• ट्रेण्डिङ्ग :
गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता


  • 1.6K
    SHARES
    • श्रावण ३०, २०८३ शनिबार
    • १ महिना अघि
    • 2.5K Views

    गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता

    तनहुँ, साउन ३० । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लामो समयदेखि बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

    images

    गृह जिल्ला भ्रमणका क्रममा तनहुँको आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यक्रममा स्थानीयवासीले उद्योग सञ्चालनको माग गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको नीति स्पष्ट पार्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

    सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री वाग्लेले गोरखकाली रबर उद्योग पनि सञ्चालनमा ल्याउने बताउनुभयो । 

    सुरुमा सरकारले नै उद्योग सञ्चालनको परीक्षण गर्ने र उद्योग नाफामा जान सक्ने अवस्था देखिएपछि दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रलाई जिम्मा दिने नीति रहेको उहाँले जानकारी दिनुभयो ।

    “सरकारले बन्द उद्योग सञ्चालन गर्ने नीति लिएको छ । सुरुमा सरकार आफैँले परीक्षणका रूपमा सञ्चालन गर्छौँ । उद्योग सञ्चालन गर्न सकिने र नाफामा लैजान सकिने अवस्था देखिएपछि निजी क्षेत्रलाई जिम्मा दिनेछौँ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो ।

    विगतमा सरकारी उद्योग सरकारकै व्यवस्थापनमा सञ्चालन गर्दा घाटामा गएको अनुभवबाट पाठ सिकेर यसपटक फरक ढाँचाबाट उद्योग सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

    स्वदेशी उत्पादन बढाउने, आयातमा निर्भरता घटाउने र रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले बन्द उद्योग सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।

    कार्यक्रममा स्थानीयवासीले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन अर्थमन्त्री वाग्लेसँग माग गरेका थिए । हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै गोरखकाली रबर उद्योगलाई पनि प्राथमिकतामा राखेर सञ्चालन गर्न उनीहरूले आग्रह गरेका हुन् ।

    उद्योग सञ्चालनमा आएपछि स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत स्थानीयवासीले गरेका थिए । उद्योग बन्द हुँदा त्यससँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका परिवार तथा स्थानीय व्यवसाय प्रभावित भएकाले पुनः सञ्चालनसँगै स्थानीयको रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो ।

    तनहुँको आँबुखैरेनी बजारनजिकै गोरखाको गोरखा नगरपालिका–१३ मझुवामा रहेको गोरखकाली रबर उद्योग चीन सरकारको सहयोगमा स्थापना भएको हो । उद्योग २०४१ साल जेठ ३० गते दर्ता भएको थियो भने २०४२ सालमा शिलान्यास गरिएको थियो । 

    २०५० को दशकदेखि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगले एक समय स्वदेशी बजारको टायर तथा ट्युबको मागको ठूलो हिस्सा धान्दै आएको थियो । करिब ६७० रोपनी क्षेत्रफलमा फैलिएको उद्योगमा सरकार, नागरिक तथा विभिन्न सङ्घसंस्थाको लगानी रहेको थियो । 

    उद्योगले वार्षिक करिब ८८ हजार टायर उत्पादन गर्न सक्ने क्षमता विकास गरेको थियो । ट्रक, जीप, भ्यान र कारका लागि विभिन्न प्रकारका टायर उत्पादन गर्दै आएको उद्योगका उत्पादन देशका प्रमुख सहरमा रहेका डिपोमार्फत बिक्री वितरण हुँदै आएका थिए ।

    उद्योगले उत्पादन गरेका टायर भारत, बङ्गलादेश र श्रीलङ्कालगायत दक्षिण एसियाली मुलुकमा समेत निर्यात गर्दै आएको थियो । कुनै समय स्वदेशी मागको ठूलो हिस्सा धान्दै आएको उद्योग लामो समयदेखि बन्द हुँदा यसको संरचना र मेसिनरी प्रयोगविहीन अवस्थामा छन् ।

    राजनीतिक हस्तक्षेप, व्यवस्थापनको कमजोरी तथा कच्चा पदार्थको अभावलगायत कारण उद्योग सञ्चालनमा समस्या आएको बताइन्छ । लामो समयदेखि बन्द रहेको उद्योगमा राज्यको ठूलो लगानी र भौतिक संरचना प्रयोगविहीन बनेका छन् ।

    सरकारले बन्द उद्योग सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने नीति अघि सारेसँगै गोरखकाली रबर उद्योग सञ्चालनमा आउने अपेक्षा स्थानीयवासीमा जागेको छ । उद्योग सञ्चालनसँगै स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने मागसमेत उनीहरूले दोहोर्‍याएका छन् ।

     

     


    तेस्रो आँखा