बनाइरहेको जसपाका एक नेताले बताए। प्रचण्ड भड्कीएर पुनः केपी ओलीसँग मिल्न पुगे भने कांग्रेसलाई पनि घाटा हुने आकलन गरिएको नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले बताए।
गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी) नजिकिएका थिए। एमाले पार्टी एक्लै र एकतावद्ध थियो। नयाँ दलहरूलाई भिन्नै निर्वाचन चिहृन दिइएको थिएन। तथापि उपत्यकामा विवेकशील र साझा पार्टीका स्वतन्त्र मेयर उम्मेदवारले उल्लेखनीय मत हासिल गरेका थिए। आम चुनावमा यी दुई पार्टी एक भए। प्रत्यक्षतर्फ जित्न र संघीय थ्रेस होल्ड काट्न नसके पनि विकेकशील साझाले बागमतीमा प्रादेशिक थ्रेस होल्ड काटेको थियो।
स्थानीय चुनावमा फरक–फरक ध्रुवमा रहेका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले संघीय तथा प्रादेशिक निर्वाचनमा चुनावी गठबन्धन र पार्टी एकताको प्रतिवद्धता दुवै एकसाथ गरेर भाग लिएका थिए। निर्वाचन परिणाममा त्यो गठबन्धनको ठूलो असर परेको थियो। देशको इतिहासमै पहिलो पटक कम्युनिष्ट पार्टीले सबैभन्दा ठूलो विजय हासिल गरेको थियो । संघीय संसदमा झण्डै दुईतिहाइ हासिल गरेको थियो। देशका ७ मध्ये ६ वटा प्रदेशमा प्रादेशिक सरकार बनाएको थियो। यो स्थिति आज छैन। संविधानप्रतिका असन्तुष्टि कायमै भए पनि त्यो निर्वाचन बहिष्कार गर्ने तहमा आन्दोलन छैन। राजनीतिक दलहरूको अवस्था झनै अस्पष्ट र अन्योलग्रस्त छ। कुन पार्टीले कस्तो चुनावी रणनीति लेलान् ? अहिलेसम्म न पूर्वानुमान गर्न सजिलो छ नत पार्टीका मूल नेताहरूमै कुनै प्रष्ट बुझाइ, योजना र रणनीति छ। संसदीय लोकतन्त्रमा चुनावको गणित र रणनीतिले समेत निर्वाचन परिणामलाई धेरै हदसम्म प्रभावित गर्दछ। पार्टी निष्ठा प्रतिकाे खडेरी र अस्थिर मतदान प्रवृत्ति हावी भएको हाम्राे देशमा चुनावको गणित अनुमान गर्न, चुनावी समीकरण निर्माण र परिणाम पूर्वानुमान गर्न सहजै सकिएपनि दलहरूबीचकाे मिलन र विछाेड कहा कतिखेर हुन्छ अनुमान नै लाउन सकिदैन। चुनावी परिदृश्यमा नेपाली कांग्रेस, एमाले, माओवादी, नेकपा (एस), जसपा र लोसपा यी ६ दल नै बाँकी रहने हुन्।
यी पार्टीहरूबीच ध्रुवीकरण वा चुनावी गठबन्धन हुन्छ अथवा यी एक्लाएक्लै चुनावमा जाने छन् ? यो आगामी चुनावी परिणामलाई प्रभावित गर्ने एक मुख्य प्रश्न हुनेछ। गठबन्धन बन्यो भने एकप्रकारको परिणाम आउँछ भने अन्यथा अर्कै प्रकारको परिणाम आउन सक्दछ। साना दलहरुले मत परिणमलाई आफ्नो पक्षमा पार्न चुनावी एकता चाहान्छ। उनीहरुलाई एमालले वा नेपाली कांग्रेस जो सँग मिलेर गएपनि फाइदा हुने देखेका छन्। कांग्रेससँगको चुनावी तालमेल हेरेर एमालेले निर्णय गर्न पर्खेको अवस्थामा छ। वर्तमान अवस्थामा एमाले, कांग्रेस र बाँकी दलहरुको गठबन्धन भएर त्रिपक्षीय भिडन्त भयो भने सबैभन्दा बढी सिट नेपाली कांग्रेसले नै हात पार्ने हुँदा अहिले नै गठबन्धन गर्न हतार गरिहाल्न नहुँने लोकतान्त्रिक विश्लेषकहरु बताउँछन्।
