काठमाडौं २३ भदाै । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज हुने भनिएको ‘Gen Z’ प्रदर्शनलाई ऐक्यबद्धतासहित समर्थन जनाएउनु भएकाे छ । कारागारबाट निजी सचिवालयमार्फत सन्देश पठाउँदै उहाँले युवाहरूलाई सचेत र विवेकशील भएर सडकमा उत्रिन आह्वान गर्नुभएकाे हाे।
लामिछानेले आफ्नो सन्देशमा Gen Z का लागि यो पहिलो सडक प्रदर्शन हुन सक्ने उल्लेख गर्दै शासकहरूले उनीहरूलाई विधि र विवेकको शासन दिन नसकेको र सामाजिक सञ्जालमा आफ्ना भावना व्यक्त गर्ने सानो कुना पनि खोसेको आरोप लगाउनु भएकाे छ । ‘सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईँहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ,’ लामिछानेले आफ्नो सन्देशमा भन्नुभएकाे छ, ‘भोलिको दिन इतिहासको नयाँ सुरुवातको दिन हो ।’
उहाँले प्रदर्शनमा घुसपैठ हुन सक्ने भन्दै Gen Z लाई सचेत रहन र उत्तेजित बनाउन खोजिएमा विवेक प्रयोग गर्न आग्रह गर्नुभएकाे छ । ‘तपाईँको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईँकै हातबाट लेखिँदै छ,’ सन्देशमा भनिएको छ ।
