काठमाडौं, १८ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावका लागि वडा र टोलसम्मै निर्वाचन परिचालन समिति गठन गर्न निर्देशन गरेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बनेको केन्द्रीय निर्वाचन परिचालन समितिले सबै तहमा निर्वाचन परिचालन समिति गठन गर्न र सम्पूर्ण शक्ति लगाएर निर्वाचनमा केन्द्रित हुन निर्देशन गरेको हो ।
मंगलबार सकिएको केन्द्रीय कार्यसमितिले दिएको जिम्मेवारीबमोजिम बिहीबार बसेको निर्वाचन परिचालन समितिले वडा र टोल तहसम्म पनि निर्वाचन परिचालन समिति गठन गर्ने, भ्रातृ तथा शुभेच्छुक संस्थालाई निर्वाचन लक्षित अभियानमा परिचालित गर्ने लगायत निर्णय गरेको हो ।

