काठमाडौं, १ चैत। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ०६२/०६३ पछि तय गरिएको राजनीतिक मार्गचित्र पूर्णरूपले असफल भएकाले देशभक्त राष्ट्रवादी शक्तिको तागतबाट ‘कोर्स करेक्सन’ गरिनुपर्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित राप्रपा निकट भूतपूर्व सैनिकहरूको संगठन भूतपूर्व सैनिक परिषद् (राप्रपा) को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशमा भ्रष्टाचार, बेथितिदेखि जनजीवन असामान्य र विकराल बन्दै गएकाले देशमा यथास्थितिमा परिवर्तनको आवश्यकता औंल्याएका छन् ।
नेपाली सेनामा काम गरेका राष्ट्रसेवकहरू देशभक्त राष्ट्रवादी भावनाले ओतप्रोत हुने र सेवाबाट निवृत्त भएपछि राष्ट्र निर्माणमा योगदान दिनुपर्ने लिङ्देनले बताएका छन्। लिङ्देनले ठूला राजनीतिक दलका गलत क्रियाकलाप र अकर्मण्यताले देशको विकास, समृद्धि र जनचाहना ओझेलमा पर्दै गएकाले अब देशभक्त नागरिक एकजुट भई तागत निर्माण गर्नुपर्ने बताएका छन्।
