• ट्रेण्डिङ्ग :
एमसीसी परियोजना : सुनवलमा विद्युत प्रसारण लाइन निर्माण सुरु

एमसीसी परियोजना : सुनवलमा विद्युत प्रसारण लाइन निर्माण सुरु


  • 1.5K
    SHARES
    • मंसिर ११, २०८२ बुधबार
    • ११ महिना अघि
    • 2.4K Views

    एमसीसी परियोजना : सुनवलमा विद्युत प्रसारण लाइन निर्माण सुरु

    पश्चिम नवलपरासी, मङ्सिर १० । मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ । 

    images

    एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३ सूर्यबस्तीदेखि नेपाल–भारत सिमानासम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको शुभारम्भ गरिएको हो । 

    सो क्रममा अर्थमन्त्री खनालले एमसीसी परियोजनाले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुराउने बताउँदै अमेरिकी सरकारको सहयोगको प्रशंसा गर्नुभयो । 

    मन्त्री खनालले अब तीन वर्ष पनि पूरा समय बाँकी नभएकाले समयमै काम सम्पन्न गर्ने गरि तदारुकताका साथ काम भइरहेको जानकारी दिनुभयो । 

    विद्युत प्रसारण लाइनको बहुआयामिक महत्व रहेको बताउँदै नेपालमा आन्तरिक बजारमा आवश्यक भएको बेला आयात गर्न र दक्षिण एसियामा ऊर्जा बजारमा नेपालको सशक्त उपस्थिति बढाउन यो परियोजना कोसेढुङ्गा सावित हुने खनालको भनाइ छ । 

    अमेरिक राजदूत थम्प्सनले नेपालको हरित ऊर्जा सुरक्षामा यो परियोजनाले सहयोग पुग्ने बताउँदै अमेरिकाले नेपालसँगको सहकार्यमा प्रविधि र लगानीमा सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । 

    थम्प्सनले आर्थिक वृद्धि र दक्षिण एसियामा विद्युत व्यापारका लागि यो परियोजना महत्वपूर्ण हुने उल्लेख गर्दे अमेरिका नेपालको दिगो सहयात्रीको रुपमा उभिँदै आएको बताउनुभयो । 

    सुनवलदेखि भारत सीमा नाकासम्म ५३ वटा टावर निर्माण हुने एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिनुभयो । जसको मुआब्जा वितरण भइसकेको एमसिए नेपालले जनाएको छ । ३९ महिना भित्र सबस्टेशन र २१ महिना भित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरी भारतीय दुई कम्पनीसँग ठेक्का सम्झौता भइसकेको छ । 

     


    तेस्रो आँखा