काठमाडौं। भारतको ओडिसा राज्यस्थित केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु र त्यसपछि उत्पन्न परिस्थितिहरू छानबिन गर्न राज्य सरकारले उच्तस्तरीय छानबिन समिति बनाएको छ।
सरकारको सूचना तथा जनसम्पर्क विभागले एक विज्ञप्ति जारी गर्दै छानबिन समिति बनाइएकोबारे जानकारी दिएको हो। त्यो समितिमा प्रदेश सरकारका गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बालविकास विभागका प्रमुख सचिव, र उच्च शिक्षा विभागका आयुक्त छन्।
सरकारले घटनाको छानबिनपछि उच्चस्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि कानुनी र प्रशासनिक कारबाही हुने पनि जनाएको छ। ‘यसबारे कलेजलाई पनि जानकारी गराइएको छ र उच्च स्तरीय समितिको निष्कर्षका आधारमा कलेजमाथि उपयुक्त कानूनी र प्रशासनिक कारबाही गरिनेछ’ विभागले भनेको छ ‘प्रर्दशनकारी विद्यार्थीमाथि बल प्रयोग र दुर्व्यवहारका घटनाहरु बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुन अनुसार कारबाही हुनेछ।’
