काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले सरकारले प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रूपमा समयमै सम्बोधन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै प्रदर्शनका क्रममा मृत्यु भएको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारबाही गर्न नेपाल सरकारलाई आयोगले निर्देशन दिएको छ । साथै आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण, मर्यादित र संयमित बनाउने जिम्मेवारी प्रदर्शनरत पक्षको समेत हुने कुरा मनन गर्न आयोग प्रदर्शनरत पक्षलाई अनुरोध गरेको छ ।
‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन बमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ,’ आयोगले विज्ञप्तिमा भनेको छ( ‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ ।’
आयोगले प्रहरीको गोली लागि दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको र दर्जनौँ व्यक्तिहरू घाइते भएको जनाएको छ । आयोगले मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचार र शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
