तुलसीपुर, २ असार ।
अमेरिकामा बसोबास गरिरहेका राप्ती अञ्चलका प्रवासी नेपालीहरूको भेलाबाट “अमेरिकन राप्ती समाज (ARS)” गठन गरिएको छ। तेस्रो आँखा डटकमका प्रबन्ध निर्देशक तथा नेजाका केन्द्रिय सदस्य डि.बी. रावत संस्थाको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। संस्था गठनको औपचारिक घोषणा २०२५ जुन १५, आइतबार टेक्सासको राजधानी अस्टिनमा आयोजित विशेष भेलामार्फत गरिएको हो। भेलाले ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ, जसमा अध्यक्ष डि.बी. रावतसहित उपाध्यक्षद्वय मोहन कुसारी र शर्मिला थापा खनाल, महासचिवमा सामना देवकोटा, कोषाध्यक्षमा बिर्ख बहादुर खत्री, र अन्य सदस्यहरूमा निम भारती, सुजन बुढाथोकी, लिला डाँगी, बिर्ख बस्याल, लक्ष्मण रोका, र कमल बुढाथोकी रहेका छन्। सचिव र एक सदस्य भने पछि कार्यसमितिबाट मनोनयन गरिने जनाइएको छ।
संस्थाले राप्ती अञ्चलको कला र संस्कृतिको संरक्षण, लुम्बिनी प्रदेशको पर्यटन प्रवर्द्धन, नेपाली युवाहरूलाई खेलकुद र सीपमूलक तालिममा सक्रिय बनाउने, र रोजगारमुखी परीक्षाहरूको तयारी कक्षा सञ्चालन जस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना बनाएको छ। यसैगरी, अमेरिकामा नेपाललाई चिनाउने अभियानस्वरूप विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछ।
समारोहमा विभिन्न अतिथिहरूले समाजको स्थापनामा बधाई तथा शुभकामना व्यक्त गरेका थिए। ग्रेटर अस्टिन नेपाली चेम्बर अफ कमर्शका अध्यक्ष सिपि पौडेल, ग्रेटर अस्टिन नेपाली समाजका तदर्थ अध्यक्ष बोदराज घिमिरे, लायन्स क्लबका उद्धव खनाल, प्रसिद्ध निर्देशक नारायण पुरी, अभिनेता तथा रियल्टर शुबास थापा, जाकी केन्द्रीय कोषाध्यक्ष झरना अधिकारी, एनआरएन आईसीसी सदस्य पदम ठकुराठी, र कोरियोग्राफर बिनिता खड्का लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्दै समाजले प्रवासी नेपाली समुदायको हितमा ऐतिहासिक भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
