काठमाडौं, ५ चैत्र । सत्ता गठबन्धन आगामी निर्वाचनसम्म हुने की नहुने भन्ने बहस पेचिलो बन्दै गइरहेको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका साथै नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनसम्म गठबन्धनलाई लैजानै भन्दै सत्ता गठबन्धन गरिरहेका छन्।
तर, नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले भने निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन्। उनीहरुले जनताको आशय गठबन्धन नहोस् भन्ने छ भन्दै निर्वाचनमा गठबन्धन नगर्न पार्टीलाई सुझाव दिएका हुन्।
प्रदेश सभापतिहरूले पार्टीको चुनावी अभियानमा स्थानीय नेता कार्यकर्ताले सबैभन्दा बढी गठबन्धन गर्ने कि नगर्ने भन्ने प्रश्न तेर्स्याएको बताए । गठबन्धन नगरी नहुने परिस्थिति भए राष्ट्रियरुपमा नभई स्थानीय आवश्यकतामा आधारित पार्टीका स्थानीय कार्यसमितिकै निर्णयका आधारमा गर्नुपर्ने उनीहरूको भनाइ छ।
तर, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी कांग्रेस सभापति शेरबहादुर देउवालाई गलाउने रणनीतिमा छन्। उनीहरुले सभापति देउवालाई बाम एकताकोसमेत अस्त्र फ्याकेर गलाउने रणनीति अपनाईरहेका छन्।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धनको पक्षमा सार्वजनिक अभिव्यक्ति दिए पनि माओवादी र एकीकृत समाजवादी विश्वस्त छैनन् । सत्तामा पुगेपछि काँग्रेसमा दम्भ पलाएको माओवादीको आरोप छ ।
