काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाको बैठकअघि साझा रणनीति तय गर्न विपक्षी दलहरूको बैठक बस्ने भएको छ । संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरू र प्रमुख सचेतकहरूको बैठक बोलाइएको हो ।
संसद्को आज बस्ने पहिलो बैठकमा आ(आफ्ना धारणा राख्ने र त्यसपछिको परिस्थितिका आधारमा थप निर्णय लिन विपक्षी दलहरूको बैठक बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । ‘बजेट रोक्ने हाम्रो मनसाय होइन । संसद्को पहिलो बैठकमा हामीले आफ्नो धारणा राख्छौँ,’ परियारले भन्नुभयो, ‘थप विषयबारे निर्णय लिन विपक्षी दलहरूको बैठक बस्दैछ । त्यस बैठकले नै निर्णय गर्नेछ ।’
प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो १:३० बजेका लागि बोलाइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भएकाले दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको छ ।
तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत संलग्न भएको आरोप लगाउँदै विपक्षी दलहरूले मंगलबारदेखि लगातार संसद् अवरोध गर्दै आएका छन् । बुधबार बसेको विपक्षी दलहरूको बैठकले भने सरकारलाई बजेट पेस गर्न दिने सकारात्मक निर्णय गरेको थियो । तथापि, बजेट पेस भएलगत्तै गृहमन्त्री लेखकको राजीनामाको मागलाई यथावत् राख्दै संसद् अवरोध जारी राख्ने रणनीति विपक्षी दलहरूले बनाएका थिए ।
आजको बैठकले सोही रणनीतिलाई थप परिष्कृत गर्ने र संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे साझा धारणा बनाउने अपेक्षा गरिएको छ । बजेट जस्तो महत्वपूर्ण विषयमा संसद् अवरुद्ध हुँदा मुलुकको आर्थिक गतिविधिसमेत प्रभावित हुन सक्ने भएकाले विपक्षी दलहरूको आजको निर्णयलाई चासोका साथ हेरिएको छ ।
