अस्टिन / टेक्सास
टेक्सासको अस्टिनमा नेपाली हाँस्य व्यंग्य कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “हाँस्छ अमेरिका भोलुम १” कार्यक्रम अन्तर्गत अमेरिका भ्रमणमा रहेका चर्चित नेपाली हास्य–व्यंग्य कलाकारहरू कैलास कार्की, सुमन कार्की, सुमन कोईराला, मेक्सम गौडेल र भरतमणी पौडेलले अस्टिनवासी दर्शकहरुलाई शनिवार भरपुर मनोरञ्जन दिए । कार्यक्रम अस्टिन नजिकैको फ्लुगरभिल (Pflugerville) मा आयोजना गरिएको थियो। कार्यक्रममा उपस्थित नेपाली समुदायले कलाकारहरूको प्रस्तुतीलाई निकै उत्साहका साथ स्वागत गरेका थिए। कलाकारहरूले समसामयिक विषय, नेपाली समाजका विविध पक्ष र प्रवासी जीवनसँग सम्बन्धित हास्य–व्यंग्य प्रस्तुत गर्दै दर्शकलाई लामो समयसम्म हँसाए । कलाकार कैलाश कार्कीको माग्ने र जड्याहाको प्रस्तुती , मेक्सम गौडेल र सुमन कार्कीले महिला भेषमा दिएको प्रस्तुती र सुमन कोईराला र भरतमणी पौडेलको वावु छोराको प्रस्तुतीले अस्टिनवासी नेपालीको मन छोयो ।
कलाकारहरुले अमेरिकामा नेपालीहरुले गरेका संघर्ष, यहॅाको जनजिवन, जीवन शैली, लगायत नेपालको वर्तमान राजनितिक परिवेशमा व्यग्य गर्दै साहानुभूति जनक प्रस्तुती दिए । “हाँस्छ अमेरिका भोलुम १” कार्यक्रममार्फत यी कलाकारहरू अमेरिकाका विभिन्न शहरहरूमा पुगेर नेपाली समुदायलाई मनोरञ्जन प्रदान गरिरहेका छन्। स्ट्याण्ड अप कमेडीबाट लोकप्रिय वन्दै गएका नेपाली कलाकारहरुको “सेन्स अफ ह्युमर” हॉस्य वोध पनि निकै चाख लाग्दो रहने गरेको छ ।उनीहरुले समेटने गरेका विषय राजनैतिक व्यक्तिका कमजोरी, शैली, भनाई र गराई बीचको फरकलाई नक्कल गरेर हसॅाउने हॅास्य सिर्जनाले हरेक दर्शकको मन छुने गरेको छ । नेपालका टेलिभिजन कार्यक्रममा प्रस्तुत हुने हॅास्य कार्यक्रमले संसारभर छरिएर रहेका नेपालीलाई मनोरंन्जन दिने गरेको छ ।कार्यक्रमको आयोजना नमो नमस्ते ईन्टरटेनमेन्ट, 8848 मिडिया हाउस र निम्तो किचनले गरेका थिए । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार तथा समर्पित कला साधक गणेश उप्रेतीलाई उहॅाको भर्खर रिलीज भएको लोकप्रिय चलचित्र “झरि पछिको ईन्द्रेणी”मा दिनु भएको योगदानको कदर गर्दै आयोजकका तर्फबाट मिडिया हाउसका सिईओ तथा वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीले प्रसंसा पत्र प्रदान गर्नु भएको थियो।

नारायण भण्डारी
