टोकियो जापान
प्रख्यात तथा प्रखर कथावाचीका राधिका दासी यही हप्ता जापान आउने भएकी छिन्। जापान नेपाल फुटबल एसोसिएसन एन्फा जापानले आयोजना गर्न लागेको धार्मिक तथा आध्यात्मिक प्रवचनमा भाग लिन उनी जापान आउने भएकी हुन्। उनले आगामी सेप्टेम्बर ७ गते आइतबार जापानको टोकियो नजिकै रहेको रारा नेपाली खाजा घर हाइजिमामा साँझ ५ बजेदेखि १० बजेसम्म प्रवचन दिनेछिन् भने सेप्टेम्बर ९ तारिख मङ्गलबार साँझ ५ बजेदेखि १० बजेसम्म हामुरा स्टेसन नजिकै रहेको १-११-५ मिदोरी गाओका स्थित प्रिमो हलमा प्रवचन दिने कार्यक्रम रहेको छ। पछिल्लो समय देशविदेशमा आयोजन हुने महायज्ञ तथा धार्मिक कार्यक्रमहरूमा व्यस्त रहेकी राधिका दासीले आफू जापानको टोकियोमा आध्यात्मिक कार्यक्रममा आउन लागेको र सबैलाई सो कार्यक्रममा सहभागी हुन भिडियो सन्देशमार्फत आमन्त्रण समेत गरेकी छन्। कार्यक्रममा प्रमुख अतिथिको रुपमा जापानका लागि नेपाली राजदूत महामहिम दुर्गा बहादुर सुवेदी रहनुहुनेछ I आयोजक संस्था एन्फा जापानका अध्यक्ष शिव खड्काका अनुसार यो आध्यात्मिक र धार्मिक प्रवचन कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूलाई नेपाली धर्म, संस्कृति र आध्यात्मिक ज्ञान प्रदान गर्ने तथा सकारात्मक प्रभाव पार्नेछ I खड्काले यस आध्यात्मिक प्रवचन कार्यक्रममा सहभागी हुन सम्पूर्ण जापानवासी नेपालीहरूलाई आमन्त्रण समेत गरेका छन्। यसैगरी टोकियोको कार्यक्रम सकेर राधिका दासी बिष्णु रेष्टुरेन्टका मालिक श्याम सुन्दर शर्माको विशेष निमन्त्रणमा जापानको फुकुवोका सहरमा जाने कार्यक्रम रहेको छ ।
बिरेन्द्र पौडेल
