काठमाडाैं,१६ चैत्र । प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न गाह्रो भएको बताएका छन् । उनले सत्ता गठबन्धनमा रहेका दलका नेताहरू स्वार्थमा केन्द्रित रहेकाले निर्वाचनमा गठबन्धन हुन गाह्रो रहेको बताए ।
भक्तपुरमा बुधबार आयोजित एक कार्यक्रममा ओलीले भने, ’गठबन्धन गर्छौं भनेका हुन्, गठबन्धन सजिलो छैन । लोभिपापीहरूको गठबन्धन कति गाह्रो होला विचार गर्नुस् त !’ सरकारको नेतृत्व गरिरहेको कांग्रेसले केन्द्रिय समितिबाट स्थानीय तह निर्वाचनमा सरकारमा रहेका दलहरूबीच तालमेल गर्ने निर्णय लिएको एक दिनपछि ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
उनले सत्तारुढ गठबन्धनले निर्वाचन आयोगलाई भनेर मनोनयनका लागि समय लामो राखिएको बताए । निर्वाचनमा गठबन्धन गरे पनि एमालेलाई जित्न सत्तारुढ गठबन्धनले नसक्ने ओलीको दाबी थियो । उनले भने, ’गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भन्ने बुझेको ठीक छ । गठबन्धन गरे पनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ ।’ वर्तमान सरकारले कुनै काम नगरेको ओलीको दाबी थियो ।
