भर्जिनिया / अमेरिका
अमेरिकाको भर्जिनिया राज्यमा विगत तीन वर्षदेखि धार्मिक, सामाजिक तथा सांस्कृतिक उद्देश्यका साथ सक्रिय रहँदै आएको हाम्रो भजन समूहले नियमित रूपमा मासिक भजन–कीर्तन गर्नुका साथै देउसी–भैलो लगायत विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको छ। हाल नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपका कारण धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित हुनुभएको दुःखद अवस्थामा, पीडितहरूको सहयोगार्थ हाम्रो भजन समूहको कोषबाट अमेरिकी डलर १ हजार डलर करिब नेपाली रु. १ लाख ५२ हजार सहयोग गर्ने निर्णय गरी उक्त रकम नेपाल पठाइ सकेको छ । यसका साथै, हाम्रो भजन समूहमा आबद्ध सदस्य तथा साथीहरूले आ–आफ्नो व्यक्तिगत तर्फबाट समेत पीडितहरूको सहयोगका लागि नेपाली रु. ३ लाख ५० हजारभन्दा बढी रकम पठाई सकेका छन् । यसरी समूहगत तथा व्यक्तिगत रूपमा गरी रु. ५ लाखभन्दा बढी सहयोग गरेको अध्यक्ष भारत सुबेदीले ईनेप्लिजलाई बताए ।
अध्यक्ष सुबेदीले यस मानवीय कार्यमा सधैं हौसला, प्रेरणा र उत्साह प्रदान गर्नुहुने हाम्रो भजन समूहका वरिष्ठ संरक्षक आदरणीय हरिप्रसाद तिमिल्सिनालगायत समूहका सम्पूर्ण सदस्यहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । धर्म र संस्कृति केवल भजन–कीर्तन र चाडपर्वमा मात्र सीमित नभई, दुःखमा परेकालाई साथ दिनु र सकेको सहयोग गर्नु पनि हाम्रो कर्तव्य हो भन्ने भावनालाई हाम्रो समूहले आत्मसात् गर्दै आएको छ। आज देखिएको यो एकता, सद्भाव, सेवाभाव र सहयोगी मन सधैं कायम रहिरहोस्। आगामी दिनहरूमा पनि दुःख र आवश्यकताको समयमा हामी सबै यसरी नै एकअर्काको साथमा उभिन सकौं भन्ने कामना गर्दछु,भरत सुबेदीले बिज्ञप्तिमा भनेका छन् । नेपालमा बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित सम्पूर्ण परिवारहरूप्रति हाम्रो गहिरो सहानुभूति छ। साथै हाम्रो भजन समूह भर्जिनियाले दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । हाम्रो भजन समूहका सदस्यहरूमा क्रमस भरत सुबेदी,राजु अधिकारी,आकाश अधिकारी,राजेन्द्र तिमिल्सिना,शंकर तिमिल्सिना,बृहस्पति लम्साल,संसार पौडेल सोमराज घिमिरे,प्रकाश आचार्य,बिश्व सिग्देल,गणेश शिवाकोटी,नव अधिकारी, केशव सिग्देल,रमेश बाबु चापागाईं, सन्दीप बास्तोला शोभाकान्त अधिकारी रहेका छन् ।
केशव सिग्देल