काठमाडौं, मंसिर ९ । बाबु राजु सापकोटा नेपाल विद्यार्थी संघको पूर्वजिल्ला अध्यक्ष । कांग्रेसको महाधिवेशन केन्द्रीत चहलपहलले राजुलाई छोइसकेको थियो । क्षेत्रीय प्रतिनिधि बनेर पार्टी राजनीतिमा आउने उहाँको अभिलाषासँगै अधिवेशनले उहाँकी १८ वर्षीया छोरी उषाको ‘नेता’ बन्ने उपद्रो रहर जगाइरहेकै थियो ।
त्यसोत, बागलुङ क्षेत्र नम्बर १ की उषालाई कांग्रेसका युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्माहरूका बिगतका भाषणले राजनीतिमा आउन प्रेरित गरिरहेकै थिए । अनि वडा अधिवेशनको मुखैमा आफ्नै बाबुसमक्ष प्रस्ताव गरिन्— ‘म पनि नेता बन्छु ।’
परिवारले उषाको प्रस्तावलाई समर्थनको संकेत जनायो, एक सर्तमा । सर्त थियो— पढाइ बिगार्न पाइँदैन । नेता बन्नका लागि परिवारले दिएको यो ‘ग्रिन सिग्नल’ थियो उषाका लागि । अनि परिवारको सर्तमा मञ्जुर हुन हतारो गरिनन् उनले ।
‘म पनि राजनीतिमा आउँछु र नेता बन्छु भनेर प्रस्ताव गरें’, उषाले तेस्रो आँखास“ग टेलिफोनमा भन्नुभयो— ‘पढाइ नबिगी राजनीति गर्न भन्नुभयो, अनि मेरो राजनीतिका सुरुवाती पाइला बढाएँ ।’
नेता बन्ने उपद्रो चाहनालाई समर्थन गरेका बाबु राजुले आँफूलाई भने अधिवेशनमा मौन राख्नुभयो । कारण— एकै परिवारबाट धेरैजनाको प्रतिनिधित्व हुन नहुने भन्ने मानसिकता कांग्रेसजनमा ब्याप्तै छ । अनि बाबु राजु आँफू ‘ब्याक’ हुनुभयो । छोरी उषालाई क्षेत्रीय प्रतिनिधिको उम्मेदवार बनाउनुभयो ।
छोरी उषा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत हुनुभयो । ‘एउटै घर परिवारबाट दुईजना क्षेत्रीय प्रतिनिधि हुँदा केही असहमति देखिने जस्तो भयो,’ उषा भन्नुहुन्छ— ‘अनि बाबाले मलाई उम्मेदवार बनाउनुभयो, आँफू चाहिँ ‘ब्याक’ हुनुभयो ।’
यो उहाँको राजनीतिक करिअरको पहिलो अनि ठूलो सफल ‘इनिङ’ थियो । क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएकी उषालाई अर्को ‘इनिङ’ मा बाजीमार्नु थियो । प्रदेश महाधिवेशन प्रतिनिधि बनेर प्रदेश नेतृत्व चयनको ‘हकदार’ बन्ने योजना अनुसार उषा प्रदेश महाधिवेशन प्रतिनिधिको खस आर्य महिलातर्फको उम्मेदवार बन्नुभयो ।
‘क्षेत्रीय प्रतिनिधि चुनिएपछि मलाई कांग्रेस राजनीतिमा थप उर्जा मिल्यो,’ उहाँ भन्नुहुन्छ— ‘अनि म प्रदेश महाधिवेशन प्रतिनिधिका लागि चुनावमा होमिएँ ।’
उहाँका लागि यो इनिङ कठिन लागिरहेको थियो । क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चुुनिएकी उहाँले यसपाला भने चुनावी मैदानमा भिड्नु थियो । एक जना प्रतिनिधि निर्वाचित हुने कोटामा उषासहित अर्की एक उम्मेदवार थिइन् ।
उषाले भन्नुभयो— ‘उहाँ (अर्की उम्मेदवार) मभन्दा धेरै सिनिएर हुनुहुन्छ र पनि मैले निर्वाचनमा भिड्ने निर्णय लिएँ, त्यसैले पनि मलाई सजिलो लागिरहेको थिएन ।’
चुनावी मैदानमा भिडेको पहिलो अनुभवले उषालाई उत्साहित बनायो अनि केही निराश पनि । भोट माग्ने क्रममा उहाँलाई कसैले युवा मान्छे राजनीतिमा आउनुपर्छ पनि भने अनि कसैले पढाई बिग्रन्छ किन आएको ? भनेर प्रश्न पनि गरे ।
अन्ततः उषाको साहसले बागलुङ १ (क) बाट विजयी गरायो । कुल ४ सय ६३ मध्ये उषाले २ सय ८६ मत पाएर सबैभन्दा कान्छी प्रतिनिधिका रूपमा विजयको माला पहिरिनुभयो ।
उहाँका अनुसार, उहाँको राजनीतिक यात्रा जित्नका लागि मात्रै थिएन, नेता बन्नका लागि थियो । ‘म जति पटक हारें पनि जीत खोजिरहन्थें, हारबाट नथाक्ने दृढता बोकेर पार्टी राजनीतिमा लागेको थिएँ’, उहाँले भन्नुभयो– ‘तर पहिलो पटकमै जितें ।’
कक्षा १२ मा अध्ययनरत उषालाई अब कांग्रेसको प्रदेश नेतृत्व चयनका लागि मताधिकारमात्रै होइन कांग्रेसको प्रदेश समितिको ‘हिस्सा’ बन्ने अधिकार पनि मिलेको छ । ‘आजका मितिसम्म प्रदेश समितिका लागि उम्मेदवार बन्ने निर्णय गरिसकेको छैन,’ उहाँले भन्नुभयो— ‘हेरौं परिस्थति कस्तो बन्छ ?’
पहिलो प्रयासमै उँचो नेता बन्ने लय पकडेकी उषाको परिवारमा चल्ने राजनीतिक ‘गफगाफ’ ले कांग्रेस राजनीतिको पाठ सिकाइरहेको थियो । त्यसमाथि गगन थापा, विश्वप्रकाश शर्मा लगाएतका युवा नेताका ‘युवा उत्साह केन्द्रित’ भाषणहरूले प्रभाव पारिरहेका हुन्थे ।
‘गगन अंकल, विश्व प्रकाक अंकलहरूले नेतृत्व तहको राजनीतिमा युवा शक्ति अउनुपर्छ भनेर गरेका भाषणहरू सुन्थेँ, हेर्थेँ,’ उहाँले भन्नुभयो— ‘उहाँहरूका भाषणले मलाई कांग्रेसको राजनीतिमा आउन झन उत्साह थपिरहन्थे ।’
प्रदेश प्रतिनिधि बनेर उँचो राजनीतिक यात्राको मिशनमा रहेकी ‘कान्छी प्रतिनिधि’ उषाभित्र पार्टीभित्रको गुटगत राजनीतिलाई निमिट्यान्न पार्नुपर्छ भन्ने सोच छ ।
‘मलाई पार्टीभित्रको गुट–उपगुटको कुरा सुन्दा साह्रै नमज्जा लाग्छ,’ उहाँले भन्नुभयो— ‘म यो गुट–उपगुटमा नरही व्यक्ति हेरेर मतदान गर्छु ।’
