देवेन्द्र / काठमाडौं, मंसिर १० । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा निर्वाचित विमलेन्द्र निधि १४ औँ महाधिवेशनसम्म आइपुग्दा बदलिनुभयो । देउवाको समूहमा बस्दा पार्टी नेतृत्व प्राप्तिको सम्भावना देख्नुभएन निधिले ।
पुनः सभापति बन्ने ‘देउवा–इच्छा’ को सारथी बन्दा अर्को ५ वर्ष ओझेलमा पर्ने यथार्थतालाइ आत्मसाथ गर्नुभयो उहाँले । अनि, देउवाका बलिया भरोसा निधिले देउवा क्याम्पबाटै अलग्गिने निर्णय लिनुभयो ।
फलतः कांग्रेस नेतृत्वको ‘स्वाद’ चाख्न आतुर निधिले पार्टी सभापतिमा आफ्नो उम्मेदवारी घोषणै गर्नुभयो । उहाँले आफ्नो उम्मेदवारीको ‘एजेण्डा’ नै तय गरिदिनुभयो— पार्टी नेतृत्वका लागि पुस्ता हस्तान्तरण ।
उसो त, पार्टी सभापति देउवा आफ्नो पार्टीको महाधिवेशनका क्रममा देखिएका घटना–परिघटनाबारे मौन हुनुहुन्छ । आफ्नै गृहजिल्लामा देखिएको सदस्यता बिबादमा देउवाले मुख खोल्नुभएको छैन । बरु उहाँकै समूहले एकलरुपमा डडेल्धुरामा ‘भ्याइदिएको’ जिल्ला अधिवेशबाट उनै देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचितै भइसक्नुभयो ।
देउवाको यो मौनताको कारण पनि पुनः सभापति बन्ने उहाँको अभिलाषालाई पुष्टि गरिरहेकै देखिन्छ । तर, निधिको सभापति पदमा उम्मेदवारी घोषणा भने देउवाको सभापति दोहोरिने सहज बाटोमा अड्को बन्ने खतरा एकातिर तेर्सिएको छ । तथापि, देउवाका सामु निधिको उम्मेदवारी घोषणा ‘फिक्का’ बन्ने लख काटिएकै पनि छ ।
देउवालाई सभापति बन्नबाट रोक्ने निधिको प्रयास सार्थक होला या नहोला ? तथापि निधिको उम्मेदवारी घोषणाले भने कांग्रेस नेतृत्व अर्को (पछिल्लो) पुस्तामा हस्तान्तरण गरिनुपर्छ भन्ने बहस कांग्रेसबृत्तमा चलाइदिएको छ ।
त्यसो त, यो बहस देउवा क्याम्पका उपसभापति निधिको उम्मेदवारीले मात्रै होइन, इतर समूहका दोस्रो तहका नेताहरुले थालेको सभापति बन्ने दौडधुपले पनि कांग्रेसभित्र पुरानो पुस्ताको बिदाइ खोजिरहेको आकलन गर्न सकिन्छ ।
तत्कालीन कोइराला खेमाको नेतृत्व सुशील कोइरालाको निधनपछि बरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले सम्हालिरहनुभएको छ । तत्कालीन संस्थापन पक्षको बिरासत जोगाइदिनुभएका पौडेलले पार्टी सभापतिको आकांक्षा गरिरहनुभएकै छ ।
उहाँकै नेतृत्वमा रहेको भनिएको पुरानो संस्थापन पक्षका दोस्रो तहका नेताहरुले पौडेललाई सभापति बन्ने बाटो ‘क्लियर’ गरिदिने सम्भावना आजसम्म देखिँदैन । प्रकाशमान सिंहको सभापति बन्ने उपद्रो चाहना र भरपुर तयारी पौडेललाई सभापति बनेर सानेपा छिर्ने बाटोमा असहज बनिदिने सम्भावना देखिन्छ ।
गणेशमान सिंह पुत्र प्रकाशमानले आफ्नो समूहबाट पार्टी सभापतिका लागि एकल उम्मेदवार बन्नका लागि गरेको प्रयासकै कारण बरिष्ठ नेता पौडेलसँग सम्बन्धै बिग्रिएको चर्चा कांग्रेसवृत्तमा चलिरहेकै छ ।
आफू रहेकै समूहको नेतृत्व गरिरहेका पौडेलसँग सभापति बन्नकै लागि सम्बन्ध बिगारेका सिंहले सभापतिका लागि अर्कैलाई सहज बिकल्प दिनेमा आशंका उब्जनुलाई स्वाभाविक मान्न सकिन्छ ।
गणेशमान पुत्र सिंहको सभापति बन्ने एकल तयारीसँगै बीपी पुत्र डा. शशांक कोइरालाको सभापति बन्ने अभिलाषा पनि पौडेलका लागि थप अर्को चुनौती बनिदिएको छ ।
आफूमात्रै सभापतिका लागि योग्य रहेको दाबी गर्दै आउनुभएका कोइरालाले समेत पौडेललाई उछिनेर आफ्नो गुटबाट सभापति पदको एकल उम्मेदवार बन्ने दाउ रचिरहनुभएको छ ।
यही समूहका अर्का नेता डा. शेखर कोइरालाको पनि सभापति बन्ने मौन अभिलाषालाई पनि पौडेलले सम्बोधन गर्नुपर्ने देखिन्छ । उहाँ पनि सभापतिका बलिया प्रतिष्पर्धीका रुपमा महाधिवेशनमा उभिने सम्भावना देखिन्छ नै ।
कांग्रेसभित्र पुरानो पुस्ताबाट दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणको उपाय खोजिइरहेको भए पनि पुस्ता नेतृत्व हस्तान्तरणको विषय त्यति सहज भने छैन । आफूहरुलाई एकल हैसियतमा राखेर कांग्रेस राजनीतिमा सभापति खोजिरहेका उनै नेताहरुलाई एकले अर्काको अस्तित्व स्वीकार्न सक्ने वा नसक्ने भन्ने विषय निकै चुनौतीका रुपमा रहेको नेताहरु बताउँछन् ।
अतः आफ्नो अस्तित्व नस्वीकारिए बरु पुरानै पुस्तालाई सहयोग गरेर अगाडि बढ्नुपर्छ भन्ने सोच उनै दोस्रो पुस्ताका कैयन नेतामा देखिन्छ ।
