काठमाडौं, १४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निवार्चनमा भाग नलिने भएको छ ।
कपिलवस्तुमा जारी बैठकमामार्फत पार्टीले चुनावमा भाग पनि नलिने र बहिष्कार पनि नगर्ने जनाएको हो । बैठकमा सहभागी एक नेताकाअनुसार हाम्रो पार्टी आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन बहिष्कार पनि नगर्ने पक्षमा छ ।
कपिलबस्तुको शिवगढीमा जारी केन्द्रीय कमिटी बैठकमा चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्तावमाथि व्यापक छलफल भएको थियो। महासचिव विप्लवको उक्त प्रस्तावमाथि छलफल हुँदा तत्काल पार्टी नै संस्थागत रूपमा चुनावमा नजाने निर्णयसहित विप्लवको प्रस्ताव परिमार्जन गर्दै अनुमोदन गरिएको ती नेताले जानकारी दिए ।
आफूहरु चुनावको विरोधी नभएको बताउँदै एजेन्डा मिल्नेहरूलाई समर्थन गर्न पनि खुला छाडेको उनले बताए । चुनावको उपयोग गर्नुपर्ने विप्लवको प्रस्तावमा मतभिन्नता देखिएको थियो । जसअनुरुप बैठकले निर्णय गरेको ती नेताले जानकारी दिए । उनकाअनुसार हाम्रो पार्टी संस्थागत ढंगले स्थानीय चुनावमा सहभागी हुदैन । जारी केन्द्रीय कमिटी बैठक आज सकिदैछ ।
