तुलसीपुर, ९ मंसिर । दाङको तुलसीपुरमा "तुलसीपुर उप-महानगरपालिकाकाे प्रतिबद्धता, लैंगिक हिंसा विरुद्ध शून्य सहनशीलता" भन्ने मुल नारा सहित लैंगिक हिंसा विरुद्धको १६ दिन अभियान आजदेखि सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक शाखाको आयोजनामा र विभिन्न संघसंस्थाको समन्वयमा अभियानको उद्घाटन गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काको संरक्षकत्व र सामाजिक संयाेजक मान बहादुर रावतकाे अध्यक्षतामा अभियानको उद्घाटन गरिएको थियो।
नगरप्रमुख टिकाराम खड्काले लैंगिक हिंसाले गर्दा महिला निर्णय लिने ठाउँसम्म पुग्न नसकेकाे बताउनुभयाे । लैंगिक हिंसाकै कारणले गर्दा समाजमा धेरै छाेरीबुहारीहरु पिडित रहेको उहाँले उल्लेख गर्नुभयाे । लैंगिक हिंसा कानुन र समाजिक रुपमा पनि अपराधीक बिषय भएको उहाँको भनाइ छ। लैंगिक हिंसालाई न्युनिकरण गर्नका लागि विद्यमान कानुन, नीति तथा कार्यविधि कार्यान्वयन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
तुलसीपुर उप-महानगरपालिकाकाे सामाजिक संयाेजक मान बहादुर रावत, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हाेम बहादुर प्राजुली, स्वास्थ्य शाखा प्रमुख बिमल केसी लगायतका प्रतिनिधिहरुले लैंगिक हिंसा आफैदेखि न्युनिकरणा गर्न जाेड दिनुभएको थियोे ।
अभियानमा उपस्थित सहभागीहरूले “हिंसा गर्दिनँ, हिंसा पनि सहन्न” भन्ने प्रतिबद्धता जनाउँदै सेतो रिबन लगाएका थिए।
सन् १९९१ मा क्यानडाबाट सुरु भएको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुँदै आएको छ। यसले हिंसाको सिकार भएका व्यक्तिहरूलाई न्याय दिने र समाजमा भएका हिंसाका घटनाहरू न्यूनीकरण गर्न योगदान पुर्याउँदै आएको छ।
इशोरा रावतको स्वागत मन्तव्य र महिला, बालबालिका तथा सामाजिक शाखाकी अधिकृत माया श्रेष्ठले सहजीकरण गरेका थिए ।
