अस्टिन, टेक्सास
नेपाल सरकारका पुर्व मुख्य सचिव, विमल कोईरालाले आफु मुख्य सचिव रहेका बखत तात्कालिन सरकारसंग देसको विकास संम्वन्धि एजेण्डामा एकदिन पनि छलफल चलाउन नसकिएको बताउनु भयो । टेक्सासको राजधानी अस्टिनको सेडर पार्क स्थित याक एण्ड यति रेष्टुरेन्टमा नेपाली समुदायसंग आईतबार आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उहॉले नेपालको राजनितिक नेतृत्व विकास प्रति गंभिर र उत्तरदायी नभएकाले देस पछाडि परेको बताउनु भयो। उहॅा सन २००२ देखि २००५ सम्म नेपाल सरकारको मुख्य सचिव हुनुहुन्थ्यो ।
नेपालमा हुने भ्रष्टाचारमा राजनितिक नेतृत्व र कर्मचारीको मिलेमतो हुने गरेको भएपनि नितिगत भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वकै भूमिका मुख्य रहने उहॅाको भनाई थियो । नेतृत्वमा चेतनाको कमिकै कारण देस विकाशको चिन्ता नभएको स्मरण गराउदै उहॅाले भन्नु भयो “मेरो कार्यकालमा सरकारको नेतृत्व संग विकासका एजेण्डामा एकदिन पनि छलफल भएन। कोईरालाले निर्वाचित नेतृत्वले शक्ति र सत्तामा रहन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका अधिकार हत्याउन खोज्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमा चोट पुर्यायको बताउनुभयो। उहाँका अनुसार, राजनितिक नेतृत्व जनताप्रति जवाफदेही नभएको र राष्ट्रिय स्वार्थ पूरा गर्ने लक्ष्य अभावले देस विकास संभव नभएको हो।
कार्यक्रमा सहभागिहरुले राखेका जिज्ञासाहरुको जवाफ दिदै उहॅाले नेपालको राजनितिक नेतृत्वमा अहिले भएका व्यक्तिहरु रिटायर्ड हुनु पर्ने धारणा राख्नु भयो । “राजनितिक पार्टीहरुले सस्तो लोकप्रियताका लागि तथ्य भन्दा बाहिर गएर जनता संग बाचा गर्ने, घोषणा पत्र तयार गर्ने, आश्वासन बॅाडने तर काम केहि नगर्ने गरेकै कारण जनतामा निरासा बढेको छ" उहॅाले अगाडि भन्नुभयो “बाचाको खेति फल्दैन जति गर्न सकिन्छ त्यति मात्र कवुल गरेको राम्रो हो । कार्यक्रममा उपस्थित नेपाली समुदायका सदस्यहरूले देशको सुशासन र नीति सुधारका विषयमा कुनै ठोस योजना बन्न नसक्नुमा निराशा व्यक्त गरेका थिए । कार्यक्रममा दिपक हुमॅागाईले स्वागत मन्तव्य र नारायण पुरीले कोईरालाको व्यक्तित्व परिचय दिनुभएको थियो ।
नारायण भण्डारी
